स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट महिनाको पहिलो हप्तालाई स्तनपान हप्ताको रूपमा मनाउने गरिएको छ । स्तनपान जीवनको आधार भन्ने मूल नाराका साथ यो वर्षको विश्व स्तनपान सप्ताह शुरू भएको छ । नवजात शिशुुलाई आमाको दूधमात्रै खुवाउनु पर्छ । छ महिनादेखि दुई वर्षसम्म आमाको दूध र अन्य पौष्टिक खानेकुरा खुवाउन सकिन्छ । आमाको दूध जन्मेदेखि ६ महिनासम्मका शिशुको शारीरिक एवम् मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण हुन्छ । आफ्नो शिशुले चाहेको बेलामा जहिले पनि, जहाँ पनि आमाले दूध खुवाउनु पर्छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृतसमान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ  ।

स्तनपानको फाइदा –बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको  दूध हो । –आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । –आमाको दूधले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । –शिशुलाई जन्मेको ६ महिनासम्म स्तनपानमा मात्रै निर्भर राख्नुपर्छ । –आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवम् आत्मसन्तुष्टि प्राप्त हुन्छ । –स्तनपानले शिशुको बौद्धिक क्षमता पनि वृद्धि हुन्छ । –स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । –बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको  दूध हो । –स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ । –स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिराम र सङ्क्रमणबाट बचाउँछ । –दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ । –स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस) हुने रोगबाट जोगाउँछ । –आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ । –स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ । –कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ । –स्तनपान गराउन खर्च लाग्दैन । –आमाको दूध शिशुको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । –आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । –स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ । –आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ । –शिशुलाई गाईको दूधले एलर्जी हुनसक्छ तर आमाको दूध शतप्रतिशत सुरक्षित छ । सिंह(बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका बालरोग विशेषज्ञ, उप–प्राध्यापक हुन्)