धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यवसायिक रूपमा ‘एभोक्याडो’ खेतीको विस्तार हुन थालेपछि धनकुटा नगरलाई ‘एभोक्याडोको राजधानी’ घोषणा गरिएको छ । सुन्तलाको लागि नाम कहलिएको धनकुटा जिल्लामा पछिल्लो समय अन्य नयाँ फलफूलतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । जसमध्ये एभोक्याडो पहिलो श्रेणीमा परेकाले राजधानी घोषणा गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । नगरसभाले मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत एभोक्याडोको राजधानी र ड्रागनफलको विशेष पकेटक्षेत्र औपचारिक रूपमा पारित गरेर कार्यक्रम अघि बढाइएको प्रमुख तामाङले जानकारी दिए । एभोक्याडो र ड्रागनफलको राजधानी तथा विशेष पकेटक्षेत्र घोषणा गर्नुअघि धनकुटा नगरपालिकाका कृषिविज्ञ जीवन राईलगायत कृषिविज्ञले पकेट क्षेत्रको स्थलगत अवस्थाबारे अध्ययन गरेका थिए । धनकुटा नगरपालिका–१ देखि १० सम्मका विभिन्न वडामा ३५ देखि ४० हजार बढी एभोक्याडोको बिरुवा हाल नगरक्षेत्रका कृषकहरूले रोपेका छन् । धनकुटा नगरपालिका क्षेत्रमा वार्षिक रूपमा ९० मेट्रिकटन एभोक्याडो उत्पादन हुने गरेको जनाइएको छ । नगर क्षेत्रभित्र ३ हजार ७ सय ६४ एभोक्याडोको बोटबाट फल उत्पादन भइरहेको छ । वार्षिक रूपमा ७७ हजार ७ सय ५० केजीभन्दा बढी एभोक्याडो उत्पादन भएको छ भने यसबाट कम्तिमा एक करोड बढीको कारोबार हुने गरेको छ । धनकुटा नगरपालिका क्षेत्रलाई एभोक्याडोको राजधानी घोषणा गरिएपछि अब कम्तिमा यो वर्ष एक लाख एभोक्याडो १४ हजार बिरुवा रोप्नका लागि कृषकलाई अग्रसर गराइने भएको छ । आगामी ५ वर्षभित्र धनकुटा नगरपालिका क्षेत्रमा १ लाख एभोक्याडो बिरुवा रोपिसक्ने पनि नगरपालिकाले कार्ययोजना अघि सारेको छ । आ.व. ०७५÷७६ सालदेखि नै एभोक्याडोको फल दिन सक्ने रुखको सङ्ख्या ८ हजार ५ सय ९४ रहेको छ भने १२ हजार ३ सय ५५ बोटले उत्पादन दिने गरेको नगरपालिकाले जनाएको छ । नगरक्षेत्रका १ हजार ९ सय ६२ परिवारले व्यवसायिक रूपमा एभोक्याडोको खेतीबाट आम्दानी हात पार्दै आएका छन् भने ३ हजार २ सय ३४ परिवारले थप एभोक्याडो खेतीमा लाग्ने भएका छन् । नगरपालिका भित्र रहेका ९ हजार ४ सय ६० घर परिवार यसबाट लाभान्वित हुने नगरपालिकाले जनाएको छ । हिजोआज भने धनकुटा नगरपालिका वडा नं. ३, ४ र ५ मा एभोक्याडोको व्यवसायिक खेती शुरु भएको छ । मेयर कृषि पर्यटन कार्यक्रमको अनुगमनको क्रममा यस्तो पाइएको हो । अनुगमनको क्रममा धनकुटा–३ का डा. दामोदर वाग्लेले आफ्नो १० रोपनी बारीमा २० ओटा बोटमा एभोक्याडो फल फल्ने गरेको बताएका छन् । फल्न आँटेका ४० बोट रहेको र आ.व. ०७३÷७४ मा ३ लाख ५० हजार मूल्य बराबरको बिक्री गरेको डा. वाग्लेले बताए । विगत १५ वर्षदेखि उनले एभोक्याडोको खेती गर्दै आएका छन् । उनले यसको विशेषता भनेको लामो समयसम्म फल टिप्न पाइने र हत्तपत्त नझर्ने भएकाले फाइदा हुने गरेको बताए । किसानले असोज कार्तिकदेखि ६ महिनासम्म एभोक्याडो टिप्ने गरेको वाग्लेले बताए । पहिले–पहिले मूल्य थिएन तर हिजोआज राम्रो मूल्य आएकाले आफूलाई एभोक्याडोको खेतीमा राम्रै आम्दानी हुनेमा ढुक्क लागेको वाग्लेले बताए । त्यसैगरी वाग्लेका भतिजा गोविन्द वाग्लेले पनि आफ्नो ५ रोपनी जग्गामा ७ वर्ष अघिदेखि एभोक्याडोको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको बारीमा ४० बोट एभोक्याडो फल्ने तयारीमा छन् भने १० ओटा बोटमा फल दिन थालेको छ । उनले यो वर्ष मात्र ४ क्विन्टल एभोक्याडो प्रतिकेजी रूखैमा ३ सय ५० का दरले बिक्री गरेको बताए । उनले एभोक्याडो बिक्री गर्न टाढा जानु नपर्ने ग्राहक घरैमा आउने गरेका छन् । उनले धनकुटाको एभोक्याडो काठमाडौं, पोखरा, विराटनगर, धरानलगायत विभिन्न शहरमा जानेको बताए । धनकुटा बजारसम्म निकाल्दा पनि प्रतिकेजी ५ सय ५० देखि ५ सय ५० सम्ममा बिक्री हुने गरेको गोविन्दको अनुभव छ । उनले एभोक्याडो खेतीमा नगरपालिकाले ध्यान दियो, यो धनकुटा नगरको किसानहरूको भाग्य र भविष्यसँग गाँसिएको कार्यक्रम भएकाले यो कार्यक्रम भविष्यमा गएर प्रभावकारी हुने बताए । अर्का एभोक्याडोका पुराना व्यावसायिक कृषक गोपाल वाग्लेले सबैभन्दा पहिले धनकुटामा एभोक्याडोको फल पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा फलेको बताउँछन् । उनले वि.सं. ०४७÷४८ सालताका गोराहरूले पाख्रिबास कृषि केन्द्रभित्र एभोक्याडो फलाएको र त्यहाँबाट धनकुटामा एभोक्याडो फल फैलिएको बताएका छन् । उनले वि.सं. ०५५÷५६ सालमा आफ्नै बारीमा फल फलाएर बिक्री गर्न थालेको बताए । ०५५ सालमा १० रुपैयाँमा नबिक्ने फल २० वर्षपछि धनकुटामा ५–६ रुपैयाँमा बिक्री हुन थालेको वाग्लेको भनाइ छ । शुरु–शुरुमा कसैले पनि खान जानेका थिएनन्, अहिले सबैले खान जानेकाले महँगो भएको हो । एभोक्याडोको व्यावसायिक खेती गर्नसके जोकोही आत्मनिर्भर बन्न सक्ने उनी बताउँछन् । धनकुटा–३ वाग्ले गाउँजस्तै धनकुटा नगरपालिकाका अन्य वडा नं.१, २, ४, ५, ६, ७, ८, ९ र १० पनि एभोक्याडोको व्यावसायिक खेतीतर्फ कृषक आकर्षित भएका छन् ।