इटहरी । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरछेउमा बस्दै आएका दिनेश खड्का मङ्गलबार छोराछोरीको एकसाथ मृत्यु भएपछि विरक्तिएका छन् । गत माघमा भारतबाट नहरको डिलमा बनाएको झुपडीमा बस्दै आएका खड्काले छोराछोरी नै ज्यान लिएपछि उनी विरक्तिएका हुन् । ११ वर्षीया सिर्जना र ९ वर्षीय अश्विनलाई बगाएको थियो । दुईजनाकै मृत्यु भएपछि उनलाई दैवले पनि ठग्नु ठगेको छ । एक वर्षअघि श्रीमती अर्कोसँग हिँडेको दुःख भुल्न नसकेका उनको लागि छोराछोरीको मृत्युले बज्रपात परे झैं भएको छ । मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका खड्का शोकाकुल छन् । मृतक बालबालिकाका हजुरआमा ज्ञानु खड्का भन्छिन्, ‘जिन्दगीमा चोटमाथि चोट लाग्यो । हामीलाई समयले मात्रै हैन, भगवानले पनि ठगे ।’ मङ्गलबारदेखि उनको आँखाको आँशु थामिएको छैन । खड्काले मात्रै हैन, नहरको डिलमा बस्ने धेरै परिवारले परिवारका सदस्य गुमाइसकेका छन् । गत जेठ २७ गते यामबहादुर दमाईको नहरमै डुबेर ज्यान गएको थियो । ‘त्यो बेला दमाईको शव एकदिनभरि खोज्दा पनि फेला परेन’ –मृतक दमाईका भाइ सन्तोषले भने । मृतक यामबहादुरको श्रीमतीको पनि ७ वर्षअघि त्यही नहरले ज्यान लगेको थियो । ‘खै के गर्नु, यहाँ बस्नुको विकल्प पनि छैन । बस्दा पनि दाजु भाउजू गुमाइयो’ –निराश हुँदै उनले भने । झुम्का क्षेत्रीय कारागार अगाडि ६ वर्षअघि सञ्जुमाया तामाङले पनि ज्यान गुमाएकी थिइन् । मृतकका श्रीमान् गोपाल तामाङका अनुसार श्रीमतीको शव सातदिनपछि मोरङको नेताचोकमा भेटिएको थियो । नहरमा १० वर्षयता दर्जनौं बगिसकेको गोपाल बताउँछन् । २०५२ सालमा यात्रुवाहक एक बस नहरमा खस्दा झण्डै दुई दर्जनले ज्यान गुमाएका थिए । २०६३ वैशाख २६ गते विद्यार्थी बोकेको टेम्पो दुर्घटना हुँदा ३२ विद्यार्थीमध्ये १३ जना बालबालिकाको मृत्यु भयो । १३ स्कुले बालबालिका चढेको टेम्पो दुर्घटनामा मृत्यु भएपछि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झुम्का–चतरा खण्डको पूर्वीतर्फ कङ्क्रिटको बार लगाउने घोषणा गरेका थिए । १३ बालबालिकाको नहरमा डुबेर मृत्यु भएपछि लामो समयसम्म यो मार्ग बन्दै भयो तर अहिलेसम्म बाटो मर्मतसम्म भएको छैन । २०६८ कार्तिक २५ गते बिहीबार बिहान तीर्थयात्री बोकेको ट्याक्टर नहरमा खस्दा एकै परिवारका ५ सहित १८ जनाको मृत्यु भएको थियो । झुम्कादेखि चतरासम्म कतै पूर्वी र कतै पश्चिमी क्षेत्र खुला रहेकाले दशकयता यो सडक–खण्डमा करिब ६० सर्वसाधारणको मृत्यु भइसकेको छ । झुम्का–चतरा खण्डको लम्बाइ झण्डै १५ किलोमिटर र चौडाइ सरदर ३० फिट छ । सडकमा खाल्डाखुल्डी छन् । यो मार्ग भोजपुर, धनकुटा जाने यात्रु र विष्णुपादुका, वराहक्षेत्र, चतराधाम धार्मिक क्षेत्रमा तीर्थाटनमा जाने धर्मावलम्बीको प्रमुख मार्ग हो ।