विराटनगर । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा १ नम्बर प्रदेशमा दूधको उत्पादन बर्सेनी बढ्दै गएको छ । अभियानका रूपमा गाई र भैंसीमा कृत्रिम गर्भाधान सुरु गरेपछि १ नम्बर प्रदेशमा प्रत्येक वर्ष दूध उत्पादन बढेको हो । उत्पादन बढेसँगै दूधमा प्रदेश नं. १ आत्मनिर्भर भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्छ । तर १४ जिल्ला रहेको प्रदेश नम्बर १ मा प्रतिव्यक्ति १ सय १३ लिटरको दरले दूध उत्पादन हुँदै आएको मन्त्रालयले जनाएको छ । जुन आवश्यक भन्दा बढी प्रतिव्यक्ति २२ लिटर दूध उत्पादन हुँदै आएको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ८६ हजार २ सय ७९ चौपायबाट ६ लाख ३१ हजार १ सय ७२ मेट्रिक टन दूध उत्पादन भएको मन्त्रालयका सूचना अधिकारी खत्रीले बताए । जसमा ५ लाख ३३ हजार १ सय १६ ओटा गाईबाट आर्थिक वर्षमा ४ लाख ९ हजार ८ सय ३७ मेट्रिक टन दूध उत्पादन भएको छ । त्यस्तै २ लाख ४६ हजार १ सय ४३ ओटा भैंसीबाट २ लाख २० हजार ९५ मेट्रिक टन र ७ हजार १० ओटा चौँरी गाईबाट १ हजार २ सय ४० मेट्रिक टन दूध उत्पादन भएको मन्त्रालयको अभिलेखम उल्लेख छ ।
२०६८ सालको जनगणनाअनुसार प्रत्येक वर्षको जनसङ्ख्या वृद्धि दरअनुसार आर्थिक वर्षमा प्रदेश नम्बर १ मा ४८ लाख ८१ हजार ८ सय १५ जनसङ्ख्यालाई प्रतिव्यक्ति ९१ लिटरको दरले ४ लाख ५० हजार २ सय ४२ मेट्रिक टन दूध आवश्यक पर्दछ । प्रदेशको जसङ्ख्याको अनुपातले हेर्ने हो भने आर्थिक वर्षमा प्रदेशमा १ लाख ६० हजार १ सय ६७ मेट्रिक टन दूध बढी उत्पादन भएको खत्रीले बताए । ‘तीन वर्षयतादेखि प्रदेश १ मा दूध उत्पादन निरन्तर बढ्दै गएको छ,’ मन्त्रालयका सूचना अधिकारी खत्रीले भने, ‘सरकारले २०६८ देखि कृत्रिम गर्भाधान कार्यक्रम ल्याएपछि दूध उत्पादनमा बढ्दै आएको छ ।’ उनका अनुसार यही गतिमा अगाडि बढे चालु आर्थिक वर्षमा समेत प्रदेशमा दूध उत्पादन बढ्न सक्ने खत्रीले बताए । उनका अनुसार प्रदेशको दूध सिमावर्ती भारतको बजारमा समेत जाने गरेको छ । झापा जिल्लाबाट उत्पादन भएको दूध भारतसम्म पुग्ने गरेको बताइएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ६ लाख १० हजार ४ सय ९ मेट्रिक टन दूध उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७३/०७४ मा १२ हजार ९ सय ८ मेट्रिक टन दूध बढी उत्पादन भएको मन्त्रालयको अभिलेखबाट देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख २३ हजार ३ सय १७ मेट्रिक टन दूध उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा समेत दूध उत्पादन बढेको छ । आर्थिक वर्षमा ६ लाख ३१ हजार १ सय ७२ मेट्रिक टन दूध उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सूचना अधिकारी खत्रीको अनुसार प्रदेशको १४ जिल्ला मध्ये सबैभन्दा बढी दूध उत्पादन मोरङमा भएको छ । आर्थिक वर्ष मोरङमा १ लाख ५७ हजार ७ सय ६० मेट्रिक टन दूध उत्पादन गरी सबैभन्दा बढी दूध उत्पादन गर्ने जिल्लाको रूपमा परेको छ । त्यस्तै दोस्रोमा इलाम छ । इलामा १ लाख २३ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । प्रदेशमा सबैभन्दा कम दूध उत्पादन हुने जिल्ला ओखलढुङ्गा छ । आर्थिक वर्षमा ओखलढुङ्गामा ४ हजार ३ सय ७७ मेट्रिक टन मात्र दूध उत्पादन भएको मन्त्रालयको अभिखेलमा देखिन्छ ।
कुन जिल्लामा कति दूध उत्पादन मन्त्रालयका अनुसार झापामा ९५ हजार ८ सय ४० मेट्रिक टन, सुनसरीमा ४५ हजार ८ सय ३२ मेट्रिक टन, उदयपुरमा ८१ हजार ९ सय ३५ मेट्रिक टन , पाँचथरमा ३७ हजार ९ सय ३५ मेट्रिक टन, ताप्लेजुङमा १० हजार १ सय २३ मेट्रिक टन, धनकुटामा १३ हजार ३ सय ८६ मेट्रिक टन, सङ्खुवासभामा ८ हजार ७ सय ७९ मेट्रिक टन, भोजपुरमा १३ हजार २ सय १२ मेट्रिक टन, तेह्रथुममा ६ हजार ३ सय ७० मेट्रिक टन र सोलुखुम्बुमा ८ हजार ९ सय ५७ मेट्रिक टन दूध उत्पादन भएको छ ।
प्रदेशमा ९ लाख ५८ हजार उन्नत जातको चौपाया प्रदेशमा आर्थिक वर्षमा करिब ३० लाख ७७ हजार ४ सय ४० चौपाया रहेकामा उन्नत जातका ९ लाख ५८ हजार ३ सय २८ ओटा रहेको मन्त्रालयले जनाएको छ । जसमा उन्नत जातको गाई ५ लाख ८९ हजार १ सय ४० वटा र उन्नत जातको भैंसी ३ लाख ६९ हजार १ सय ८८ ओटा रहेको मन्त्रालयका सूचना अधिकारी खत्रीले जानकारी दिए । जसमा २१ हजार ९ सय ८४ ओटा चौरी गाई रहेका छन् । प्रदेश सरकारले दूधजन्य पदार्थलाई विविधीकरण गर्ने उद्यमीलाई १० लाख रुपैयाँ अनुदान दिने भएको छ । प्रदेशमा दूधबाट चिज, घिउ, छुर्पीलगायतका वस्तुको उत्पादन हुने गरेको छ ।