ताप्लेजुङ । सडक (छाडा) कुकुर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा रेबिजको सङ्क्रमणको खतरा बढ्दो छ । यसअघि नगरपालिकाले सडक कुकुर नियन्त्रणमा चासो देखाए पनि प्रभावकारी कार्यान्वयन नहुँदा रेबिजको खतरा बढेको हो । जिल्ला अस्पताल ताप्लेजुङमा मासिक १० देखि १२ जना बिरामी कुकुरको टोकाइका कारण पुग्ने गरेका छन् । यो संख्या गत आर्थिक वर्षभन्दा बढ्दै गएको तथ्याङ्क छ । ‘अस्पतालमा अहिले कुकुरले टोकेका बिरामीको वृद्धि हुँदै गएको छ’ जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल रेकर्डर श्याम राजवंशी भन्छन्, ‘कुकुरको टोकाइबाट उपचारका लागि जिल्ला अस्पताल आउनेहरू प्रायः युवाहरू नै छन् ।’ छाडा कुकुरले स्थानीयमाथि आक्रमण गर्ने गरेको छ । कुकुरको टोकाइका कारण स्थानीय आतङ्कित बन्ने गरेका छन् । ‘मर्निङवाक गर्न निस्कँदा पनि सडकका छाडा कुकुरले भुकेर हत्ते गर्छन् । कहिलेकाहीँ त झम्टिन नै आइपुग्छन्’ आफ्नो अनुभव सुनाउँदै फुङ्लिङ नगरपालिकाका सुवास लिम्बूले भने, ‘एकपटक झण्डैले मलाई पनि टोकिसकेको थियो, त्यसपछि त बिहान बाहिर निस्कनै छोडेँ ।’ भुस्याहा कुकुरहरू सडकमै बस्ने गरेकाले सवारी साधन चलाउनसमेत असहज भएको चालकहरू बताउँछन् । सबैभन्दा बढी मोटरसाइकल चालकहरूलाई समस्या गराउने गरेको छ । ‘बाइक चलाउँदा चलाउँदै सडकमा कुकुरले झम्टिन्छ’ स्थानीय निमा शेर्पा भन्छन्, ‘नयाँ–नयाँ चालक त दुर्घटनामा नै पर्ने गरेका छन् ।’ छाडा कुकुरलाई नियन्त्रण गर्ने जिम्मेवारी केन्द्रीय पशु स्वास्थ्य विभागको हो । विभागले कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । छाडा चौपायालाई नियन्त्रण गर्ने काम स्थानीय निकायले पनि गर्छ । यसअघि जथाभावी सडकमा छोडिएका कुकुरको आतङ्क बढेपछि फुङ्लिङ नगरपालिकाले पनि त्यसको व्यवस्थापनको लागि केही कामसमेत ग¥यो । त्यो प्रभावकारी भएन । अहिले सडक कुकुर व्यवस्थापन प्रमुख चुनौती बनेको छ । कुकुरको व्यवस्थापनको लागि बन्ध्याकरण नै उपयोगी उपाय भएकाले त्यसतर्फ नगरपालिकाले काम गरिरहेको फुङ्लिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले बताए । ‘छाडा कुकुर नगरपालिकाको मुख्य चुनौती हो’ उपमेयर भट्टराई भन्छन्, ‘हामीले यसको व्यवस्थापनको लागि यसअघि पनि अभियान त थाल्यौँ । तर त्यो प्रभावकारी भएन ।’ ‘छाडा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण नै उपयोगी तरिका रहेछ’ उपमेयर भट्टराईले थपे, ‘हामी त्यसतर्फ योजना बनाएर लागेका छौँ ।’