वराहक्षेत्र । चारवर्षदेखि पूर्णरूपमा उत्पादन ठप्प भएको चतरा हाइड्रोपावर हालसम्म मर्मत हुन नसक्दा चतराबासी अन्धकारमा बस्न बाध्य छन् । उत्पादन शुरु भएको एक दशकसम्म चतराबासीले २४ सै घण्टा विजुली पाए । तर, १ दशमलव ६ मेगावाट क्षमताका दुई युनिटमध्ये ‘युनिट–२’ ०६७ भदौदेखि अचानक बिग्रिएको थियो । २ नम्बर युनिट बन्द भएको ४ वर्षपछि २०७१ भदौमा युनिट–१ समेत बन्द भयो । दुवै युनिट पूर्णरूपमा बन्द भएपछि चतराबासीले विद्युत्का लागि अर्काको भर पर्नुपरेको छ । वराहक्षेत्र–२ स्थित आठआरडीमा निर्मित ३ दशमलव २ मेगावाटको चतरा जलविद्युत् केन्द्र मर्मत कार्य नहुँदा चतराबासीले नियमित विजुली पाउन सकेका छैनन् । १६ करोडको लागत निर्मित जल विद्युत् केन्द्र २०५२ मा निर्माण शुरु गरेर २०५६ सालमा सम्पन्न गर्दै नेपाल सरकारले विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । जल विद्युत् केन्द्र निर्माण हुने समयमा जर्मनीको सुजलर कम्पनीसँग भएको सम्झौता सकिएपछि प्राधिकरणले ३१ मे २०१६ मा अष्ट्रियाको एण्ड्रिज हाइड्रोस“ग स्पेयर पार्ट्स र सुपरभाइजिङको सम्झौता गरेको केन्द्रका प्रमुख विनोद पाण्डेले बताए । एण्ड्रिज हाइड्रो कम्पनीको प्रतिनिधिको उपस्थितिमा करिब ६० लाख रुपैयाँ बराबरको इलेक्ट्रिकल प्यानलको उपकरण पार्टपुर्जा जडान गरेर ०७४ पुस १५ गते गरिएको उत्पादन परीक्षण असफल भएपछि चतरा जल विद्युत् केन्द्र ठप्प छ । एण्ड्रिजबाट प्राप्त हुने उपकरणको पर्खाइमा रहेको र उपकरण प्राप्त हुने बित्तिकै मर्मतपछि उत्पादन शुरु गरिने केन्द्र प्रमुख पाण्डे बताउँछन् । जल विद्युत्ले दुई ओटा फिडरमार्फत् उपभोक्ता र त्यहाँस्थित ड्रेजर मेसिनलाई विद्युत् दिने गरेको छ । उपभोक्ताको पिक आवर साँझ ६ देखि राति १० बजेसम्म ७ सय ५० देखि ८ सय किलोवाट र अन्य समयमा ५ सय केभी खपत रहेको छ भने ड्रेजरले ७ सय पचास किलोवाट विद्युत् लिने गरेको छ । चतरामा अनियमित विद्युत् प्रसारण तथा ‘भोल्टेज ड्रप’ हुने गरेको छ । नियमित विद्युत् नहुने विद्युत् आइहाले पनि भोल्टेज नहुने समस्या भोग्नुपरेको चतराबासी सन्तोष राम गुनासो गर्छन् । ‘भोल्टेज २२० हुनुपर्नेमा ९० र १०० भन्दा बढी हुँदैन, प्राधिकरणको यो कस्तो चाला हो ?’ –उनी आक्रोस पोख्छन् । प्राधिकरणले सानो–सानो कारण देखाउँदै विजुली कटौती गर्ने गरेको उपभोक्ताहरुको गुनासो छ । ‘सानो पानी परेको दिन होस् वा सुख्खा दिन, कुनै न कुनै बहानामा विद्युत् काटिएको हुन्छ’ –अर्का उपभोक्ता प्रकाश राउत भन्छन् । चतरा र बयरवनका उपभोक्ताहरुको समूह चतरा जल विद्युत् केन्द्र गएर सोधपुछ गर्न थालेपछि त्यहाँ भेटिएका धरान विद्युत् प्राधिकरणका प्रमुख दीपक सापकोटाले चाँडै विद्युत् आउने बताएका थिए । ‘धरान विद्युत् प्राधिकरणको चरम लापरबाहीले गर्दा, चतराबासी नियमित जसो यस प्रकारको सास्ती खेप्नुपरेको छ’ –राष्ट्रिय एकता सञ्जाल वराहक्षेत्र नगरसमितिका अध्यक्ष डम्बर तुम्वाहम्फेले भने । धरान सवस्टेशन अथवा चतरा जल विद्युत् केन्द्रको ब्रेकर बिग्रेको हुनसक्ने बताइएको छ । प्राधिकरणले ३३ हजारको स्थानमा ११ हजार भोल्टमा चतरामा विद्युत् सञ्चालन गरिएको, प्राधिकरणलाई उद्धृृत गर्दै चतराका कर्मचारी देवराज भट्टराईले बताए । नगरपालिकाले मृतप्रायः रहेको चतरा जल विद्युत् केन्द्रलाई पुनर्जीवित गरी उपभोक्तालाई राहत दिनेतर्फ अघि बढ्नु पर्ने तर्क स्थानीयको छ ।