इलाम । अर्गानिक चियाको रूपमा परिचित इलामका उत्तरी ग्रामीणक्षेत्रका चिया किसानले भने चियाको मूल्य नपाएर सास्ती खेप्नु परेको बताउँछन् । चियालाई अर्गानिक बनाएर फ्याक्ट्रीमा लैजाँदासमेत फ्याक्ट्रीले पेमेन्ट नगर्दा अधिकांश किसान मारमा परेका हुन् । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माईपोखरी लगायत उत्तरी भेगका कृषकहरुले चियाको मूल्य नपाउँदा हैरान खेपिरहेका छन् । सन्दकपुर गाउँपालिका वडा नम्बर तीनका चिया कृषक चूडा भट्टराईले वर्षौंदेखिको चियाको पेमेन्ट फ्याक्ट्रीबाट नपाएपछि चिया बाँझै छोडेको बताउँछन् । चियालाई मलजल गरी टिपाइसम्म पु¥याउँदा लाग्ने श्रम, समयको समेत मूल्य नपाएपछि चिया कृषकलाई टिपेर फ्याक्ट्रीसम्म पु¥याउनुभन्दा बाँझै छोड्नु उचित भएको बताउँछन् । चियाको बजार र फ्याक्ट्रीले दिने मूल्यअनुसार पेमेन्ट नपाएपछि चियालाई मेहनत गर्न छोडेको बताए । उनले भने, ‘वर्षौंदेखिको पेमेन्ट नपाई फ्याक्ट्रीलाई पु¥याउनुभन्दा चिया उखेलेर घाँस लगाउने सोचमा छु । बगान नहुनेलाई टिपेर लान दिँदासमेत चिया टिप्दैनन्, बरु बगान नै मासेर घाँस लगायो भने पशुपालनबाट फाइदा त हुन्छ ।’ यस्तै सन्दकपुर गाउँपालिका–१ का कृषक राजबहादुर राईले ४० रोपनी क्षेत्रफलमा चिया खेती गरेका छन् । उनले पनि चियाको मूल्य पाउन महिनौं कुर्नु परेकाले सबै कृषकहरु घाटामा रहेको बताए । चिसोका कारण अन्य क्षेत्रमाभन्दा कम टिपाइ हुने चिया पहिलो टिपाइ चैत, वैशाखमा र दोस्रो टिपाइ असारमा मात्र हुने गरेको छ । फ्याक्ट्रीले चियालाई अर्गानिक बनाउन भनेपश्चात् सबै कृषकहरुले अर्गानिक चिया उत्पादन गरेको तर भनेजति मूल्य नभएकाले चियाबाट सन्तुष्ट नरहेको बताए । वरिपरि फ्याक्ट्री धेरै भएर मूल्यमा मनपरी गरेको उनको ठहर छ । ५५ रुपैयाँ प्रतिकेजीका दरले बिक्री हुने चिया अन्य स्थानमा बिक्री गर्न किसानलाई गाह्रो हुने भएकाले फ्याक्ट्रीलाई दिन बाध्य भएको तर पेमेन्टमा वर्षौंसम्म कुर्नुपर्दा मारमा पर्ने गरेको उनको भनाइ छ । इलाम नगरपालिका–४ जसवीरे निवासी कमल मुखियाले फ्याक्ट्रीले चियाको ग्रेडिङ छुट्याउने र मोलमा ठग्ने गरेको बताए । फ्याक्ट्रीलाई सुपथ मूल्यमा दिनुपर्ने भएकाले यस वर्षबाट आफै बनाउन थालेको बताए । गुणस्तरीय चिया जुनसुकै क्षेत्रमा समेत राम्रो मूल्यमा बिक्री हुनाले ऋण लिएर चिया सुकाउने ड्रायर र पेल्ने रोलर मेसिन खरिद गरी आफ्नो बगानको चिया आफैले उत्पादन गर्न थालेको बताए । चार लाखको मेसिन ऋणमा ल्याएको र राम्रो बिक्री भएमा यस वर्षकै चियाले उकास्ने उनको भनाइ छ । वि.सं २०४६ सालमा चियाबारी किनेर हातले बनाएर चिया बिक्री गर्न थालेका कमल ६३ वर्षको उमेरमा पनि उत्तिकै मेहनतका साथ काम गरिरहेको बताउँछन् । इलाम नगरपालिका–२ सुम्बेकका कृषक डुर बहादुर ढुङ्गानाले सहकारीमार्फत् किसानको चिया खरिद गर्ने गरेकोमा यसवर्ष भने चियाको पेमेन्ट ढिलाइ भएको बताए । वरिपरि कुल ४६ घरभन्दा बढी कृषकहरूको चिया खेती रहेकाले फ्याक्ट्रीले पेमेन्ट ढिलाइ गर्दा चियामा लाग्ने जनशक्ति र मल खरिद गर्नसमेत गाह्रो भएको बताए । फ्याक्ट्रीले चिया निर्यातमा समस्या भएकाले भुक्तानीमा ढिलाइ भएको बताउने गरेको छ । वि.सं २०५९ सालमा स्थापना भएको माई टि कम्पनीका लेखापाल प्रेम सुब्बाले चियाको निर्यातमा समस्या भएकाले यसवर्ष केही भुक्तानीमा ढिलाइ भएको बताए । उनले भन्सारमा समेत पहिले जस्तो सहज नभएकोले सहजै चिया निर्यात नहुने बताए । प्रतिकिलो ५५ रुपैयाँँ र ढुवानीको समेत गरी रु. ५७ का दरले बिक्री गरिने चियाको व्यापारीलाई गाडीभाडा समेत फ्याक्ट्रीले दिने गरेको बताए । उनले फ्याक्ट्री धान्ने काम गरेको तर किसानलाई समस्या पर्दा समाधान गरिदिने गरेको बताए । किसानको चियाको ४५ दिनभित्रमा पेमेन्ट गर्ने गरेको तर यो वर्ष भने चिया निर्यातमा समस्या भएकाले महिनौं ढिला भएको र केही दिनमा नै समस्या समाधान गर्ने बताए । उनले तेस्रो मुलुकमा गुणस्तरीय चिया मात्र निर्यात हुने गरेकाले झन्झट खेपेरै इन्डिया पठाउनु परेको बताए । फ्याक्ट्रीमा सिजनमा ६–७ हजार किलो चिया आउने र होल पत्ती दुईहजार किलोसम्म आउने गरेको बताए । इलाम नगरपालिका–२ मा रहेको उक्त फ्याक्ट्रीमा सन्दकपुर, माईजोगमाई र इलाम नगरपालिकाका विभिन्न स्थानको चिया आउने गर्दछ । यस्तै माईपोखरी टि प्रशोधन उद्योगका सञ्चालक मनकुमार मुखियाले माईपोखरी आसपासका सीमित किसानको मात्र चिया आउने गरेकाले दुई महिनामा पेमेन्ट गर्ने गरेको बताए । चिसोका कारण चियाको उत्पादन कम हुने गरेको क्षेत्र भए तापनि दैनिक आठ सय किलोसम्म चिया आउने गरेको छ । हाल भारतमा मात्र निर्यात हुने चिया तेस्रो मुलुक जान थालेपछि भने चियाबाट नाफा हुने भएकाले कृषकहरूलाई समेत सहज हुने बताए । गुणस्तरीय चियाको उत्पादन गरी तेस्रो मुलुकमा चिया निर्यात गर्ने आशामा काम गर्दै आएको उनको भनाइ छ ।