ताप्लेजुङ/ताप्लेजुङ सदमुकाम फुङ्लिङमा सडक कुकुरको संख्या बढेसँगै कुकुरको टोकाईका कारण उपचारका लागि आउने विरामीको संख्या पनि थपिएको छ ।

नगरपालीकाले यस अघि सडक कुकुर नियन्त्रणका लागि अभियान चलाए पनि त्यो प्रभावकारी हुन सकेन । जिल्ला अस्पताल ताप्लेजुङमा मासिक सरदर १० देखि १२ जना कुकुरले टोके पछिका विरामी पुग्ने गरेका छन् । यो सँख्या गत आर्थिक वर्षको भन्दा बढ्दै गएको बताईएको छ । उपचारका लागि अस्पताल आउनेमा बढि जसो युवाहरुनै रहेको बताईएको छ । “अस्पतालमा अहिले कुकुरले टोकेका विरामीको वृद्धि हुँदै गएको छ ।” जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल रेर्कडर श्याम राजवशीं भन्छन् “ कुकुरको टोकाईवाट उपचारका लागि जिल्ला अस्पताल आउनेहरु प्रायः युवाहरु नै रहेका छन् ।”  यता जताततै पाईने कुकुरले स्थानियलाई आक्रमण गर्ने गरेको छ । कुकुरले आक्रमण गर्न थालेपछि स्थानिय आतंकित बन्ने गरेका छन् । “मर्निङ्गवाक गर्न निस्कँदा पनि सडकका छाडा कुकुरले भुकेर हत्ते गर्छन् । कहिलेकाहीँ त झम्टिन नै आइपुग्छन्’ आफ्नो अनुभव सुनाउदै फुङलिङ नगरपालिकाका सुवाश लिम्बूले भने, ‘एकपटक झण्डैले मलाई टोकीसकेको थियो, त्यसपछि त बिहान बाहिर निस्कनै छोडें ।”

सडक कुकुरहरु सडक मै बस्ने गरेकाले समेत सवारी साधन चलाउन समेत असहज भएको चालकहरु बताउँछन् । सबैभन्दा बढि मोटरसाईकल चालकहरुलाई समस्या भएको बताईएको छ । बाईक चलाउँदा चलाउँदै सडकमा कुकुरले झम्टिन्छ ।” स्थानिय निमा शेर्पा भन्छन् “नयाँ नयाँ मान्छे त दुर्घटनामा नै पर्ने गरेका छन् ।” छाडा कुकुरलाई नियन्त्रयण गर्ने जिम्मेबारी केन्द्रिय पशु स्वास्थ्य विभागको हो । विभागले कुकुर बन्ध्याकरण तथा रेबिज रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । छाडा चौपायालाई नियन्त्रण गर्ने काम स्थानीय निकायले पनि गर्छ । काठमाडौं महानगरपालिकाले पनि समय समयमा कुकुर नियन्त्रणको लागि कदम उठाउने गरेको छ । तर यो काम प्रभावकारी हुन सकेको छैन ।

यस अघि जथाभावि सडकमा छोडिएका कुकुरको आतंक बढेपछि फुङलिङ नगरपालिकाले पनि त्यसको व्यावस्थापनको लागि केहि काम समेत गर्यो । त्यो प्रभावकारी भएन । अहिले भुस्याहा कुकुर व्यवस्थापन प्रमुख चुनौति बनेको छ । तर अझैपनि प्रयास जारी राखेको नगरपालिका बताउँछ ।

कुकुर को व्यवस्थापनको लागि बन्ध्याकरण नै उपयोगी उपाय भएकाले त्यस तर्फ नगरपालिकाले काम गरिरहेको फुङलिङ नगरपालीकाका उपमेयर बमबहादुर भट्टराई ताराले बताए । “भुस्याहा कुकुर नगरपालिकाको मुख्य चुनौती हो ।” उपमेयर भट्टराई भन्छन् “हामीले यस्को व्यवस्थापनको लागि यसअघि पनि अभियान त थाल्यौँ । तर त्यो प्रभावकारी भएन ।”  “भुस्याहा कुकुर व्यवस्थापनको लागि वन्ध्याकरण नै उपयोगी तरिका रहेछ ।” उपमेयर भट्टराईले भने “हामी त्यस तर्फ योजना वनाएर लागेका छौँ ।”कुकुरले टोकेपछि उपचारमा ध्यान नदिँदा झनै जटिल समस्या पनि उत्पन्न हुने गरेको छ । सदरमुकाम वाहिरका गाउँहरुमा त झनै जंगली जनावारहरुको आक्रमणको घटना समेत वृद्धि हुँदै गईरहेको छ ।