बिर्तामोड । यातायात व्यवस्था कार्यालय मेची बिर्तामोडले ५ हजार ५ सय ५१ जनाको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (स्मार्ट लाइन्सेस) वितरण गरिरहेको छ । विभागले यातायात व्यवस्था कार्यालय मेची बिर्तामोडमा ०७४ असारबाट ‘स्मार्ट लाइसेन्स’ वितरण कार्य अघि बढाएको थियो । सो, प्रक्रियाअन्र्तगत यातायात व्यवस्था कार्यालय मेची बिर्तामोडबाट ३५ हजार चालकले अनुमति–पत्र माग गर्नका लागि फारम भरेका छन् । ‘स्मार्ट लाइसेन्स’ प्रयोगमा आएसँगै नक्कली र फर्जी लाइसेन्स प्रयोगकर्ता हटेर जाने यातायात व्यवस्था कार्यालय मेची बिर्तामोडका निमित्त कार्यालय प्रमुख टङ्कबहादुर कार्कीले बताए । उनले भने, ‘यहाँ अहिले ५ हजार ५ सय ५१ जनाको लाइसेन्स वितरण भइरहेको छ, खर्चका हिसाबले केही मङ्हगो भए पनि लाइसेन्स प्रविधिमैत्री छ ।’ यातायात व्यवस्था विभागले केन्द्रमा मात्र ‘स्मार्ट लाइसेन्स’ निर्माणका लागि मेसिनको व्यवस्था गरेका कारण लाइसेन्स वितरणमा ढिलाइ भएको कार्कीले बताए । प्रत्येक कार्यालयमा मेसिन आवश्यक पर्ने उनले जनाए । ‘स्मार्ट लाइसेन्स’ लिन इलामबाट आएका बिक्रम लिम्बूले भने, ‘स्मार्ट लाइन्सेस समयमा पाउनै गाह्रो’ ‘महिनैपिच्छे फोन गरेर बुझे, आइआल्छ भन्ने जवाफ मात्र पाएँ, लाइसेन्स लिन धेरै कसरत गर्नु परयो ।’ ‘स्मार्ट लाइसेन्स’ आउञ्जेलका लागि यातायात कार्यालयले दिएको रसिद लिएर हिँड्नै समस्या भएको उनले सुनाए । लाइसेन्स नवीकरण गरेको ६ महिनाभन्दा बढी भएको झापा अर्जुनधाराकी एक सेवाग्राही बताउँछिन् । उनले भनिन्, ‘अहिलेसम्म लाइसेन्स पाउन सकेको छैन्, लाइसेन्स आयो ? भनेर फोन गरेको पनि धेरै पटक भइसक्यो  ।’ के हो स्मार्ट लाईसेन्स ? आगो र पानीले क्षती नपु¥याउने भनिएको ‘स्मार्ट लाइसेन्स’मा चालकसँग सम्बन्धित विवरण राखिएको हुन्छ । मोबाइल फोनको सीमकार्डमा जस्तै गरी कार्डमा जडान गरिएको धातुको ‘चिप्समा चालकको ‘बायोमेट्रिक्स डिटेल’ सहितका विवरण र सवारी साधनसँग सम्बन्धित डाटाहरू भण्डार गरिएको हुन्छ । जसबाट चालक ट्राफिक कारबाहीमा परे, नपरेको सहजै थाहा पाउन सकिन्छ । स्मार्ट लाइसेन्सलाई ट्राफिकले प्रयोग गर्ने ‘रिडर मेसिन’मा राख्नासाथ विभागले चालक र सवारीका सम्पूर्ण विवरण देखाउँछ । पछिल्लो समय स्मार्ट लाइसेन्सलाई नेपालमा नै बनाउने अभियानमा लागेका कारण वितरणमा केही ढिलाइ भएको जानकारहरू बताउँछन् । नेपाली नागरिकको बायोमेट्रिक्स डिटेलसहितका स्मार्ट लाइसेन्समा राखिने सम्पूर्ण विवरण भारतीय कम्पनीको हातमा पुगेपछि आलोचना भएका कारण डाटाबेस सुरक्षित गर्न नेपालमा नै लाइसेन्स बनाउने प्रक्रिया अघि सारिएको हो । कागजको परम्परागत सवारी चालक अनुमति–पत्रलाई ‘स्मार्ट लाइसेन्स’ ले विस्थापन गरेको छ । सयौँ सेवाग्राहीले लाइसेन्स वितरणमा ढिलासुस्ती भएको गुनासो पनि गरेका छन् । लाइसेन्स कहिले आइपुग्छ भन्नेमा कर्मचारी नै अन्योलमा छन् । स्मार्ट कार्डको वितरण सहज नभएपछि कर्मचारी पनि जवाफ दिँदादिँदै हैरान देखिन्छन् । यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ समयमा नै वितरण गरे सवारी चलाउँदा चालकबाट प्रहरी झुक्किने क्रम हटेर जाने छ ।