तेह्रथुम । तरकारीमा विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यलाई असर पर्ने थाहा पाएपछि तेह्रथुमका किसान विषादी प्रयोगको उचित व्यवस्थापन गर्न अग्रसर भएका छन् । जिल्ला कृषि विकास कार्यालयले तरकारीमा विषादीको प्रयोग र मानव स्वास्थ्यमा पर्ने असरबारे कृषक पाठशाला र विभिन्न गोष्ठीमार्फत सचेतना फैलाएपछि तरकारी उत्पादक किसानहरू विषादी न्यूनीकरण गर्न हौसिएका हुन् । सुरक्षित र भरपर्दो बजारको अभावसँगै अस्वस्थ्य व्यापारिक प्रतिस्पर्धाले बिहानै विषादी छर्केर तरकारी बजारसम्म ल्याउन छाडेको तरकारी व्यापारी तिलकुमार श्रेष्ठले बताए । विगत १ दशक अगाडिदेखि आफ्नै लगानीमा व्यावसायिक तरकारी खेती गर्दै आएका श्रेष्ठले समेत सबै कृषकले विषादीको प्रयोग गर्न छाडेकामा खुसी व्यक्त गरे । ‘विषादी कम प्रयोग भएपछि तरकारी उत्पादन गर्ने कृषक र तरकारी उपभोग गर्नेलाई समेत फाइदा पुगेको छ ।’ उनले भने । आईपीएम कृषक पाठशाला सञ्चालन भएपछि आफूसँगै समुहका पदाधिकारीलाई विषादी प्रयोगका बारेमा ज्ञान प्राप्त भएको सिद्धार्थ आईपीएम कृषक पाठशालाका अध्यक्ष सारदा कोइरालाले बताइन । ‘पाठशाला सञ्चालन हुनु अघि सबैले बजारमा पाइने विभिन्न विषादी प्रयोग गरेर धेरै वस्तु उत्पादन गर्दथे, अहिले स्वच्छ तरकारी उत्पादन हुन थालेको छ ।’ उनले भनिन् । पाठशालामा आउन थालेपछि काउलीमा लाग्ने रोगहरूको परीक्षण यसको उपचारविधिलगायतमा जानकारी पाएको समुहका सदस्य सोमनाथ निरौलाले बताए । स्थानीय स्तरमा प्रयोग गरिने विषादीको तयारी र यसको उपयोगका बारेमा सबै कृषकलाई जानकारी भएको समूहका सदस्य निरौलाले दाबी गरे । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा सञ्चालित आईपीएम पाठशालाको लागि चाहिने जग्गा स्थानीय निरौलाले निशुल्क दिएका थिए । सदरमुकाम नजिकै रहेको पिप्लेलाई तरकारीको पकेट क्षेत्रको रूपमा लिइने गरेपछि यस क्षेत्रमा आईपीएम कृषक पाठशाला सञ्चालन गरी विषादीको बारेमा कृषकलाई जानकारी गराइएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । पछिल्लो समय जिल्लामा रहेको सरकारी कार्यालयमात्र होइन गैरसरकारी संस्थाहरूले पनि विषादी प्रयोग गर्न नहुने बारेमा जानकारी गराएकाले फेदाप र छथरक्षेत्रका विभिन्न वडामा समेत विषादी प्रयोगको व्यवस्थापनमा अग्रसर हुन थालेको कृषि कार्यालयले जनाएको छ ।