भद्रपुर/प्रहरी र अदालतमा पुगेको सम्बन्धविच्छेदका घटनाले नेपाली समाजको परम्परागत संरचना दिन प्रतिदिन भत्किँदो छ ।
झापामा आर्थिक वर्ष २०७४/०७५ मा ७ सय ३२ वटा मुद्दा प्रहरी र अदालतमा पुगेको पाइएको छ । यो दर आ.व. २०७३/०७४ मा ६ सय ७१ थियो । यो एक वर्षको सम्बन्धविच्छेदको तथ्याङ्कले नै भत्कँदो सामाजिक संरचनाको वस्तुगत अवस्था चित्रण गरेको छ । गत आ.व. र यो आ.व.को तथ्याङ्कमा सम्बन्धविच्छेदका ५२ वटा मुद्दा बढेको देखाइएको छ । यो अदालतको तथ्याङ्क हो । फाँटवाला कर्मचारीका अनुसार यस प्रकृतिको मुद्दा दर्ता बढ्नुमा वैदेशिक रोजगारीसँगै बढ्दो सम्पत्ति लालचको कारणले हो । त्योसँगै कम उमेर समूहका बीचमा प्रेमविवाह, अन्तरजातीय विवाहले सम्बन्ध विच्छेदका मुद्दा बढिरहेका छन् । अदालतमा यस्ता प्रकृतिका मुद्दा हरेक वर्ष बढ्दो रहेको शाखा अधिकृत इन्द्र योङ्हाङ बताउँछन् । समाजमा देखासिकीका कारणले पनि सम्बन्ध विच्छेदका मुद्दा बढिरहेका छन् । समाजशास्त्रीहरू यसलाई परम्परागत सामाजिक संरचना भत्कँदो अवस्थामा रहेको चित्रण गर्छन् । सम्बन्धविच्छेदमा पुरुषको तुलनामा महिलाहरू बढी हुने गरेको अधिकृत योङ्हाङको तर्क छ । विवाह भएको केही दिन नबित्दै यस्ता मुद्दाहरूसमेत आउने गरेका उनी बताउँछन् । कतिपयले सम्पत्ति हडप्नका लागि पनि विवाहको प्रचञ्च रच्दै अंश दाबी गर्नका लागि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेहरू पनि प्रशस्त रहेको उनी बताउँछन् ।
मानव बेचविखनमा दोब्बर वृद्धि मानव बेचविखनको मुद्दासमेत बढेको छ । आर्थिक वर्ष ०७३/७४ मा १३ र आर्थिक वर्ष ०७४/७५ मा २६ वटा मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कले देखाएको छ । ग्रामीणभेगका महिलाहरुलाई ललाई फकाई आर्थिक क्षेत्र बलियो हुने सपना देखाएर अवैध बाटो प्रयोग गरी लैजाने कार्य नै प्रमुख समस्या भएको बयानका आधारमा पाइएको अदालतले जनाएको छ । महिलामा चेतनाको विकास र विस्तृत जानकारी नदिएसम्म यस्ता घटनामा कमी नआउने झापा बार एशोसिएसनका अध्यक्ष सुरजकुमार खत्री बताउँछन् । जबरजस्ती करणी बढ्दो जिल्ला अदालतमा दर्ता हुने जबरजस्ती करणीको मुद्दामा पचास प्रतिशत मादकपदार्थ सेवन देखिएको छ । अदालतले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष ०७३/७४ मा ८९ र आर्थिक वर्ष ०७४/७५ मा १ सय २७ ओटा मुद्दा जबरजस्ती करणीमा मात्र दर्ता भएको शाखा अधिकृत इन्द्र योङ्हाङले जनाए । पहिले सहमतिमा हुने र कसैले देखेमा जबरजस्ती करणी गरेको ठहरिने पनि मुख्य समस्या रहेको उनले जनाए । जबरजस्ती करणीका मुद्दा बढ्नुमा रहन–सहन, लवाइ–खवाइ र पछिल्लो समयमा देखिएको सामाजिक सञ्जाल, विभिन्न प्रकारका चलचित्र, मोबाइलजस्ता प्रविधिले घटना वृद्धि भएको झापा बारका अध्यक्ष सुरजकुमार खत्रीको भनाइ छ ।
२६ सय ४१ मुद्दा फछ्र्यौट जिल्ला अदालतले आर्थिक वर्ष ०७४/७५ मा २६ सय ४१ ओटा मुद्दा फछ्र्यौट गरेको छ । गतवर्ष ०७३/७४ मा जिम्मेवारी सरेर आएका १६ सय ३९ र यो वर्ष २७ सय ८८ गरी ४४ सय २७ ओटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको जनाएको छ । दर्तामध्ये १७ सय ८६ ओटा मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको शाखा अधिकृत इन्द्र योङ्हाङले बताए । व्यक्तिवादी र सरकारवादी देवानी, व्यक्तिवादी र सरकारवादी फौजदारीलगायतका मुद्दा दर्ता हुने गरेको उनको भनाइ छ ।