इटहरी । रासायनिक मलको प्रयोगका कारण माटोमा अम्लीयपन बढेको माटो विज्ञले बताएका छन् । उर्वरा जमिनमा रासायनिक मल, विषादीको प्रयोग बढ्दा बर्सेनी उत्पादन घटिरहेको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काले जनाएको छ । माटोमा क्याल्सियम चुन तत्व र म्यग्निसियम तत्व कम हुँदा माटोमा अम्लीय बढिरहेको माटो विज्ञहरू बताउँछन् । उच्च पहाडी क्षेत्रबाहेकका अन्य ठाउँमा उत्पादन घट्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काका माटो विज्ञ सुनिलकुमार सिंहले जनाए । उत्पादन बढाउने बहानामा कृषकहरूले प्राङ्गारिक मलको सट्टा रसायनिक मल लगाउने गरेका छन् । अन्नभण्डार मानिने तराईका जमिनमा अम्लीयपन बढ्दा उत्पादन उल्लेखनीय रूपमा घटिरहेको विज्ञ सिंहको भनाइ छ । पूर्वको विभिन्न जिल्लामा गरेको प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीयपन बढ्दै गएको उनले बताए । उनले भने, ‘फस्फोरस र पोटासको मात्रा पनि घटेको छ ।’ पहाडी भेगमा गाईवस्तु कम पाल्नु, वन जङ्गलमा स्याउला कम पाइनु वा ल्याउने चलन घट्नुले पनि माटोको उर्वराशक्ति कमजोर पारेको उनको भनाइ छ । उत्पादन घटे पनि माटो परीक्षण गर्ने विधि र ठाउँबारे अधिकांश किसान अनभिज्ञ छन् । क्षेत्रीय प्रयोगशालामा उन्नत प्रविधि छ भने जिल्लाका प्रयोगशालामा ‘कलर मेथड’ प्रविधिबाट माटो परीक्षण गरिन्छ । गत आर्थिक वर्ष ६ सय ४९ माटो परीक्षण भएकोमा ५ सय ४० माटोमा अम्लीयपन भेटिएको कार्यलयका प्राविधिक सहायक योगेन्द्र यादवले बताए । हाल पहाडी जिल्लामा माटोमा बढी समस्या आएको उनले बताए । स्थानीयस्तरमा तयार गर्न सकिने गड्यौला मल, पिसाब मल, घरको फोहोरबाट बनाउन सकिने कम्पोष्ट मल, गोबरग्याँस प्लान्टमा सरकारले किसानलाई पर्याप्त प्रोत्साहन दिएको छैन । माटोमा पिएच, नाइट्रोजन, फस्पोरस, पोटास, लगायत १६ पदार्थ रहेका हुन्छन् । यी पदार्थ माटोमा सन्तुलित रहेनन् भने माटोको उर्वरा शक्ति नास भई मरुभूमिमा परिणत हुने गर्दछ । तराईका खेतमा गोबर हाल्नु पर्ने भए पनि गुइँठा बनाएर बाल्ने र खेतमा खरानी हाल्ने प्रवृत्तिले पनि माटो बिग्रिरहेको माटो विज्ञहरू बताउँछन् । माटो जोगाउन के गर्ने ? माटोलाई जोगाउन रासायनिक मलको प्रयोग घटाउने, प्राङ्गारिक मलको प्रयोग बढाउने, तराईमा गुइँठाको विकल्प खोजी गोबरलाई खेतमै राख्ने, पिसाब मल, गड्यौला मल, फोहोर व्यवस्थापनबाट घरमै तयार हुनसक्ने कम्पोष्ट मल उत्पादन गर्ने, मलखाद र खेतबारीमा स्याउलाको प्रयोग बढाउने, बाली चक्र अपनाउने, पराल, भुस, छ्वाली खेतबारीमा नजलाउने, भकारो व्यवस्थित गर्ने, नियमित रूपमा माटोको परीक्षण र परामर्श लिएर माटो जोगाउन सकिने विज्ञहरूको तर्क छ ।