इलाम । वर्षात सुरु भएसगैँ रामसार सूचीमा नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार सूचीकृत इलामको प्रसिद्ध धार्मिक एंव पर्यटकीय स्थल माईपोखीमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन ठप्प भएको छ ।
इलामको सन्दकपुर गाँउपालिका १ र ३ को बीचमा अवस्थित माईपोखरी आसपासमा रहेको पेमु होटलकी मिङ्मा शेर्पाले हिउँद नलागेसम्म पर्यटकको आगमन ठप्प हुने गरेकाले होटल लज सुनसान हुने गरेको बताइन् । उनले माईपोखरी जाने बाटो आदासम्म मात्र पिच भएकाले मोटरसाइकल जान समेत गाह्रो हुने गरेको छ ।
इलाम सदरमुकाम बाट बिब्ल्ँयाटे हदै १८ किलोमिटरमा पुगिने माईपोखरी जाने सडक पिच हुदैँ गर्दा रोकिएकाले आन्तरिक पर्यटकहरुलाई पुग्न समेत गाह्रो हुने गरेको उनको भनाई छ ।
आर्थिक वर्ष २०७४/०७५ मा करिब नौ हजारको हाराहारीमा पर्यटक भित्रिएको र गत वर्षहरुमा भन्दा यो क्रम बढ्दो हुनाले सडकको अवस्था सुधार भएसगौ वर्षातमा समेत पर्यटकहरुको आकर्षण गन्तव्य माईपोखरी बन्ने होटल व्यवसायीहरुको भनाई छ ।
यस्तै माईपोखरी धार्मिक वन समूहका अध्यक्ष राज बहादुर राईले सडक तथा मौसमका कारण पनि वर्षतको समयमा पर्यटकहरुको आगमन ठप्प हुने गरेको बताए ।
उनले माईपोखरी आसपास पर्याप्त होटल तथा होमस्टे नहुनु,पूर्वाधार विकास नभएका कारण पर्यटकहरु पर्याप्त मात्रामा आउन नसकेको बताए ।
उनले भने “माईपोखरी आसपास जम्मा तीन वटा मात्र होटल रहेको छ,नजिकैको देउराली बजारमा समेत सुविधा सम्पन्न होटल तथा होमस्टे छैन,वर्षातको समयमा मौसम समेत नखुल्ने भएकाले पनि पर्यटकहरुको आकर्षण केन्द्र माईपोखरी बन्न सकेको छैन ।”
गत वर्ष स्थानीय सरकारले माईपोखरीको चेक ड्याम क्षेत्र विस्तार गर्न पाँच लाख छुट्याएको र यस वर्षको बजेटमा समेत यसको विकासमा बजेट छुट्याइसकेकाले अबका दिनहरुमा पोखरीमा बोटिङ सुरु गरि थप आकर्षण बनाउन लागिपरेको बताए । अन्य रामसार सूचीकृत क्षेत्रमा सरकारले दरबन्दीमा कर्मचारी समेत राख्ने गरेको तर माईपोखरीमा भने एक जना पनि दरबन्दीका कर्मचारी नरहेकाले समेत पोखरीमा भएका सबै क्षेत्रमा स्थानीय क्षेत्रले मात्र समेट्न नसकेकाले सरकारको धयानाकर्षण हुनुपर्ने उनको भनाई छ ।
वनस्पति तथा भूसंरक्षण कार्यालयले वनस्पति उद्यान,वनस्पति संरक्षण,अर्किट हाउस निर्माण तथा संरक्षण गरेकाले यहाँ थप आकर्षण रहेको छ ।
सन् २००८ मा रामसार सूचीमा सूचीकृत माईपोखरीमा ६२ प्रजातीका जरिबुटी,दुई सय १ प्रजातीका फूल फूल्ने विरुवा,तीन प्रजातीका चाँप,पाँच प्रजातकिा गुराास,१८ प्रजातीका सुनाखरी रहेधका छन् । यस्तै वन्यजन्तुहरुमा तीन प्रजातीका माछा,छ प्रजातीका उभयचर र दुई सय प्रजातीका प्रजातीका प्रजनन गने जीवजनतु रहेका छन् ।
९० हेक्टरमा फैलिएको माईपोखरी सिमसार क्षेत्रमा दुई वटा सामूदायिक वन समूह,एउटा धार्मिक वन समूह र निजी नम्बरी जग्गा रहेको छ । लोपउन्मुख जीव ठकठके(पानी गोहोरो) र वनस्पतिमा गलैँची झ्याउ पाइने माइृपोखरीको नौ कुनाको आ—आफ्नै विशेषता तथा नाम रहेको छ ।
हिन्दु,वौद्ध र मुन्धुमको साझा आस्थाको केन्द्रको रुप मानिने माईपोखरीमा मनोकाक्षां पूरा हुने भएकाले यहाँ परेवा उडाउनका लागि देश तथा विदेशबाट भक्तजन आउने गरेका छन् ।
वि.सं १९६७ सालमा स्वर्गद्धारीका श्री कपिलानन्द स्वामी आई लक्ष्य होम गरेको इतिहास रहेको माईपोखरीमा बैशाख एक गते नयाँ वर्षको दिन मेला लाग्ने गरेको छ भने हरिबोधिनी एकादशीको दिन धार्मिक मेला लाग्ने गरेकाले काठमाँडौ,झापा,भारतको सिक्किम लगायत स्थानीय भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।
धार्मिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण माईपोखरीमा मठमन्दिर,गुम्बा व्यवस्थापन तथा सडको विकास गरि होटल तथा होमस्टे सञ्चालन गरी प्यारा ग्लाइडिङ सञ्चालन विकास र स्थानीय गाइडको व्यवस्था सरकारी कार्मचारीको दरबन्दीको व्यवस्था भएमा माईपोखरी उत्कृष्ट गन्तव्य बन्ने राईले बताए ।