चक्रघट्टी/ सप्तकोशीको तटीय क्षेत्रमा रहेको हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र वराहक्षेत्र मन्दिर पछिल्लो पाँचवर्षदेखि कटानको उच्चजोखिममा परे पनि संरक्षणमा कसैको ध्यान जान सकेको छैन ।
सागरमा डुब्न लागेको पृथ्वीलाई भगवान विष्णुले वराह (बँदेल) को रूप धारण गरी बचाएको स्थानका रूपमा परिचित वराहक्षेत्र मन्दिर यतिखेर आफै डुब्न लागेको छ । जहाँ हिन्दु धर्मावलम्बीहरू श्रद्धाका साथ पूजाअर्चना गर्छन् । पछिल्लो पाँच वर्षयता मन्दिर जोखिममा परेको छ । सरकारी निकायको ध्यान नजाँदा वराहक्षेत्र मन्दिर बचाउनका लागि भगवान विष्णुले फेरि अर्को रूप धारण गर्नुपर्ने हो कि भन्ने प्रश्न उब्जिएको छ । २०७२ सालको विनाशकारी भूकम्प र वर्षेनी कोशी कटानले वराहक्षेत्र मन्दिर जोखिममा पर्न थालेको पुजारी योगेश भण्डारी बताउँछन् । उनी वराहक्षेत्र संरक्षण मञ्चका सल्लाहकारसमेत हुन् । २०४५ सालको भूकम्पले भत्काएको पर्खाल नै १२ वर्षपछि बनेको जानकार बताउँछन् । यहाँ पूजाआजाका लागि नेपाल, भारत, भुटान, म्यान्मारसम्मका भक्तजनहरू आउने गरेको उनी बताउँछन् । कटानले मन्दिरसँगै मन्दिर आसपासका बस्ती पनि जोखिममा छ । त्यति मात्रै हैन, उचित व्यवस्थापनको अभावमा मन्दिरसमेत जीर्ण बनिरहेको स्थानीय रूपा मगर बताउँछिन् । कटानका कारण वर्षायाममा वर्षेनी त्रासमा बस्नु परेको उनले गुनासो पोखिन् । १९९४ मा राणा प्रधानमन्त्री जुद्धशमशेरले भक्तजनका लागि नुहाउन तथा खानेपानीका लागि निर्माण गरिदिएको स्थल वर्षाको समयमा डुब्ने गरेको छ । वराहक्षेत्र संरक्षण मञ्चका सदस्य भक्त श्रेष्ठले वराहक्षेत्र नगरपालिकाको सम्पत्ति भएकाले नगरले नै संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए । ‘तर नगरले यसविषयमा खासै चासो देखाएको छैन’ –उनले भने ।
मन्दिर तथा बस्ती जोखिममा परेपछि संरक्षणको माग गर्दै गाउँबासीले २०७३ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन–पत्र बुझाएका थिए । त्यसपछि कटान नियन्त्रणका लागि नेपाल सरकारले ५ करोड सहयोग गरेको थियो । जसमध्ये १ करोड ७५ लाख लगानीमा उत्तर–पूर्व कोकाहा खोलाको तटबन्धन गर्ने काम पूरा भएको छ भने उत्तरतर्फ कङ्क्रिट वाल हाल्ने कार्य शुरु गरे पनि बीचैमा रोकिएको छ । बर्खायाममा पानीको बहावले गर्दा निर्माण अघि बढाउन नसकेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राईले बताए । वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले कोशी कटान रोकथाम र जीर्णोद्धारका लागि संस्कृति पर्यटन मन्त्रालयमा निर्णय गरेरै पठाएको बताए । उनले पर्यटन मन्त्रीमा डेलिगेसनसमेत गएको र अहिले प्रदेश सरकारलाई पनि पटक–पटक जानकारी गराएको बताए । यही क्षेत्रबाट एमालेका भीम आचार्य पर्यटनमन्त्री बनेका थिए । तर उनको मन्त्री कालमा मन्दिर संरक्षणमा खासै चासो नदिएको स्थानीयको आरोप छ ।
मन्दिर पुग्ने सडक उस्तै मन्दिर पुग्ने सडकसमेत जीर्ण बनेपछि भक्तजनहरू कष्टकर यात्रा गर्न बाध्य छन् । चतरा–वराहक्षेत्र मन्दिरसम्मको ९ किलोमिटर सडकमध्ये केही खण्ड जीर्ण छ । वर्षाका कारण खाल्डाखुल्डी भएकाले भक्तजनले सास्ती खेप्नु परेको हो । उक्त सडकमा साना सवारी सञ्चालन हुन्छन् । तर बाटो जोखिमपूर्ण रहेको मोरङ बेलबारीकी सरस्वती महत बताउँछिन् । ‘दर्शन गर्न त आइयो तर बाटो धेरै अप्ठ्यारो रै’छ’ उनले गुनासो गर्दै भनिन्, ‘गाडीमा जानुभन्दा त हिँडेरै जाँदा डर नहुने रै’छ’–उनले भनिन् । साढे १३ करोड लगानीमा गीताञ्जली कन्स्ट्रक्सनले तीन वर्षअघि निर्माणको ठेक्का पाएको थियो । तर सडक डिभिजन र वन कार्यालयले समयमा निर्णय नगर्दा दुई वर्ष कामै हुन सकेन । हाल शुरु भए पनि वर्षाका कारणले काम रोकिएको ठेकेदार कम्पनी बताउँछ । उक्त सडक मन्दिरहुँदै धनकुटा र भोजपुरको तल्लोभेगसम्म जोडिनेछ । सडकको हालत देखेर स्थानीय गोविन्दप्रसाद पोखरेल आक्रोसित हुँदै भन्छन्, ‘वडाध्यक्ष र मेयरलाई यो बाटोको अवस्थाबारे पटक–पटक जानकारी गरायौं । तर सुनुवाइ भएन । भोट दिएर जिताउनु मात्रै पर्यो ।’