पथरीशनिश्चरे । प्रजातन्त्र सहितको नागरिक स्वतन्त्रताको आवाज उठाउँदा २८ वर्ष अघि भूटानबाट लखेटिएका भूटानी शरणार्थीहरु शिविरमा आएपछि पनि पटक पटक वसाईं सर्न बाध्य छन् ।
झापाको दमक २ मा रहेको भूटानी शरणार्थी शिविर बेलडाँगी १ लाई खाली गरेर पछिल्लो पटक अर्काे शिविरमा उनीहरुलाई बसाईं सारिएको छ । आफुहरुले २६ वर्षअघि सबैथोक मानेर बसेको छाप्राहरु पनि भत्काएर उनीहरु पुनः बसाई सरेका छन् । बसोवासमा सघाउँदै आएको लुथरन विश्व फेडेरेशनले उनीहरुको शिविर गाभ्ने र त्यहाँ घर सारिदिने प्रक्रिया थालेपछि बसाईं सराईको नियतिमाझ गार्हाे मन बनाएर आफु बेलडाँगी २ मा सरेको मधुमाया मगरले सुनाइन् । ‘म पहिले खुदुनाबारी शिविर थिएँ । त्यहाँबाट बेलडाँगी १ मा सारिएँ । अहिले फेरि २ मा सारियो । आफ्नो घर फर्किन नपाएर बसाईं मात्रै सरिरहनु पर्दा नरमाइलो लागिरहेको छ ।’– उनले भावुक हुँदै भनिन् ।
केही समय अघि शुरु भएको स्थानान्तरणबाट बेलडाँगी १ का २ सय २५ घर परिवार बेलडाँगी २ र ३ को पुरानो खाली तथा नयाँ छाप्रामा सरेको बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव टीकाराम रसाइलीले बताए । उनले अब केही घर मात्रै सारिसक्न बाँकी रहेको जनाए । भूटानबाट लखेटिएपछि कन्काईको बगरमा कष्टकर जीवन बिताएपछि दाताहरुको सहयोगमा ७ वटा शिविरमा केही राहत दिएर राखिएको बसाईं सराई श्रृंखलाको बेलिबिस्तार लगाए । ‘कोही तेस्रो मुलुक पुर्याइए, यहाँ पनि हामी बसाई सरिइरहेका छौं । बसाई सराईंमै हाम्रो अस्तित्व मेटिने भइसक्यो, आफ्नो देश फर्किने वातावरण कहिल्यै हुन सकेन ।’ उनले गम्भिरतापूर्वक भने ‘नेपाल सरकारले हाम्रो पहिचानै गुम्न लागिरहेको अवस्थालाई ध्यानमा दिएर स्वदेश फर्काउने पहल गरिदेओस् ।’
तेस्रो मुलुक पुनर्वासपछि शिविरमा रहने शरणार्थीको संख्या ज्यादै कम भएपछि शिविर गाभ्ने क्रम अगाडि बढेको शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) दमक प्रमुख आन्ना फेलोसीले जनाइन् । उनले शरणार्थीको संख्या घट्दै गएपछि एकै ठाउँमा राखेर हेरचार र राहत सहयोगमा सहज हुने भएकाले त्यसो गर्नुपरेको उल्लेख गरिन् । हंसे दुम्से सामुदायिक बन क्षेत्रमा विगत २६ बर्ष देखि बसोवास गर्दै आएका उनीहरुलाई त्यसभन्दा उत्तरतर्फ रहेको शिविर क्षेत्रमा सारिएको हो । बसाईं सारिएकाहरुका लागि लुथरनले प्रति छाप्रा ८ वटा १० फुटे सिमेन्टको खम्बा, २० पाता टिन, १४ घना बाँस दिएको छ । त्यसमा आफ्नो पुरानो छाप्राको काम लाग्ने बाँसका डाँडा, भाटा र बेराहरु समेत उनीहरुले थपेर घरको आकार दिँदैछन् । घर बनाउन प्रतिघर १७ हजार हाराहारी खर्च दिएको छ । आर्थिक र सामाजिक रुपमा समस्यामा परेका (पीएसएम) वर्गलाई २ तहसम्मको इँटाको गाहे उठाएर त्यसमाथि बाँसको बेराबारा बनाएर थोरै व्यवस्थित घर बनाइदिएको छ । यस अघि रहेको ७ वटा शिविरमध्ये खुदुनाबारी, टिमाई र गोलधाप शिविर यसअघि नै बेलडाँगी र पथरीशनिश्चरेमा गाभिइसकेको छ । बाँकी रहेकाहरुलाई बसेकै ठाउँमा स्थानीयकरण गरेर राख्न नेपाल सरकारसंग युएएनएचसीआरले कुरा राखिरहेको छ ।
स्वतन्त्रताको आवाज उठाउँदा त्यहाँको शासकले सन् १९९० देखि उनीहरुलाई लखेट्दा उनीहरु भारतको बाटो हुँदै कन्काई माईको बगरमा घामपानी र भोकप्यास खप्दै १ वर्ष विजोगले बसे । त्यसपछि नेपाल सरकारले बस्ने ठाउँ उपलब्ध गराई दाता निकायको सहयोगमा ७ वटा शिविरमा उनीहरुलाई राखिएको थियो । नेपाल र भूटानबीच १५ औं चरणसम्मको वार्ता असफल भयो । त्यसपछि आप्रवास सम्वन्धी अन्तरराष्ट्यि संस्था ( आइओएम) मार्फत सन् २००७ देखि तेस्रो मुलुक पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका, अष्ट्ेलिया, बेलायत सहितका ८ देशमा १ लाख २० हजारको संख्या बसोबासमा गइसकेको छ । सन् २०१६ को डिसम्बेर ३१ देखि पुनर्वास प्रक्रिया समेत बन्द भइसकेको छ । यस अवस्थामा बेलडाँगी १ मा ७ सय ७४, २ र ३ मा ३ हजार ९ सय ४ र पथरी शनिश्चरेमा १ हजार ४ सय ६३ गरी जम्मा ६ हजार १ सय ४३ जना शरणार्थीहरु शिविरमा बाँकी रहेका छन् । त्यस बाहेक दर्ता हुन बाँकी रहेका १ हजार ७ सय ४१ जना रहेको राहतबाट बञ्चित शरणार्थीहरुको संगठनले दाबी गर्दै आएको छ ।