तेह्रथुम/ उनी पूर्वमा नाम चलेका पत्रकार हुन् । कान्तिपुर मिडिया गु्रपका जिल्ला संवाददाता । उनले पत्रकारिता पेशामा १३ वर्ष बढी समय बिताइसकेका छन् । पत्रकार चन्द्र कार्की जिल्लाकै व्यवसायिक पत्रकार हुन् । उनको पत्रकारिता पेशाको लगाव र निरन्तरता लोभलाग्दो छ । उनी कृषि, खोजी र पर्यटन पत्रकारितामा विशेष रूची र दख्खल राख्छन् ।  पत्रकार कार्कीको परिचय यतिमा मात्र सिमित छैन । उनी व्यवसायिक मौरीपालक किसान पनि हुन् । स्थानीय सेरेना जातको मौरीको वंश विस्तार गर्ने अभियानमा उनले ७ वर्ष बढी समय बिताइसकेका छन् ।  पछिल्लो समय यो जातको मौरीको गोला सङ्ख्या घट्दै गैरहेका बेला पत्रकार कार्कीले आफैले ‘मौरी पालन स्रोत केन्द्र’ नामक फार्म दर्ता गरेर लालीगुराँस नगरपालिका–३ मुसाङखेलमा मौरीको गोला विस्तार र मह उत्पादन गरिरहेका छन् । ‘जसले मह काढ्छ, उसले हात चाट्छ,’ भनेझैँ पत्रकार कार्कीले मौरी पालन व्यवसायबाट राम्रो आमदानी पनि गरिरहेका छन् । उनी अन्य किसानलाई व्यवसायिक मौरी पालनको सीप सिकाउन र तालिम दिन पूर्वका विभिन्न जिल्लासम्म पुग्छन् । सात वर्ष यता व्यवसायिक मौरीपालनमा लागेका पत्रकार कार्कीले यो अवधिमा धेरै पटक मौरीको मह काडे र हात पनि चाटे ।

समाचारको खेती गर्ने पत्रकारिता पेशासँगै मौरी पालन व्यवसायलाई कार्कीले आर्यआर्जनको अर्को आधार बनाएका छन् । अहिले उनले मौरीपालन व्यवसायबाट वार्षिक ३ लाख रुपैयाँसम्म आमदानी गर्दै आएका छन् । उनको फार्ममा अहिले ५० गोलाको हाराहारीमा स्थानीय सेरेना जातको मौरी पालन गरिएको छ । फार्ममा कार्कीले आफैँ मौरीको कृतिम रानु उत्पादन र गोला विस्तार गर्दै आएका छन् । उत्पादित महको लागि बजारको समस्या छैन । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह घरबाटै खोसाखोस बिक्री हुने गरेको छ । ‘मह बेच्नका लागि बजारको कुनै समस्या छैन,’ कार्कीले भने ‘घरबाटै बिक्री हुन्छ, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।’ उनले उत्पादन गरेको मह उपहार स्वरुप जापान, अमेरिका, बेलायतलगायतका मुलुकसमेत पुग्ने गरेको छ । वनमा फुल्ने फलफूलको रसबाट बनेको अग्र्यानिक मह भएकाले विदेशमा आफन्तलाई पठाउनेहरूले धेरै खोज्ने गरेको कार्की बताउँछन् ।

०६८ सालदेखि मौरीपालन सुरु गरेका कार्कीले ०७१ सालदेखि व्यवसायका रूपमा अघि बढाइरहेका छन् । आगामी वर्षदेखि मौरी गोला बिक्री गरेर वार्षिक ७ लाख रुपैयाँसम्म आमदानी गर्ने सोचाइ बनाएका छन् । त्यसका लागि उनले अहिले देखि नै मौरीको गोला विस्तार गरिरहेका छन् । आगामी ३ वर्षभित्रमा मौरी गोलाको सङ्ख्या बढाएर ३ सय घार पु¥याउने अभियानमा उनी लागेका छन् । राम्रो सिजन परेको बखत ५० गोला मौरीबाट वार्षिक अढाई क्विन्टल मह उत्पादन हुने गरेको कार्कीले बताए । मौरीसहितको घार बिक्रीबाट राम्रो आमदानी हुने भएपछि कार्कीले अहिले फार्ममै घार बनाउने उद्योगसमेत सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । उत्पादित मह अहिले बजारमा प्रति केजी १ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।  पछिल्लो समय कार्कीले आफ्नो ध्यान पत्रकारितासँगै मह उत्पादन, मौरी गोला विस्तार र रानु उत्पादनमा केन्द्रित गरेको बताए । ‘तेह्रथुमको हावापानी र चरन मौरीपालनका लागि राम्रो छ’ कार्कीले भने ‘यहा मौरी गोला र महको समेत माग उच्च छ ।’ बढी वर्षा हुँदा मौरीका लागि चरनको अभाव हुने भएकाले मह उत्पादनमा गिरावट आउने उनले बताए । मौसममा आधारित खेती भएकाले सधैँभरी एकैनासले मह उत्पादन नहुने कार्कीको भनाइ छ । राम्रो मौसम र सिजन भएका बेला एउटा घारबाट एक पटकमा ७ देखि ८ किलोसम्म मह काढ्न सकिने कार्कीले बताए । मौसम अनुकूल भए एउटा घारबाट वर्षमा ६ पटकसम्म मह निकाल्न सकिने कार्कीको अनुभव छ ।

कार्की सानै देखि मौरी पालनमा रुची राख्थे । सानो छँदा घरमा दुईचार घार मौरी कहिल्यै टुट्दैनथे । थोरबहुत मह पनि घरमा भइरहन्थ्यो । पछि गएर उनले यही व्यवसायलाई बढाएर निरन्तरता दिएका हुन् । पत्रकारिता पेशासँगै बचेको समयमा केही गरौं भन्ने सोचेर सजिलो व्यवसाय छनोट गर्दागर्दै मौरी पालन व्यवसाय अँगाल्न पुगेको उनले सुनाए ।  मौरीपालन विकास शाखा गोदावरी, घरेलु तथा साना उद्योग, ग्रामीण पुनर्निर्माण संस्था आरआरएनलगायतका सङ्घ–संस्थाबाट कार्कीले व्यवसायिक मौरी पालन र गुणस्तरीय मह उत्पादन तालिम पनि लिएका छन् । आफूले जानेको सीप व्यवसायिक मौरी पालन गर्न चाहने किसानलाई सिकाउन उनी पूर्वका जिल्लाभर कुदिरहन्छन् ।  ‘व्यवसायिक मौरी पालनका लागि सीप सिक्नु आवश्यक छ, मैले पनि सिकेरै लागेको हुँ’ कार्कीले भने ‘सीप सिकेर काम गर्ने यो भने यो अन्य पेशा व्यवसाय भन्दा धेरै सजिलो व्यवसाय हो ।’  जिल्ला कृषि विकास कार्यालय, दलित सचेतना समाज नेपाल, आरआरएनलगायतका सङ्घ–संस्थाले दिने तालिममा गएर उनले अहिलेसम्ममा ३ सय बढी किसानलाई व्यवसायिक मौरीपालन तालिम दिएका छन् । मौरीपालन व्यवसायमा उनको लगानी बढेर ६ लाख रुपैयाँ पुगेको छ ।

तर सहयोग कतैबाट पनि नपाएको कार्कीले बताए । लालीगुराँस नगरपालिकाले पराम्परागत घारमा मौरी पाल्दै आएका पार्टी निकटका केही किसानलाई अनुदान रकम दिएको तर आफूलाई एक पैसा पनि सहयोग नदिएको उनले बताए । पछिल्लो समय महसँगै मौरीको गोला सहितको घारको माग बढेको उनले बताए ।  ‘अहिले मौरीपालन व्यवसायमा किसानको आकर्षण निकै बढेको छ,’ उनले भने ‘यो वर्ष मात्र ३ सय जति मौरीसहितको घारको माग थियो, पुर्याउनै सकिएन ।’ मौरी पालन व्यवसायमा चरन र विषादी प्रमुख चुनौती रहेको उनले बताए । किसालने खेतबारीमा छरेको अन्नबालीलाई रोगकिराबाट जोगाउन विषादी छर्ने गरेकाले त्यसको असर मौरी पालन व्यवसायमा परेको उनले बताए । पत्रकारिता र मौरी पालन व्यवसायलाई सँगसँगै लगेका कार्कीको मौरी पालन व्यवसायको सिको गरेर जिल्लामा धेरैले व्यवसायिक मौरी पालन सुरु गरेका छन् ।