
विराटनगर/मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने ‘कोलिफर्म’ कीटाणु भेटिएको उद्योगको प्रशोधित पानी जफत गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले शुक्रबार बजार अनुगमन गरी ‘कोलिफर्म’ भेटिएको उद्योगको पानी जफत गरेको हो । खाद्यले ल्याव परीक्षण गर्दा ११ वटा उद्योगको प्रशोधित पानीमा कोलिफर्म भेटिएको थियो ।


कोलिफर्म भेटिएकोमध्ये सबैभन्दा बढी बजारमा रामप्रसाद साहले विराटनगर–८ मा सञ्चालन गरेको ‘शीतल जल’ उद्योगको ‘सितल जल’ बजारमा छ्यापछ्याप्ती देखिएको खाद्य निरीक्षक आचार्यले बताए । अनुगमनको क्रममा कोलिफर्म देखिएको सितल जल ४ सय ४७ बोतल पानी विभिन्न पसलबाट जफत गरिएको थियो । त्यस्तै कोलिफर्म भेटिएको ‘जोनसन एकुवा’, हाइमल, श्री जल, इभान एचटु पानी’ समेत बजारमा प्रशस्त भेटियो । अनुगमन टोलीले पङ्कज कर्णले विराटनगर –१४ मा सञ्चालन गरेको जोनसन जल उद्योगको ‘जोनसन अकुवा’ १ सय ९८ बोतल, विराटनगर–१० मा रक्षा र विनोद आचार्यले सञ्चालन गरेको हाइमल उद्योगको ‘हाइमल पानी’ २४ वटा र रामविलास साहले विराटनगर–२ मा सञ्चालन गरेको तिरुपति जल उद्योगको ‘श्रीजल’ को जार जफत गरेको छ । उनीहरुले उत्पादन गर्ने पानीमा कोलिफर्म भेटिएकोले जफत गरिएको हो ।

जफत गरेको पानी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा राखिएको छ । ‘बजारमा बिक्री वितरण भइरहेको कोलिफर्म भेटिएका पानी जफत गर्न लागिपरेका छौं’ खाद्य निरीक्षक अर्यालले भने, ‘यो अभियान शुक्रबारदेखि शुरु भएको छ । कोलिफर्म भेटिएको पानी बजारबाट नसकिएसम्म हाम्रो अनुगमन जारी रहनेछ ।’ कोलिफर्म भेटिएको पानी बजारबाट जफत गरी खाद्यले नष्ट गर्ने भएको छ । बजारमा विराटनगरको १० वटा र मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको एक गरी ११ वटा उद्योगको पानीमा कोलिफर्म भेटिएको थियो । जसमा किशनकुमार रायले विराटनगर–१३ मा सञ्चालन गरेको श्री जल उद्योगको ‘सूर्य जल’, रामप्रसाद साहले विराटनगर–८ मा सञ्चालन गरेको शीतलजल उद्योगको ‘शीतल जल’, रामविलास साहले विराटनगर–६ मा सञ्चालन गरेको पूजाफूड एण्ड बेभरेज प्रालिको ‘क्वा पूजा’, सुमित साहले विराटनगर–११ मा सञ्चालन गरेको माउण्टेन वाटर उद्योगको ‘माउण्टेन’ पानीमा कोलिफर्म भेटिएको हो । त्यस्तै डिपल शर्माले विराटनगर–१२ मा सञ्चालन गरेको दिव्यश्री जल उद्योगको ‘इभान एचटु’, सुरेन्द्र लगरवारले बूढीगङ्गा गाउँपालिका–१ टङ्की सिनवारीमा सञ्चालन गरेको शुभजल उद्योगको ‘शुभजल’ पानीमा कोलिफर्म भेटिएको थियो ।
सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य अनुज्ञापत्र बेगर सञ्चालन र वर्षौंदेखि अनुज्ञापत्र नवीकरण नभएको ६ वटा पानी उद्योगमा सिलबन्दी गरिएको थियो भने २० वटा उद्योगहरुको पानी परीक्षणका लागि नमूना सङ्कलन गरिएको थियो । नमूना सङ्कलन गरिएका २० मध्ये ११ वटा उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको थियो ।
