ताप्लेजुङ । बेलायती नागरिक एण्डी कुपल्याण्डले १४ वर्ष ताप्लेजुङमा बिताए । यस बीचमा उनले १६ पटक कञ्चनजङ्घा आधार शिविरको भ्रमण गरे । तर, उक्त क्षेत्रको प्रचार–प्रसार र पूर्वाधार विकासको हिसाबले १४ वर्षअघि र यस वर्षसम्म केही परिवर्तन नभएको कुपल्याण्ड बताउँछन् । ‘अझै पनि अन्तर्राष्ट्रिय गाइडबुक र वेबसाइटहरुले नेपालका भ्रमण गर्ने स्थलहरुको सूचीमा कञ्चनजङ्घा देखाउँदैन’ गत वर्षमात्र स्वदेश फर्किएका उनी भन्छन्, ‘यति राम्रो भएर पनि पर्यटकहरुको रोजाइमा पर्न नसक्नु दुःखद् हो ।’ विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) मा चार वर्षदेखि आरोहण हुन सकेको छैन । गतवर्ष आरोहणका लागि गएको तीन नेपाली महिलासहित ११ जना विदेशी नागरिकको टोली चौथो बेसक्याम्प पुगेर फर्किएको थियो । सम्भावना धेरै भएर पनि पर्यटनको संख्या बढ्न नसक्दा सो क्षेत्रका व्यावसायी र स्थानीय चिन्तित छन् । अझै पनि सबैभन्दा ठूलो समस्या पैदल मार्गको रहेको पर्यटन व्यवसायी पासाङ शेर्पाले बताए । पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार सन् २००८ मा १ हजार ४ सय ९० विदेशी पर्यटक आएको क्षेत्रमा त्यसपछि वार्षिक ७ सयभन्दा बढ्न सकेको छैन । कञ्चनजङ्घा संरक्षण क्षेत्रको तथ्याङ्क अनुसार सन् २००० मा ३ सय ७५ पर्यटक आएका थिए । पछिल्लो वर्ष सन् २०१६ मा ६ सय, १५ मा ५ सय २, १४ मा ५ सय ६१, १३ मा ६ सय ४८, १२ मा ४ सय ५५, ११ मा ७ सय २, १० मा ५ सय ९९ र ९ मा ५ सय ९२ पर्यटकले भ्रमण गरेका छन् । पर्यटन विकासको दीर्घकालीन योजना नबन्नु यहाँको मुख्य समस्या रहेको संरक्षण क्षेत्रका वार्डेन हेमराज आचार्य बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार नहुनु, स्थानीय तह, राजनैतिक दलको चासो कम हुनु, पर्यटन क्षेत्रमा काम गर्नेहरुबीच समन्वय नहुनु नै पर्यटक नबढ्नुको मुख्य कारण रहेको उनको दाबी छ । यो क्षेत्रका पैदल मार्गहरु पर्यटक लक्षित नभई स्थानीयका लागि एकदेखि अर्को गाउँ जोड्नेमात्रै छन् । पर्यटकीय केन्द्रलाई जोड्ने मार्ग कमै मात्र छन् । लामो पैदल मार्ग, सञ्चार असुविधा, नियमित उडान नहुनु, क्याम्प साइड व्यवस्थित नहुनु र चिया तथा खाजा खाने ठाउँहरु समेत पर्याप्त नभएकाले पर्यटक र गाइडलाई समस्या रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । पैदल मार्गमा जाने पहिरोले प्रत्येक वर्ष बाटो अवरुद्ध गर्ने गरेको छ । ‘पहिरोले बिगारेको पैदलमार्ग आफै बनाउँदै हिँड्नुपर्छ’ व्यवसायी लाक्पा शेर्पा भन्छन्, ‘पैदलमार्गमा प्राथमिक उपचार केन्द्र नहुनु, प्रहरी चेकपोष्ट कमी हुँदा पनि धेरै समस्या छ ।’ पदमार्गको थिवादेखि माथिल्लो क्षेत्रमा कतै पनि मोबाइल फोन टिप्दैन । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बू यो क्षेत्रमा आउने पर्यटकले तिरेको रोयल्टीको रकम अहिलेसम्म यहाँको विकासमा लगानी नभएको बताउँछन् । ‘जिल्ला समन्वय समितिमा आउने उक्त रकम अन्यत्रका मठ मन्दिर, बाटोमा वितरण गरिन्छ । ५६ प्रतिशत भू–भाग रहेको यो क्षेत्रमा लगाइँदैन’ फोम्बोले भने, ‘सरकारी बेवास्ताका कारण विकास हुन सकेको छैन ।’ त्यो रकम अब स्थानीय तह या त कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्मा पठाउनुपर्ने माग उनको छ । बस्ती नभएको ठाउँमा सामुदायिक लज बनाउने, लेलेप र सदरमुकाममा पर्यटक सूचना केन्द्र राख्ने, होटल सञ्चालकलाई कुक तथा पोर्टर तालिम दिने, हिउँपर्ने ठाउँमा बाटो देखाउन स्नो पोल गाड्ने, पैदलमार्ग मर्मत, क्याम्प साइडहरुको निर्माण तथा व्यवस्थापन जस्ता काम गरिरहेको फोम्बो बताउँछन् । कञ्चनजङ्घा क्षेत्रको पूरा भ्रमण गर्न २६ दिनसम्म लाग्ने भएकाले यसलाई छोटो रुट बनाउनु पर्ने परापर्यटनविज्ञ मौसम खनाल बताउँछन् । कञ्चनजङ्घा क्षेत्रको पूरा रुट २ सय ८० किलोमिटरको छ । कञ्चनजङ्घा हिमशृङ्खलामा आठ हजार मिटरभन्दा माथिका चार वटा हिमाल छन् । तमोर, कोवेली, घुन्सा जस्ता ठूला नदी, दर्जनौं तालहरु र याङ्मा, खाम्बाचेन, लोनाक, रामजेर, चेराम, महुवा जस्ता ४ हजार र घुन्सा, ओलाङ्चुङगोला, फले जस्ता ३ हजार मिटर माथिका बस्ती रहेका छन् । हिउँ चितुवा, ध्वाँसे चितुवा, रेडपाण्डा, नाउर, हिमाली कालोभालु, तिब्बती ब्वाँसो जस्ता वन्यजन्तु र डाँफे, मुनाल, चिलिमेजस्ता चराचुरुङ्गी पनि यहाँका अकर्षण रहेको परिषद्का पूर्व सचिव तेञ्जिङ वालुङ बताउँछन् ।