चथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारले क्रमशः मुहार फेर्दै गइरहेको छ । जिल्लाको ऐतिहासिक धार्मिक स्थल कुम्मायक–कुसायकको काखमा रहेको बजार वि.सं. २०१६ सालमा स्थापना भएको थियो । स्थापना कालदेखिकै भिरालो र अति जोखिमयुक्त बजार अहिले व्यवस्थित भएको छ । स्थानीय निकायको निर्वाचनकोे एक वर्ष पूरा हुँदा बजारको अवस्थिति, फोहोरमैला व्यवस्थापन, ढलनिकास र बजार व्यवस्थापनमा स्थानीय सरकारले उल्लेखीय पहल गरेको छ । विकास निर्माणले तिव्रता पाएपछि बजारले काँचुली फेरिरहेको स्थानीय बताउँछन् ।
स्थानीयतहमा जनप्रतिनिधि नहुँदा अधिकांश विकासे योजनाका लागि केन्द्रमा भर पर्नुपर्ने हुन्थ्यो । तर, अहिले स्थानीय सरकार गाउँमै आएपछि विकासले फड्को मारेको व्यवसायी श्याम राई बताउँछन् । ‘गाउँ–गाउँबाट गाउँपालिका र वडामा सडक जोडिएको छ, बजारको स्वरूप विकसित हुँदै गएको छ, यासोक बजारले पनि बिस्तारै काँचुली फेर्दै छ ।’ राईले भने । गाउँपालिकाको आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासका लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमबाट बजार व्यवस्थापन र ढल निकासको काम उपभोक्ता समितिमार्फत गरिएको छ । बजारक्षेत्रको नाली व्यवस्थापनको काम हुँदै आएको छ । पानी अभावमा नाली निर्माणको काम सम्भव नहुने भएपछि आर्थिक वर्षको जेठ अन्तिम साताबाट नाली व्यवस्थापनको काम भएको थियो । समितिले ५ सय ८० मिटर नाली र ५० मिटर होमपाइप प्रयोग गर्नुपर्ने हुन्थ्यो । तर, निर्धारित समयमा नाली व्यवस्थापनको काम ७६ प्रतिशत सम्पन्न भएको समितिका सचिव महेन्द्रबहादुर ख्डकाले बताए । ८ सय मिटर नालीको काम मध्ये ५ सय ८० मात्र काम समयमै सम्पन्न भइसको छ । बाँकी २२० मिटर मात्रै काम बाँकी रहेको खड्काले बताए । समयमै काम सम्पन्न नगरेकै कारण समितिले कुल ६५ लाख मध्ये ४१ लाख ६० हजार मात्र भुक्तानी पाएको छ । बाँकी रहेको २४ प्रतिशत काम आर्थिक वर्ष ०७५/७६ मा गर्ने गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि बजारवासीले बजार, नाली र डम्पिङ साइटको समस्या भोग्दै आएका थिए । तर, अहिले बजारको मुख्य समस्या नै समाधान भएपछि सहज भएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । बजारका सबै स्थानका फोहोर डस्बिनमा जम्मा गरी गाउँपालिकाको ट्याक्टरबाट डम्पिङ साइटमा व्यवस्थापन गर्दै आएको उनी बताउँछन् । कुम्मायक गाउँपालिका यस अघि नै सूचना र सञ्चारको पहँुचमा जोडिएको छ । त्यस्तै बजारको विद्यमान समस्याको रूपमा रहेको बजार, फोहोरमैला, र ढल निकासको पनि व्यवस्थापनसँगै बजारले मुहार फेरेको चेम्जोङको भनाइ छ ।