तेह्रथुम/ ‘नमस्कार है भाउजु ।’ म्याङलुङ्ग बजारमा निस्कने बित्तिकै कमला दर्नाललाई हात उठाएर नमस्कार फर्काउन भ्याई–नभ्याई हुन्छ । जिल्लाका छ ओटै स्थानीय तहका धेरै ठाउँका चिन्ने जान्ने बाहुनहरू समेत कमला दर्नालका अगाडि हात नजोडी रहन सक्दैनन् । दर्नाल (दमाई) को नम्रता, सालिनता, शिक्षा, लगनशीलता र समाजसेवीपनका कारण नै उनीप्रतिको श्रद्धा आएको हो ।
उनलाई आफू दलित भएकोमा कुनै दुःख छैन । थर दलित भएपनि समाजले दिएको मान, पर्यादा र सम्मानले गर्दा आफूलाई गर्व लाग्ने गरेको उनको भनाई छ । स्नातकोत्तर तहसम्म अध्ययन गरेकी दर्नाल जिल्लामा रहेको दलित सचेतना समाज नामक सस्थामा काम गर्छिन् । सस्थामा रहेर उनले महिला हिंसा, छुवाछुत, बोक्सी प्रथालगायतका विभिन्न कुरीति हटाउन वर्षौँदेखि लागिपरेकी छन् । शुभ कार्यमा पनि बाहुनका घरमा समेत उनले पुग्नै पर्दछ । उनी जिल्लामा रहेका एक दर्जनभन्दा बढी विभिन्न महिलावादी सङ्घ सस्थाको पनि अगुवाइ गर्दछिन् । नेपाल रेडक्रस सोसाइटी तेह्रथुमकी उपमन्त्री समेत रहेकी छन् । समाजमा केही साह्रो-गाह्रो आइपर्यो कि उनको मोबाइलमा घन्टी बज्न थाल्दछ ।
राजा जयस्थित मल्लले नेपालका कीर्तिनिधि उपाध्याय, मैथिली ब्राह्मण रामनाथ झा र रघुनाथ झा, भारतका श्रीनाथ भट्ट र महिनाथ भट्टको सल्लाह लिइ नेपाली समाजलाई वर्ण व्यवस्थामा विभाजन गरेदेखि नै नेपालमा जातपातको ठूलो विभेद सुरु भएको हो । यहाँसम्म कि दलित जातिलाई धेरै ठाउँमा अझै पनि होच्याउने गरेको पाइन्छ । कामी, सार्की, दमाई र गन्धर्वलाई त नेपाली समाजले प्राय माथि उठ्ने वातावरण नै दिएको छैन । तर कमला दर्नालजस्ता समाजका अगुवा सम्मानित व्यक्तिहरू पनि धेरै छन् ।
लालिगुराँस नगरपालिका सोल्मामा रहेको स्वस्थ्य चौकीकी अनमी पुष्पा कार्की ढोली (दमाई) लाई सोल्माका स्थानीयवासीले बिरामी पर्दा होस् वा गाउँमा मीठोमसिनो पकाउँदा होस् पहिलो नम्बरमा नै सम्झन्छन् । सोल्मालीका हरेक घरमा कार्की ढोली नपुगी ‘लास’ समेत उठ्दैन । ‘हाम्रो गाउँमा यी डाक्टर नहुने हो भने त हामी अकालमा नै मर्नुपथ्र्याे ।’ स्थानीय सावित्रा खनालले भनिन् । गाउँघरमा अझै पनि स्वास्थ्य चौकीलाई हेल्पोष्ट र त्यहाँका स्वास्थ्यकर्मीलाई डाक्टर भन्ने चलन रहेको छ ।
आठराई गाउँपालिका छातेढुङ्गाकी उमा शिवा (दमाई) ले जीवनमा कहिल्यै पनि सिलाइ मेसिन चलाउनु परेको छैन । न त उनले कहिल्यै जीवनमा बालिघरे ‘विष्ट’ नै बनाउनु पर्यो । दमाईकी छोरी भएर पनि बाबु बाजेले अपनाएको पेशा छाडेर शिक्षण पेसामा लागिन् । उनी अहिले त्यही रहेको भित्रिया आधारभूत विद्यालयमा प्रधानाध्यापक छिन् । उनी पनि आफूलाई कसैले दलित भनेर हेला नगरेको बताउँछिन् । जातले नभएर पेशा दलित जस्तो देखिने र दलितहरूमा आत्मविश्वास पनि कमजोर हुने शिवाको भनाइ छ । इटहरी उपमहानगरपालिका १ घर भई विगत १५ वर्षदेखि जिल्ला प्राविधिक कार्यालय तेह्रथुममा कार्यरत सब–इञ्जिनियर ज्ञानता बिकलाई न सुनका गहना बनाउन नै पर्यो, न हँसिया, कोदालो, खुकुरी बेच्न नै बजार धाउनु पर्यो । उनलाई जिल्लामा सबैले नमस्कार मेडम भन्छन् । उनले छोएको पानीदेखि बाटो, कुलो, भवन लगायत विभिन्न योजनाका सर्भे तथा स्टिमेट सबै चल्छ ।
‘पेशाका कारण पनि दलितहरू हेपिएका हुन् ।’ उनी भन्छिन् ।लालिगुराँस नगरपालिका–२ वसन्तपुर निवासी गीता सिवा अखिल नेपाल महिला सङ्घकी जिल्ला इञ्चार्ज साथै महिला अधिकारवादी हुन् । महिलालाई केही समस्या परे, झगडा वा वादविवाद परे प्रहरीलाई भन्दा उनलाई पहिले सम्झन्छन् । परिवारलाई भन्दा पनि सिवाले समाजलाई बढी समय दिने गरेको स्थानीयबासी कल्पना पौडेल बताउँछिन् । सिवा समाजसेवाबाटै चेतना प्रवाह गर्न सक्रियताका साथ लागिपरेकी छिन् । ‘आफू परिवर्तन भएमात्र समाज परिवर्तन गर्न सकिन्छ, तसर्थ जातभात र छुवाछूतको अन्त्य गरी समतामुलक समाजको निर्माणमा लागिपरेकी छु ।’ सिवाले भनिन् । लालिगुराँस नगरपालिका सुङनामकी एलिसा कार्की ढोलीले स्नातकोत्तर पास गरेकी छन् । उनी घर नजिकै रहेको सिंहदेवी आधारभूत विद्यालयमा पढाउँछिन् । २०७० सालको शिक्षा सेवा आयोगमा नाम निकाल्ल सफल भएकी कार्की ढोली विद्यार्थीहरूलाई अङ्ग्रेजी विषयमा जिल्लाकै नमुना बनाउने बताउँछिन् । ‘मलाई गैह्र दलित जातका अभिभावकले घरमा नै ट्युसन पढाउन बोलाउनुहुन्छ, घरभित्र नै बोलाएर खाजा दिनुहुन्छ ।’ शिक्षिका कार्की ढोलीले भनिन् । म्याङलुङ नगरपालिकाकी डिकमाया रसाइली (कामी) ले आफूभन्दा माथिल्लो जातका केटासँग विवाह गरिन्, सुरुमा उनलाई घरजम गर्न धेरै समस्या परेको बताउँछिन् । आफूले माथिल्लो जातका केटासँग विवाह गरेका कारण उनको समाज उनीसँग रुष्ट थियो । तर उनी आफूले हिम्मत नहारेको बताउँछिन् । विस्तारै उनी जागिरे जीवनमा प्रवेश गरिन् । उनका एक छोरा र एक छोरी छन् । श्रीमान्ले विदेशबाट पठाएको र आफूसँग भएको पैसाले बजारमा तीन तले पक्की घर बनाएकी छन् । हाल उनी म्याङलुङ नगरपालिकाको खरिदार पदमा कार्यरत छिन् । ‘पहिले आफूसँग बोल्न पनि नचाहने छिमेकी अहिले मेरो घरमा आएर खाना खन्छन् ।’ उनी भन्छिन् । समाजले हेर्ने दृष्टि पहिलेकोभन्दा अहिले आकाशपाताल फरक छ । जिल्लामा धेरै दलित महिला समाजसेवा र राजनीतिमा सक्रिय छन् । फेदाप गाउँपालिकाकी रिता दास जिल्ला समन्वयन समितिकी सदस्य हुन् भने कमला नेपाली छथर गाउँकार्यपालिकाकी सदस्य हुन् । यीबाहेक स्थानीय तहको निर्वाचनमा प्रत्येक वडाबाट एक जना महिला सदस्य अनिवार्य उठाउनु पर्ने प्रावधान रहेकाले जिल्लामा हाल ४३ जना दलित महिला निर्वाचित वडा सदस्य छन् । छथर गाउँपालिकाकै अङ्किता बराइली, होमकुमारी खाती, म्याङलुङ्ग नगरपालिकाकी जमुना बर्देवालगायतका केही महिला सक्रिय राजनीति तथा समाज रूपान्तरणमा लागेका अनुहार हुन् । मेन्छययेम गाउँपालिका मोराहाङ्गकी रमिला नेपाली प्रगति गर्न र समाजमा अगाडि बढ्नलाई जातपातले कुनै अवरोध नगरेको बताउँछिन् । पढ्न चाहने तथा प्रगति गर्नलाई कसले छेकेको छ र ? उनी प्रश्न गदर्छिन् । जे होस दलित भनेर समाजमा पिछिडिएका मानिस को सङ्ख्या जिल्लामा धेरै छ । नेपालमा दलित जाति गरिबीका रेखामुनी छन् । उच्चतह र ओहोदामा पुग्नेको सङ्ख्या औँलामा गन्न सकिन्छ । राजनीतिक, प्रशासनिक, विद्यालय, पत्रकारिता र कानुनी क्षेत्रमा पनि दलितको उपस्थिति न्यून छ, त्यसमा पनि दलित महिलाको त कुरै नगरौँ । तर, कतिपय दलित महिला समाजका अगुवा र नमुना पनि बनेका छन् भन्ने कुरा कमला दर्नाल, ज्ञानता बिकजस्ताको उहाहरणले प्रष्ट पार्दछ । – जातीय छुवाछूत विरुद्ध समतामूलक समाज निर्माणमा हामी र हाम्रा सम्वाददाता प्रतिबद्ध छौँ– सम्पादक