पानबारी। जब वर्षाको समय हुन्छ र पानी पर्न सुरु हुन्छ तब खोला किनारका स्थानीय कहिल्यै सुत्दैनन् । कारण, बाढीले आँखै अगाडि कति घर बगेका छन्, हेर्दाहेदै टहरा बाढीले लगेका छन् ।

धरान बजारक्षेत्र भएर बग्ने खहरे, सेउती र सर्दू खोलाका किनारमा बस्ने सुकुम्वासी बस्तीका बासिन्दा पानी पर्न सुरु भएपछि रातभर निदाउँदैनन् । उर्लिएर आउने बाढीले घरबारमात्र हैन ज्यान नै लाने हो कि भन्ने पीरलो छ ।

धरानमा १२ हजारभन्दा बढी घरपरिवार सुकुम्बासी रहेको तथ्याङ्क धरान उपमहानगरपालिकाले ०७२ सालमा नै निकालेको छ । उनीहरूलाई उचित व्यवस्थापन गर्ने भनी काम अघि बढाए पनि एक वर्षको अवधिमा मात्रै ५ सय घरपरिवारलाई घर नं. बितरण गरेको छ । सुकुम्बासीलाई दलहरूले सधैँ निर्वाचन जित्नमात्र प्रयोग गर्ने तर जितिसकेपछि काम नगर्ने शैलीका कारण समस्या समाधान नभएको स्थानीय बताउँछन् ।

धरान–१५ देउरालीकी बिमला लिम्बू पानी पर्न थालेपछि दिउँसो पनि अत्यास लाग्ने गरेको बताउँछिन् । सेउती खोला किनारमा घर भएकी उनी आफ्नो जायजेथा मात्र हैन सानै रहेका बालबच्चालाई जोगाउन सकिने हो वा हैन भन्ने पीरले निन्द्रा नपर्ने बताउँछिन् । वर्षाको मौसम सुरु भएसँगै आफ्नो पनि त्रासको रात सुरु हुने बताउँछिन् उनी ।

बिगतमा समेत यो क्षेत्रका सर्वसाधारणले तटबन्धका लागि पटकपटक धरान उपमहानगरपालिका धाए तर सामान्य तार जाली दिएर पठाउनेबाहेक केही गरेन । जननिर्वाचित भएपछि अब दीर्घकालीन समस्या समाधान होला भन्ने विश्वास लिएका उनीहरू सुकुम्वासी व्यवस्थापनको काम झारो टार्नेजस्तो देख्न थालेका छन् ।

सेउती किनारामा बस्ने सर्वसाधारणमात्र हैन सर्दू जलाधार क्षेत्र वरपर टहरा बनाएर बसेकाहरूको समेत उस्तै हविगत छ । उनीहरूसमेत रातभर नदिनाउने बताउँछन् । धरान–१३ फुस्रे नजिक रहेको सर्दू खोला किनारामा ५३ वर्ष अगाडि टहरा बनाएर बस्दै आएका ८८ वर्षीय मानबहादुर लामिछानेले भने –‘बाढीले वर्षैपिच्छे धार परिवर्तन गर्छ, कहिले लैजान्छ भन्ने ठेगान छैन ।’ विगतमा धानबाली लगाउने खेतसमेत अहिले सर्दूको बगर भएको बताउँदै खोला किनारामा मानव बस्तीको सङ्ख्यामा वृद्धि भएकै कारण दिनप्रतिदिन समस्या चुलिँदै गएको बताउँछन् उनी ।

धरानमा सेउती र सर्दू खोलाको छेउमा बसोबास गर्ने सुकुम्वासीको सङ्ख्या सुकुम्वासीहरूले निकालेको तथ्याङ्कमा धरान उपमहानगरपालिका भित्र ६४ ओटा बस्तीमा १५ हजार सुकुम्वासी रहेको र अहिले पाँचकन्या र विष्णुपादुकालाई समेत गाभिएपछि भने ७५ ओटा सुकुम्वासी बस्ती १ सय ओटा इकाई समिति रहेका छन् । जनसङ्ख्याको हिसाबले २० हजार भन्दा बढी सुकुम्वासी बाढी पहिरोको जोखिममा रहेको नेपाल बसोबास बस्ती संरक्षण समितिका केन्द्रीय महासचिव कुमार कार्की बताउँछन् । उनले धरान उपमहानगरपालिकालाई सुकुम्वासी बस्ती संरक्षणको लागि तोकेर बजेट छुट्याउन माग गरेको धेरै भएको तर तोकेर बजेट नछुट्याउँदा संरक्षणको काम प्रभावित हुने गरेको बताए । सुकुम्वासीले पाँचकन्यामा ५ ओटा बस्ती, धरानमा सर्दू खोलाले भेट्ने लोकतान्त्रिक बस्ती, नौलो बस्ती, प्रगतिमार्ग, सुनौलो गैरी टोल, विष्णु टोल, यलम्बर हाङ्छा टोल, सेउती खोलाले भेट्ने धरान–१५ को बगरकोट जोखिमपूर्ण स्थानको रूपमा रहेको बताउँदै आएका छन् ।

धरान उपमहानगरपालिकाले सुकुम्वासी बस्तीलाई व्यवस्थित गर्न बनाएको ‘अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासी व्यवस्थापन समिति’ की संयोजक हिरादेवी राईले उपमहानगरपालिकाले सुकुम्वासी बस्तीलाई व्यवस्थित गर्न काम अघि बढाइरहेको बताइन् । धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले सुकुम्वासी बस्तीलाई व्यवस्थापन गर्न यसवर्ष ८० लाख रकम विनियोजन गरेको बताइन् । उनले यसवर्ष सुकुम्बासीको नमुना बस्तीको लागि प्रदेश र सङ्घीय सरकारसँग समन्व गरी दिगो रूपमा समाधान गर्न काम अघि बढाउने बताइन् ।