तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोलाको लम्बुघाटमा रहेको झोलुङ्गे पुल जीर्ण भएपछि आवत–जावतमा समस्या भएको छ । झोलुङ्गे पुलमा रहेको जाली च्यातिनुका साथै काठका फलेक पनि मकिन थालेकाले आवत–जावतमा समस्या भएको हो । म्याङलुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिका जोड्ने पुलमा लगाइएको फलामे जाली च्यातिन र फलेक उक्किन थाले पछि यहाँ हिड्ने बटुवा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

‘नहिँडी पनि हुँदैन, हिँड्दा पनि नदीमा खसिन्छ कि भनेर मुटु काम्ने गर्दछ ।’ पाँचथरक यासोकका रामचन्द्र थापाले भने । दैनिक सयौँको सङ्ख्यामा यहाँ बटुवाहरू जोखिम मोलेरै वारीपारि गर्ने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा पाँचथर र तेह्रथुमका बटुवा वारिपारि गर्ने गरेको स्थानीय यामबहादुर बुढाथोकी बताउँछन् । उनका अनुसार यो पुल सबैभन्दा बढी केटाकेटीका लागि खतरा भएको छ । अभिभावक मेलापात र मजदुर गर्न जाँदा केटाकेटीको खेल्ने थलो नै यो पुल भएकाले कुनै पनि समयमा पुलबाट खस्ने डरले अभिवाकलाई पिरोल्ने गरेको बुढाथोकीले बताए ।

यो पुलबाट जोखिम मोलेरै म्याङलुङमा लाग्ने शुक्रबारे हटिया भर्न पाँचथरका यासोक, रानीगाँउ र स्वाब्रुम्बाबाट खाद्यान्य बिक्री गर्न किसान तथा व्यापारी साप्ताहिक रूपमा आउने गर्दछन् । ०३५ सालमा स्थापना भएको झण्डै १ सय ३५ मिटर लामो झोलुङ्गे पुलबाट अहिले चौपाया र साना सवारी साधनसमेत तार्ने गरिएको छ । नदीमा मोटरेबल पुल नहुँदा मोटरसाइकलमा यात्रा गर्नेहरू जोखिम मोलेर यही पुलबाट हिड्ने गरेका छन् । मानिस हिँड्ने पुलमा मोटरसाइकलबाट पनि यात्रा गर्दा जालीसमेत च्यातिएपछि समस्या भएको म्याङलुङ नगरपालिका–१ का वडाअध्यक्ष ईन्द्र तुम्बाहाम्फेले बताए ।

उनले यो पुलको मर्मत गर्ने जिम्मा तत्कालीन जिविस तेह्रथुम र जिविस पाँचथरको भए पनि अहिले कसले मर्मत गर्ने भन्ने विषयले गर्दा पुल जीर्ण बन्दै गएको बताए । पाँचथरको साविक स्याबु्रम्बा र म्याङलुङको सिमानासम्म मोटरबाटो निर्माण भइसके पछि यहाँ दैनिक वनभोजका लागि आउने मानिसहरूको घुइँचो हुने गरेको छ । पुल जीर्ण बन्दा यहाँ बटुवा मात्र होइन घुम्न आउने आन्तरिक पर्यटकसमेत जोखिममा परेको स्थानीय रामबहादुर माझीले बताए ।