गत आर्थिक वर्षमा पाँच हजारभन्दा बढी मानिसहरूले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा छ । जुन अहिलेसम्मै उच्च रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सामाजिक, स्वास्थ्य जस्ता विभिन्न कारणहरूले मानिसहरूले आत्महत्या गर्ने गरेको मनोविश्लेषकहरूले बताएका छन् । डरलाग्दो तथ्याङ्क त्यसका लागि सरकारले बेलैमा सचेतना अभियान नल्याए यो स्थिति अझ डरलाग्दो हुने मनोविश्लेषकहरूले चेतावनी दिएका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरे । आर्थिक वर्ष ०७३/७४ मा ५ हजार १ सय ३१ जना मानिसले आत्महत्या गरेका थिए । जुन तथ्याङ्क अप्राकृतिक मृत्युका कारणका तथ्याङ्कमध्ये सबैभन्दा उच्च हो । अहिले आत्महत्याका घटना डरलाग्दो रूपमा बढिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए । उनले भने, ‘यो तथ्याङ्क एक प्रकारले डरलाग्दो देखिन्छ । यो स्वास्थ्य तथा सामाजिक समस्या हो । केही कम मात्र आपराधिक समस्या हो ।’ जटिल समस्या विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम आए भएका वा मध्यम् आय भएका मुलुकहरूमा आत्महत्याको समस्या जटिल छ । नेपालमा अहङ्कारवादी आत्महत्याको प्रकृति बढेको त्रिभुवन विश्वविद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरका समाजशास्त्र र मानवशास्त्र विभागका अनुसन्धान विभाग प्रमुख सुशील खनाल बताउँछन् । उनले भने, ‘साना कुरामा चित्त नबुझाएर विवेक गुमाएर गर्ने आत्महत्याको प्रवृत्ति ज्यादा पाइन्छ नेपालमा ।’ आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या उच्च छ । मनोविश्लेषक बासु आचार्यका अनुसार आत्महत्या गर्नु वा गर्न खोज्नु एक किसिमको मानसिक रोग हो । अभियान आवश्यक उनले समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम नल्याए परिस्थिति झन् जटिल बन्नसक्ने चेतावनी दिए । प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन नसकिने प्रहरी प्रवक्ता क्षेत्रीको भनाइ छ । उनले सामूहिक प्रयासको आवश्यकतामा जोड दिएका छन् । परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन् ।

https://www.youtube.com/watch?v=HEVPbeDO_sA