मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका र दक्षिणी इलामको चुलाचुली गाउँपालिका जोड्ने कुइनेटारमा झोलुङ्गे पुल बनेपछि भ्रमणमा आउनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । झापा, मोरङ, सुनसरी र इलामका गरी दैनिक सयौंको सङ्ख्यामा स्थानीय तथा बाह्य पर्यटक आउने गरेको शिक्षक गङ्गाराम आचार्यले बताए । साउन १ गते ब्लाष्ट टाइम्समा समाचार प्रकाशन भएपछि पर्यटनमा समेत टेवा पुगेको मधुमल्ला खानेपानी आयोजनाका अध्यक्ष बालकुमार भण्डारीले बताए ।
गर्मीको समयमा स्थानीय नुनसरी खोलामा पौडी खेल्न, झोलुङ्गे पुलमा सेल्फी तथा फोटो खिच्नेहरूको भिड लाग्न थालेको छ । चारैतर्फ पहाड, मनोरम झर्ना र राजारानीका मूर्ती, बुद्धटार यहाँका विशेषता हुन् । माओवादी जनयुद्धका बेला २०५८ मा राजा वीरेन्द्रको वंश विनास भएसँगै कुइनेटारमा राजारानीको प्रतिमा फेला परेको जनविश्वास रहिआएको छ । सोही स्थानमा शान्तिका दूत गौतम बुद्धले शान्तिको आह्वान गरेको र सो स्थानबाट केही उत्तरतर्फ पर्ने ठाउँको नाम बुद्धटार रहेको स्थानीय कवि तथा साहित्यकार रुद्र भन्डारी बताउँछन् । कुइनेटारको पर्यटन प्रवद्र्धन गर्न मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरीलाई समेत पदयात्रा र होमस्टेको रूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष गौरी राईले बताए । चुलाचुली गाउँपालिकाले समेत सो स्थानलाई गुरु योजना बनाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउने योजना रहेको चुलाचुली गाउँपालिका–६ का वडाध्यक्ष हेमन्त राईले बताए । इलामको चुलाचुली गाउँपालिका –६ मा पर्ने सिस्ने डाँडाबाट मिक्लाजुङ–२ मा पर्ने चिलाउनेटारसम्म झोलुङ्गे पुलको निर्माण गरी यो स्थानबाट बञ्जीजम्प गर्ने स्थानको रूपमा विकास गर्न सकिने सम्भावना रहेको तोरीबारी लघुउद्यमी कृषी सहकारी संस्थाका अध्यक्ष रमेश बस्नेतले बताए । कुइनेटार पूर्व पश्चिम राजमार्गमा पर्ने उर्लाबारीबाट करीब ८ किमी उत्तरमा मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला पुगिन्छ । मधुमल्लाबाट करीब ६ किमी उत्तरमा कुइनेटार अवस्थित छ । मोटरसाइकल, टेम्पो, बसलगायतका सवारी साधनबाट कुइनेटार सजिलै पुग्न सकिन्छ ।