पानवारी । भनिन्छ– ‘एक निर्जीव वस्तुलाई कलाले सजीव तुल्याउँछ ।’ अँध्यारामा छलिएको वस्तुलाई पनि कलाले प्रकाशमय बनाउँछ । तर त्यही कलाकार र तिनको कला बाहिरै आउन सकेन भने के उज्यालो छर्ला ! र, कसरी निर्जीवलाई सजीव बनाउला ! धरान–६ पानवारीका हरिप्रसाद कटवाल यस्ता कलाकार हुन्, जसको कलाले हरेक निर्जीव वस्तुलाई जीवन्त बनाउन सक्छ । उनले बाँसको जरा, सुकेका रुखका जरा, काम नलाग्ने नरिवलका जट्टा र ठुटा यी सबैमा एक बेजोड आकृति देख्छन् ।

उनले तिनै काम नलाग्ने भनिएका वस्तुहरूमा आफ्नो कला पोख्दै ऐतिहासिक व्यक्तित्वका मूर्तिदेखि सपनाकी परी ‘लिटिल एन्जल’, बार्बी डलसम्मका आकृति कुँदेका छन् । उनी जनावर तथा चरालाई औधी प्रेम गर्छन् उनले सिंह, डल्फिन, बिच्छी, चरा, डाँफे, कमिला लगायतका आकृति कुँदेका छन् । उनले कुँदेर राखेका आकृति हेर्दा लाग्छ यी मूर्ति नभएर साँच्चै सजीव हुन् कि, उनले थुनेर राखेका छन् । राष्ट्रिय विभूति कलाकार अरनिकोले नेपाललाई कलाको माध्यमले विश्वसामु चिनाए । चीनमा उनले १३ औँ शताब्दीमा कुँदेका मूर्ति र बनाएका चैत्यहरू अहिले पनि पर्यटनको प्रमुख आकर्षणका रूपमा छन् । त्यो समयदेखि नै नेपाली कला विश्वसामु परिचित छ । थोरैले मात्रै त्यो अवसर पाउँछन्, जुन अवसरले आफ्नो कला विश्वसामु प्रस्तुत गर्न सकियोस् । धरान–६ निवासी हरिप्रसाद कट्वाल बुवाआमा रोजगारीको सिलसिलामा भारतको जलपाइगुडीमा हुँदा त्यही जन्मिए । माध्यमिकस्तरको शिक्षा जलपाइगुडीस्थित सेन्ट जोसेफ हाइ–स्कुलबाट लिएका उनले त्यसपछि कालेङपुङ कलेजमा बीएसम्मको अध्ययन पूरा गरे । त्यसपछि नेपाल फर्किएका उनले यतै घरजम गरे । चित्रकलामा उनको लगाव सानैदेखिको हो । स्कुलमा चित्र बनाएरै उनी कयौँ पटक पुरस्कृत भए । चित्र बनाइदिए वापत् पैसा र उपहारसमेत धेरै पाए । स्कुल पढ्दा १० कक्षामा चित्रकलाको समेत परीक्षा दिनुपथ्र्यो । परीक्षा लिन केन्द्रले खटाएका शिक्षकहरू कलकत्ताबाट आउँथे । उनले त्यसबेलाको क्षण सम्झँदै भने –‘मैले मेरै प्रतिस्पर्धी साथीहरूलाई पनि चित्र बनाइदिएको थिएँ, साथीहरू त पास भए तर म भने चित्रकलाको परीक्षामा फेल भएँ ।’ परीक्षा लिन आएका शिक्षकले विश्वासै गरेनन् कि उनले बनाएको चित्र हो भनेर, किनकि त्यो धेरै उत्कृष्ट थियो । उनी अहिले काठको मूर्ति पनि उत्तिकै जीवन्त बनाउँछन् । उनले नानीहरूलाई खेलौना बनाएर खेल्न दिँदादेखि काठको मूर्ति बनाउन सुरु गरेका हुन् । उनी भन्छन्, ‘नानीहरूलाई गुडिया ल्याइदिनुपर्ने धेरै महँगो गुडिया एक दिनमै च्यातिन्थ्यो, त्यसपछि म आफैंले काठका खेलौना बनाएर दिन थालेँ ।’ उनले बनाएको एउटै मूर्ति ३५ हजारमा बिक्री भयो । उनले बनाएको सिंहको दुईओटा मूर्तिलाई ३५ हजारको दरले घरबाटै बिक्री गरे । ६४ सालमा होटल एशोसिएसन अफ धरानले गरेको सडक उत्सवमा उनको स्टलले उत्कृष्ट स्टलको पुरस्कार जितेको थियो । त्यसबेला २ लाख ५० हजार बराबरको मूर्ति बिक्रीसमेत गरेका थिए । उनले बनाएका मूर्ति घरको एउटा कोठामा सजाएर राखेका छन् भने घरको भित्तामा मूर्ति कुँद्दै गरेको आफ्नै आकृति कुँदेका छन् । धरान–६ सरस्वती मावि अगाडि उनी आफैंले खोलेको एउटा सानो ‘गिफ्ट सप’ मा मूर्ति तथा चित्रहरू सङ्ग्रह गरेर राखेका छन् । उनको उमेरले अहिले ५५ वर्ष नाघ्यो । बेलामा उनले आफ्नो कलालाई प्रचार गर्न सकेनन् । उनको उमेर छँदा देश द्वन्द्वकालमा गुज्रियो । उनले आफ्नो कलालाई बाहिर ल्याउन प्रयास नगरेको पनि होइन, काठमाडौंको ठमेलदेखि विभिन्न स्थानमा आफ्नो कला प्रवद्र्धन गर्न निस्किए पनि । उनी भन्छन्, ‘उ बेला (युवावस्था) मा म कर्ममा विश्वास गर्थें तर अहिले भाग्यमा हुनुपर्ने र’छ जस्तो पनि लाग्छ । मेरो भाग्यमा नभएर भनौं वा देशकै अवस्था त्यस्तै भएर भनौं जे होस् मैले आफ्नो कला दुनियाँसामु लान सकिन ।’ उनी आफूसँग कला भएपनि त्यसलाई प्रचार गर्ने उपाय भने नजानेको र कुनै माध्यम नभेटेको बताउँछन् । तर उनी अझै हिम्मत हारेका छैनन् । उनी भन्छन्, ‘सबै कुरा पैसा होइन, मेरो जीवन यही कलाकारितामा नै बितेको छ, समय काट्नका लागि कोही क्यारेम खेल्छन्, कोही तास जुवा खेल्छन्, कोही चिया पसलमा गफिन्छन् तर म फुर्सदको समयमा यही कुची, रङ र यिनै औजारसँग खेल्छु ।’ अब छोराहरू पनि आफ्नो खुट्टामा उभिने भइसके मलाई अब कुनै कुराले छेक्दैन, अरुजस्तो प्रसिद्ध नहुँला तर मेरो जीवन कलाकारीतामा नै बित्छ ।’