चक्रघट्टी । पच्चीस लाखको लागतमा वराहक्षेत्र–६ र ७ मा जडान गरिएको सोलार बत्ती प्रयोगविहीन बनेको छ । वराहक्षेत्रको बसपार्कदेखि बाङ्गेसम्म जडान गरिएको बत्तीले काम नगर्दा स्थानीय आक्रोसित बनेका छन् । सुरक्षालाई मध्यनजर गर्र्दै जडान गरिए पनि बत्ती नबल्दा स्थानीयसँगै वडाध्यक्षहरू नै पनि कर्मचारीको काम गराइप्रति रुष्ट बनेका छन् । नगरपालिकाले एकसय ६ वटा सोलार बत्ती जडान गर्ने तयारी थाले पनि अझै ३० वटा जडान गर्न बाँकी छ । तर जडान भएका सोलार बत्तीबाट पनि राम्रो प्रकाश नफालेपछि स्थानीयहरू रुष्ट छन् । हाल बसपार्कदेखि विस्टिनी चोकसम्म सोलार बत्ती जडान भइसकेको छ भने अब विस्टिनी चोकदेखि बाङ्गेसम्मको क्षेत्र जडान हुन बाँकी छ । सोलार बत्ती जडान भए पनि राम्रो नबलेपछि स्थानीयले जनप्रतिनिधिलाई गुनासो गरेका छन् । कति लगानीमा जडान भइरहेको छ । कस्तो प्रकारको सोलार हो भन्ने विषयमा पनि जनप्रतिनिधि नै अनभिज्ञ छन् । ६ नम्बर वडाध्यक्ष उद्धव पौडेल भन्छन्, ‘सोलार बत्ती राख्ने भनेर योजना प्रमुख शक्ति रेग्मीले आफूलाई जानकारी गराउनुभएको थियो । कति बजेटमा, कुन प्रकारको बत्ती भन्ने बारे आफूलाई जानकारी भएन । जनताले उज्यालो पाउने भए भनेर निकै खुशी लागेको थियो तर अहिले त सबैतिरबाट प्रभावकारी भएन भनेर जनगुनासो लिएर आउने गरेका छन् ।’ त्यस्तै ७ नम्बर वडाध्यक्ष वीरबहादुर लिम्बू भन्छन्, ‘बत्ती त जडान भएको छ तर मान्छे जाँदा एकैछिन जोडले बल्छ, अनि मधुरो बल्दोरहेछ । स्थानीयले खाली गुनासो गरिरहेका छन् । नगरलाई त मैले जानकारी गराइसकेँ । यो प्रभावकारी र भरपर्दो हुन सकेन ।’ नगरले मुख्य सडक खण्डमा सोलार बत्ती जडान गरेर राम्रो काम गरेको भए पनि बत्ती प्रभावकारी हुन नसकेको उद्योग वाणिज्य सङ्घ चक्रघट्टीका अध्यक्ष सुरेन्द्र गुप्ता बताउँछन् । ‘बरू निश्चित क्षेत्रमा प्रभावकारी ढङ्गले उज्यालो दिने थोरै बत्ती राखेको भए धेरै प्रभावकारी हुने थियो’ –उनले थपे । स्थानीय पिताम्वर राईले सोलार राखेर बजेट सक्ने काममात्रै गरेको बताए । उनले गुणस्तरहीन सोलार राखेको टिप्पणी गर्दै कर्मचारीतन्त्र हाबी भएको गुनासो गरे । ‘जनप्रतिनिधिलाई सोध्दा थाहा छैन भन्छन्, कर्मचारीतन्त्र मात्रै हाबी भएको छ’ –उनले भने । लायन्स क्लब अफ सुनसरी कोशी रिभरका पूर्वअध्यक्ष कुमार श्रेष्ठले मान्छे जाँदा बल्ने र फेरि निभिहाल्ने यस्तो समस्याले जाडोको समयमा के हालत होला भन्दै प्रश्न गरे । ‘हामीलाई रातभरि उज्यालो दिने बत्ती चाहिएको हो, यस्तो बत्ती के काम’ –श्रेष्ठ भन्छन् । वराहक्षेत्रका योजना शाखा प्रमुख शक्ति रेग्मीले सेन्सरवाला बत्ती भएकाले मानिस छेउमा जाँदा उज्यालो दिने मान्छे र नहुँदा कम उज्यालो दिने बताए । जनतालाई प्रभावकारी सुविधा दिने लक्ष्यका साथ अघि बढेको उनले बताए । नगरपालिकाका प्रमुख निलम खनालले सोलार बत्ती परिवर्तन गरी प्रभावकारी, गुणस्तरीय सोलार राख्ने आदेश योजना प्रमुखलाई दिइसकेको बताए । सोलार परिवर्तन गरी अर्को सोलार राखेपछि मात्रै नगरले सोलारको भुक्तानी दिने उनले बताए ।