दमक । आर्थिक वर्ष ०७४÷७५ मा एक्सेल विकास बैङ्कले १५ करोड ६६ लाख मुनाफा ग¥यो । अघिल्लो वर्ष यो बैङ्कले १५ करोड ४ लाख नाफा गरेको थियो । गत वर्ष नै झण्डै ८० प्रतिशत पुँजी वृद्धि गरेको एक्सेलले गतवर्ष आफ्नो नाफामा खासै वृद्धि गर्न सकेन । वर्षमा उसले ६६ लाखमात्र नाफा बढायो । मितेरी विकास बैङ्कले त अघिल्लो वर्ष भन्दा गत वर्ष ८२ लाख कम नाफा कमाएको छ । उसले गत वर्ष ११ करोड २९ लाखमात्र नाफा कमायो । अघिल्लो वर्ष यो बैङ्कले १२ करोड ११ लाख कमाएको थियो । मितेरीले जस्तै सिर्जना फाइनान्सले गत वर्ष अघिल्लो वर्षभन्दा कम नाफा गरेको छ । अघिल्लो वर्ष १३ करोड २६ लाख नाफा गरेको यो फाइनान्सले गत वर्ष १२ करोड २१ लाख नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा यसले १ करोड ५ लाख कम नाफा गरेको देखिन्छ ।

यी बैङ्क र फाइनान्स कम्पनीले केही दिन अघि सार्वजनिक गरेको आर्थिक वर्ष ०७४÷७५ को वार्षिक रिपोर्ट हेर्ने हो भने त्यति सन्तोषजनक देखिँदैन । एक्सेलले थोरै मात्रामा नाफा वृद्धि गरेको देखिन्छ भने मितेरी र सिर्जनाको नाफा केही घटेको देखिएको छ । व्यवस्थापन र नाफा वृद्धिमा देशभरिमै अब्बल भनेर कहलिएका ३ जिल्ले बैङ्कका रूपमा रहेको मितेरी र एक्सेलले गत आर्थिक वर्षमा गरेको नाफाको आँकडालाई आधार मानेर हेर्दा प्रदेश नं. १ का अन्य विकास बैङ्क र फाइनान्स कम्पनीको नाफामा असर गरेको पुष्टि हुन्छ । पछिल्ला वर्षहरूमा तरलता सङ्कट, सीसीडी रेडियो, स्प्रेडदर घटाइनु, ब्याजदरमा उतारचढाव, शाखा विस्तार र कर्मचारी खर्चमा अधिक खर्चका कारण यहाँका बैङ्क र फाइनान्सहरूको नाफामा सुस्तता आएको हो । धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी, विराटनगर केन्द्रीय कार्यालय रहेको सिर्जना फाइनान्स र बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेलले स्थानीय स्तरदेखि राष्ट्रियस्तरका लगानीकर्ता र राम्रो व्यवस्थापन भएका संस्था हुन् । यी बैङ्क भन्दा प्रदेश नं. १ का ३ जिल्ले कार्यक्षेत्र भएका दमकको कन्काई विकास बैङ्क, विराटनगरको सप्तकोशी विकास बैङ्क र धनकुटाको कावेली विकास बैङ्कले अघिल्लो वर्षको तुलनामा नाफाको वृद्धिदर केही मात्रामा बढी छ । अघिल्लो वर्षभन्दा वचत र ऋण लगानी बढाएको तुलनामा नाफामा सामान्य वृद्धिमात्र देखिएको छ । नाफा घटेपछि उनीहरूको जगेडाकोष, प्रतिशेयर आम्दानी जस्ता मुख्य सूचकहरूमा सङ्कुचन आएको छ । नाफा घटेसँगै लगानीकर्ताले पाउने प्रतिफलमा पनि स्वतः असर पर्ने देखिएको छ । तरलता सङ्कटलगायतका कारणले नाफामा असर परेको स्वयम् बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूले स्वीकार गरेका छन् । तर उनीहरूले लगानीकर्तालाई दिने प्रतिफल राष्ट्रिय स्तरका विकास बैङ्कहरूभन्दा राम्रो रहेको दावी गरेका छन् । मुख्यतः तरलताको समस्यासँगै सिसिडी रेडियो, स्प्रेडदर घट्नु, ब्याज खर्च बढ्नु, शाखा विस्तार खर्च र कर्मचारी खर्च बढ्नु, राष्ट्र बैङ्कका कडाइका कारण नै नाफा वृद्धिदर सुस्त रहेको उनीहरूले बताए । वचत र मुद्धतिमा दिने ब्याज अत्यधिक बढेको कारण मुख्यतः नाफामा असर परेको उनीहरूले उल्लेख गरे । ब्याजखर्च अत्यधिक बढेको तर त्यसको तुलनामा ब्याज आम्दानी बढ्न नसकेको कारण गत वर्ष बैङ्कको नाफामा सामान्य वृद्धि भएको एक्सेलका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले स्वीकारे । नाफा बढ्न नसक्नुमा शाखा विस्तार र कर्मचारी व्यवस्थापनमा पनि खर्च बढ्नु पनि थप कारण भएको पोखरेलले उल्लेख गरे । गत वर्ष मात्र एक्सेलले ६ ओटा शाखा खोलेको थियो । वचत र ऋण लगानी बढाएपछि एक्सेलले पुँजी वृद्धिको तुलनामा नाफा बढाउन सकेको देखिँदैन । ६९ करोड चुक्ता पुँजी भएको एक्सेलले ५ अर्ब २३ करोड निक्षेप सङ्कलन गरेर ४ अर्ब २९ करोड लगानी गरी गत वर्ष १५ करोड ६६ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ६२ करोड निक्षेप सङ्कलन गरेर ३ अर्ब ८२ करोड लगानी गर्दा १५ करोड बढी नाफा कमाएको थियो । ३८ करोड चुक्ता पुँजी भएको एक्सेलले अघिल्लो वर्षको नाफाबाट ३१.७१ प्रतिशत शेयर बोनस र ५० प्रतिशत हकप्रद दिएर ६९ करोड पुँजी पु¥याएको थियो । ८० प्रतिशतभन्दा धेरै पुँजी वृद्धि गरेपनि त्यसको तुलनामा एक्सेलले गत वर्षको नाफामा सामान्य वृद्धिमात्र गरेको छ । अन्य सूचक घटेपनि एक्सेलको जगेडाकोष भने आकर्षक छ । अघिल्लो वर्ष २३ करोड ३५ लाख भएको उसको जगेडा कोषमा २६ करोड ८३ लाख सञ्चित छ । जगेडा कोष बलियो भयो भने मात्रै बैङ्कले बोनस दिन सक्छ । जगेडा कमजोर हुँदा नाफा बाँड्न सक्दैन । मितेरीका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीले वचत र मुद्धतिको ब्याज खर्च बढेको तुलनामा ब्याज आम्दानी बढाउन नसक्दा नाफामा असर गरेको उल्लेख गरे । राष्ट्रियस्तरका अन्य बैङ्कको कार्यक्षेत्र बृहत हुने भएपनि मितेरी ३ जिल्लामा सिमित हुँदा लिने ब्याजदर बढाउन नसकिएको वस्तीले बताए । मितेरीले पुराना ग्राहकलाई बढेको तुलनामा ब्याजदर नबढाएको उनले दाबी गरे । मितेरीले अघिल्लो वर्षभन्दा कम नाफा गरेको छ । अघिल्लो वर्ष १२ करोड ११ लाख कमाएको मितेरीले गतवर्ष ८२ लाख कम नाफा गरेको वित्तीय विवरणमा उल्लेख छ । मितेरीले पनि एक्सेल जस्तै निक्षेप र कर्जा बढाए पनि नाफामा वृद्धि गर्न सकेको छैन । अघिल्लो वर्ष २ अर्ब ८८ करोड निक्षेप सङ्कलन गरी २ अर्ब २७ करोड लगानी गर्दा १२ करोड ११ लाख कमाएको मितेरीले गत वर्ष ३ अर्ब ८१ करोड निक्षेप सङ्कलन गरी ३ अर्ब ८ करोड लगानी गर्दा ११ करोड २९ लाखमात्र नाफा कमाएको छ । उसको २१ करोड ३९ लाखको जगेडा कोषमा सामान्य घटेर गतवर्ष १९ करोड ९३ लाख सञ्चित छ । राष्ट्र बैङ्कले राष्ट्रियस्तरका विकास बैङ्कसँगै राखेर ३ जिल्ले विकास बैङ्कलाई पनि स्प्रेडदरमा कडाइ गरेपछि त्यसको असर ३ जिल्ले बैङ्कमा देखिएको कन्काई विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले बताए । राष्ट्रिय स्तरका बैङ्कको दाँजोमा राखेर क्षेत्रीय बैङ्क र फाइनान्सलाई आउँदो मसान्तसम्म स्प्रेडदर ५ प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ । स्प्रेडदर घटाउँदा राष्ट्रियस्तरका विकास बैङ्क र फाइनान्स खासै असर नगरे पनि क्षेत्रियस्तरका बैङ्क र फाइनान्सलाई धेरै असर गर्ने बज्राचार्यले उल्लेख गरे । स्पे्रडदर घट्नु, तरलता सङ्कट, ब्याजखर्च, शाखाविस्तार र कर्मचारी खर्च बढ्दा कन्काइले अघिल्लो वर्षभन्दा सामान्य रूपमा नाफा बृद्धि गरेको छ । अघिल्लो वर्ष ३ करोड ७८ लाख नाफा गरेको कन्काइले गत वर्ष ४ करोड ४५ लाख नाफा गरेको छ । ५० करोड चुक्ता पुँजी रहेको कन्काइको जगेडा कोषमा ९ करोड छ । विराटनगरका प्रतिष्ठित ब्यवसायीको लगानी रहेको सिर्जनाफाइनान्सले अघिल्लो वर्षभन्दा १ करोड ५ लाख घटेर १२ करोड २१ लाख कमाएको विवरणमा उल्लेख छ । ४० करोड पुँजी रहेको यसको पुँजीको आधारमा यो नाफा राम्रो नै मान्न सकिन्छ । २० करोड जगेडा कोषमा रहेको सिर्जनाको खराबकर्जा भने केही बढी छ । उसको खराबकर्जा १.२५ प्रतिशत छ । अन्यको तुलनामा नाफाको वृद्धिदर भने सप्तकोशी विकास बैङ्कको राम्रो छ । अघिल्लो वर्ष २ करोड ३५ लाख नाफा गरेको सप्तकोशीले गत वर्ष ३ करोड ७० लाख नाफा गरेको छ । ५० करोड ८ लाख चुक्ता पुँजी भएको यसको जगेडा कोष भने कमजोर छ । यसको जगेडा कोषमा ५ करोड ८६ लाखमात्र छ । धनकुटामा केन्द्रीय कार्यलय रहेको कावेली विकास बैङ्कले अघिल्लो वर्ष कमाएको २ करोड ६० लाखमात्र कमाएको छ । तेह्रथुमको माउन्ट मकालु बैङ्कलाई मर्ज गरेको कावेलीको जगेडाकोष झनै कमजोर छ । यसको जगेडा कोषमा १ करोड १ लाखमात्र सञ्चित छ । पूर्वमा नाफा धेरै बाँड्न सक्नेमा एक्सेल, मितेरी बैंक र सिर्जनाफाइनान्स अग्रपङ्क्तिमा छन् । प्रतिशेयरको आम्दानीका हिसाबले सिर्जनाले २५ प्रतिशतसम्म दिनसक्ने अवस्था छ भने एक्सेल र मितेरीले १८ देखि २० प्रतिशत दिन सक्ने अवस्था छ । सिर्जनाको प्रतिशेयर आम्दानी ३०.४९ छ भने एक्सेल र मितेरीको क्रमशः २२.६१ र २२.५९ छ । आर्थिक वर्ष सकिएको ३० दिनभित्र चौमासिक प्रतिवेदन सार्वजनिक गर्न पाउने प्रावधानअनुसार अहिले बैङ्क, फाइनान्स, बिमा, लघुबित्तलगायतका बित्तीय संस्थाले प्रतिवेदन सार्वजनिक गरिरहेका छन् । प्रतिवेदन सार्वजनिक गरेपछि नाफाबाट क्षमताअनुसार बोनस घोषणा गर्छन् ।