तेह्रथुम । म्याङलुङ्ग–४ पिप्लेमा बाँदरले अन्नबाली नष्ट गर्न थालेपछि कृषकहरू चिन्तित भएका छन । पाक्ने बेला भएका मकैबालीमा बाँदर पसेर नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन । नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ का किसानले लगाएको अन्नबालीमा विगतका वर्ष झैँ यस वर्ष पनि जङ्गली जनावरले नष्ट गर्न थालेका छन् । बाँदर, मृग, दुम्सी, खरायोले अन्नबाली खाएर हैरान पारेको स्थानीय महेन्द्र गुरागाईंले बताए । ‘जङ्गली जनावरको ज्यादतिले यस क्षेत्रका स्थानीय वर्षौंदेखि त्रसित बन्दै आएका छन् ।’ उनले भने । वनक्षेत्रसँगै जोडिएका बस्ती जङ्गली जनावरको ज्यादतिले स्थानीयलाई दिनदिनै समस्यामा पार्ने गरेको छ । जङ्गली जनावरमा पनि विशेष गरी बाँदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलुजस्ता अन्नपात नष्ट गर्न थालेपछि स्थानीयवासी हैरान हुँदै आएको बद्री खड्काले बताए । ‘पहिले बारीमा लगाएका अन्नबाली सङ्कलन गर्नलाई बारीमा बाँदर लखेट्न रुँघालु बस्नु पर्दथ्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाँडासमेत बोक्न थालेका छन् ।’ खड्काले भने । स्थानीयले नगरपालिकामा बाँदर नियन्त्रण तथा व्यवस्थापन गरिदिन निवेदन पनि दिएको खड्काले बताए । उनका अनुसार अहिले अनिवार्य दिनभर घरमा बाँदर लखेट्न घर रुँघालु बस्नु पर्ने बाध्यता रहेको छ । बाँदरले बारीमा लगाएको मकै, आलु, तोरी, तरकारी, उखुलगायतका बाली उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थाँग्रोमा चढेर मकै खाने र पाक्न लागेका बाली खाने गरेको छ । गत वर्षहरूको तुलनामा यस वर्ष बाँदरको ज्यादति अत्यन्तै बढेकाले स्थानीयहरूमा बसाइँ सर्ने सोच आउन थालेको मेघराज ढुङ्गानाले बताए । ‘बसाइँ सर्ने स्रोत भए तुरुन्त गाउँका १० घरधुरी बसाइँ सर्ने सोचमा छन्, तर अनुकूलता नभएकाले बाँदरको ज्यादति सहेर बस्न बाध्य छौँ ।’ स्थानीय माधव गुरागाईंले भने । बाँदरको ज्यादतिकै कारण यस वर्षको बाली कसरी भिœयाउने भनेर स्थानीय चिन्तामा छन् । यसैगरी छथर क्षेत्रका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुङ र आङदिम क्षेत्रका गाउँ बस्तीमा पनि जङ्गली जनावरले दुःख दिन थालेपछि उनिहरू चिन्तित बनेका छन् । तमोरले छोएका जङ्गल र बस्तीमा सुख्खा बढेसँगै जङ्गली जनावरहरूको आहारा कम हुन थालेकाले जङ्गली जनावार बस्तीनजिक हुँदै घरसम्म आउन थालेको जिल्ला वन अधिकृत देवीचन्द्र पोख्रेलले बताए । बाँदर दीगो व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर ६ ओटै स्थानीय तहका प्रमुख र वनका कर्मचारीसँग सर–सल्लाह भइरहेको म्याङलुङ नगर प्रमुख सञ्जय तुम्वाहाम्फेले बताए ।