ताप्लेजुङ/ बेलायती नागरिक एण्डी कुपल्याण्डले १४ वर्ष ताप्लेजुङमा बिताए ।
[caption id="attachment_89540" align="aligncenter" width="1024"] कञ्चनजंघा पदमार्गमा दृश्यावलोकन गर्दै पर्यटक ।[/caption]यो बिचमा यनले १६ पटक कञ्चनजंघा आधा शिविरको भ्रमण गरे । तर, उक्त क्षेत्रको प्रचार–प्रसार र पूर्वधार विकासको हिसाबले १४ वर्षअघि र यस वर्षसम्म केहि परिवर्तन नभएको कुपल्याण्ड बताउछन् । ‘अझै पनि अन्तराष्ट्रिय गाइडबुक र वेबसाइटहरुले नेपालका भ्रमण गर्ने स्थलहरुको सूचिमा कञ्चनजंघा देखाउँदैन, गत वर्षमात्र स्वदेश फर्किएका उनी भन्छन्,‘यति राम्रो भएर पनि पर्यटकहरुको रोजाईमा पर्न नसक्नु दुःखद हो ।’ विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) मा चार वर्षदेखि आरोहण हुन सकेको छैन । गत वर्ष आरोहणका लागि गएको तीन नेपाली महिलासहित ११ जना विदेशी नागरिकको टोली चौथो बेस क्याम्प पुगेर फर्किएको थियो ।
सम्भावना धेरै भएर पनि पर्यटनको संख्या बढ्न नसक्दा सो क्षेत्रका व्यावसायी र स्थानीय चिन्तित छन् । अझैपनि सबैभन्दा ठुलो समस्या पैदल मार्गको रहेको पर्यटन व्यवसायी पाशाङ शेर्पाले बताए । पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २००८ मा १ हजार ४ सय ९० विदेशी पर्यटक आएको क्षेत्रमा त्यस पछि वार्षिक ७ सय भन्दा माथि बढ्न सकेको छैन । कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्यांक अनुसार सन् २००० मा ३ सय ७५ पर्यटक आएका थिए । पछिल्लो वर्ष सन् २०१६ मा ६ सय, १५ मा ५ सय २, १४ मा ५ सय ६१, १३ मा ६ सय ४८, १२ मा ४ सय ५५, ११ मा ७ सय २, १० मा ५ सय ९९ र ९ मा ५ सय ९२ पर्यटकले भ्रमण गरेका छन् ।
पर्यटन विकासको दिर्घकालिन योजना नबन्नु यहाँको मूख्य समस्या रहेको संरक्षण क्षेत्रका वार्डेन हेमराज आचार्य बताउँछन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार नहुनु, स्थानीय तह, राजनैतिक दलको चासो कम हुनु, पर्यटन क्षेत्रमा काम गर्नेहरुबीच समन्वय नहुनु पर्यनक नबढ्नुको मूख्य कारण रहेको उनको दाबी छ । यो क्षेत्रका पैदल मार्गहरु पर्यटक लक्षित नभई स्थानीयका लागि एक देखि अर्को गाउँ जोड्ने मात्रै छन् । पर्यटकिय केन्द्रलाई जोड्ने मार्ग कमै मात्र छन् ।
लामो पैदल मार्ग, सञ्चार असुविधा, नियमित उडान नहुनु, क्याम्प साइड ब्यवस्थित नहुनु र चिया तथा खाजा खाने ठाउँहरु समेत पर्याप्त नभएकाले पर्यटक र तीनलाई गाइड गर्नेलाइ समस्या रहेको पर्यटन ब्यवसायीहरु बताउछन् । पैदल मार्गमा जाने पहिरोले प्रत्येक बर्ष बाटो अवरुद्ध गर्ने गरेको छ । ‘पहिरोले बिगारेको पैदलमार्ग आफै बनाउदै हिड्नुपर्छ,’ व्यावसायी लाक्पा शेर्पा भन्छन्,‘पैदलमार्गमा प्राथमिक उपचार केन्द्र नहुनु, प्रहरी चेकपोष्ट कमी हुँदा पनि धेरै समस्या छ ।’ पदमार्गको थिवा देखि माथिल्लो क्षेत्रमा कतै पनि मोबाइल फोन टिप्दैन । कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्वो लिम्वू यो क्षेत्रमा आउने पर्यटकले तिरेको रोयल्टिको रकम अहिलेसम्म यहाँको विकासमा लगानी नभएको बताउँछन् ।
‘जिल्ला समन्वय समितिमा आउने उक्त रकम अन्यत्रका मठ मन्दीर, बाटोमा वितरण गरिन्छ । ५६ प्रतिशत भु–भाग रहेको यो क्षेत्रमा लगाइदैन,’ फेम्बाेले भने, ‘सरकारी बेवास्ताका कारण विकास हुन सकेको छैन ।’ त्यो रकम अब स्थानीय तह या त कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदमा पठाउनुपर्ने माग उनको छ । बस्ती नभएको ठाउँमा सामुदायीक लज बनाउने , लेलेप र सदरमुकाममा पर्यटक सूचना केन्द्र राख्ने, होटल सञ्चालकलाई कुक तथा पोर्टर तालिम दिने, हिउँपर्ने ठाउमा बाटो देखाउन स्नो पोल गाड्ने, पैदलमार्ग मर्मत, क्याम्प साइडहरुको निर्माण तथा व्यवस्थापन जस्ता काम गरिरहेको फेम्बु बताउछन् । कञ्चनजंघा क्षेत्रको पुरा भ्रमण गर्न २६ दिनसम्म लाग्ने भएकाले यसलाइ छोटो रुट बनाउनु पर्ने परापर्यटन विज्ञ मौसम खनाल बताउँछन् । कञ्चनजंघा क्षेत्रको पुरा रुट २ सय ८० किलोमिटरको छ । कञ्चनजंघा हिमश्रृङ्खलामा आठ हजार मिटरभन्दा माथीका चार वटा हिमाल छन् ।
तमोर, कोवेली, घुन्सा जस्ता ठुला नदी, दर्जनौ तालहरु र याङमा, खाम्बाचेन, लोनाक, रामजेर, चेराम, महुवा, जस्ता ४ हजार र घुन्सा, ओलाङचुङगोला, फले, जस्ता ३ हजार मिटर माथीका बस्ति रहेका छन् । हिउँ चितुवा, ध्वाँसे चितुवा, रेडपाण्डा, नाउर, हिमाली कालोभालु, तिब्बतियन ब्वाँसो जस्ता बन्यजन्तु र डाँफे, मूनाल, चिलिमे, जस्ता चराचुरुङगी पनि यहाँका अकर्षण रहेको परिषद्का पूर्व सचिव तेञ्जिङ बालुङ बताउँछन् ।