इटहरी । भर्खरका युवा युवतीहरू साथीको लहैलहैमा जानेर वा नजानेर कुलतमा फँस्दै गएका छन् । क्षणिक रमाइलोका लागि युवा पुस्तालाई लागूऔषधले गाँजेको छ । कजेल पढ्ने धेरै युवायुवती लागूऔषधमा फँस्दै गएका छन् । गाउँका भन्दा सहरका युवापुस्ता लागूऔषधको लतमा लागेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । खुल्ला सिमाना, सहज आपूर्ति, बढ्दो सहरी जनघनत्व, भौगोलिक अवस्थाका कारण युवापुस्ताले सहजै लागूऔषध प्रयोग गर्ने गरेको इटहरीमा आस्था फाउण्डेशन सुधार केन्द्रका सञ्चालक चन्द्र बराल बताउँछन् । लागूऔषधमा युवापुस्ता गाँजिएको बताउँदै बराल भन्छन्, ‘युवापुस्ता लागूऔषधको दलदलमा फसेका छन् । इटहरीमा मात्र ४ हजारभन्दा बढी युवाहरूले लागूऔषध प्रयोग गर्ने गरेको उनको दाबी छ । सुधार केन्द्रमा आउने अधिकांश युवाहरू साथीकै कारण फसेको बताउने गरेको उनको भनाइ छ । सडक बालबालिकाहरू, बढी स्वच्छन्दतामा हुर्केका बालबालिका, धनाड्यका छोराछोरी, सामाजिक मर्यादा गुमेका बाबुआमाका छोराछोरी एच.आई. भी लागेका अभिभावकका छोराछोरीले प्राय लागूऔषध प्रयोग गर्ने गरेको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नारायण चिमरियाले अभिभावक सचेत नहुँदा पनि छोराछोरीहरू बिग्रिरहेको बताए । अहिले युवापुस्ता लागूऔषधको दलदलमा लागेको उनको तर्क छ । खुल्ला सिमाना कारण सुनसरीमा लागूऔषध प्रयोगकर्ता अन्य जिल्लाको तुलनामा बढी भएको चिमरियाको भनाइ छ । ‘दैनिकजसो लागूऔषध प्रयोगकर्ताहरू पक्राउ परे पनि लागूऔषधको जालो रोकिएन ।’ उनले भने । केही समय यता लागूऔषध बिक्री गर्ने डिलरहरू पक्राउ परेपछि प्रयोगकर्ताहरू आफैँ लागूऔषध किन्न जाने गरेको डीएसपी चिमरियाको भनाइ छ । अहिले लागूऔषध सबैको लागि टाउको दुखाइको विषय बन्दै गएको उनी बताउँछन् । लागूऔषध अहिले प्रहरीका लागि मात्र नभई देश र समाजकै लागि टाउको दुखाई हुन थालेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठ बताउँछन् । १४ वर्षदेखि ३० वर्षसम्मका युवापुस्ताहरू धेरै लागूऔषधको दलदलमा फँसेको उनको भनाइ छ । प्रहरीको प्रयासले मात्र लागूऔषध प्रयोगकर्ताहरू नियन्त्रणमा नआउने भन्दै प्रत्येक घरबाट प्रयास गर्नुको विकल्प नभएको उनी बताउँछन । विद्यालय, कलेज, टोलटोलमा गएर लागूऔषधको प्रयोग रोक्ने प्रयास गरिरहेको उनी बताउँछन् । ‘लागूऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्ने अभियानमा लागेका छौँ ।’ डीएसपी श्रेष्ठले भने । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले लागूऔषध युवाहरूका लागी चुनौती बन्दै गएको बताए । अहिले युवाहरू सानै उमेरमा लागूऔषध प्रयोग गर्ने गरेको उनको भनाइ थियो । अहिले युवालाई सुधार्ने सामाजिक अभिभावकको दायित्व रहेको भन्दै लागूऔषध नियन्त्रण गर्ने मातहतका प्रहरीलाई निर्देशन दिएको बताए । ‘अभिभावक जिम्मेवार बन्नु पर्छ’ छोराछोरीको दैनिक गतिविधिको खोजीनीति नगर्दा, अभिभावकको झगडा, मनमुटावलाई नजिकबाट देख्दा, अभिभावकबाट सकारात्मक व्यवहार नपाउँदा अधिकांश युवापुस्ता दुव्र्यसनमा फँस्दै गरेको प्रहरी बताउँछ । अभिभावकहरूको खेलाँचीकै कारण पनि युवापुस्ता दुव्र्यसनमा लागिरहेको प्रहरी अधिकारी बताउँछन् । अधिकांश युवापुस्ता अभिभावकको गैरजिम्मेवारकै कारण लागूऔषधमा फस्ने गरेको प्रहरीसँग तथ्याङ्क छ । बालबच्चाको राम्रो हेरचाह नहुँदा साथीभाइकै सङ्गतले लागूऔषधको लतमा लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नारायण चिमरिया बताउँछन् । उनी भन्छन् ‘अभिभावक जिम्मेवार बन्ने हो भने लागूऔषध प्रयोगकर्ताहरूको सङ्ख्या घट्ने पक्का छ । चुनौती बन्दै खुल्ला सिमाना खुल्ला सिमानाकाका कारण दैनिक ठूलो मात्रामा सुनसरीमा लागूऔषध भित्रिने गरेको छ । सिमानाकामा चेकजाँच कडाइ गरे पनि लागूऔषध कारोबारीले नयाँ–नयाँ तरीका अपनाई लागूऔषध भिœयाउने गरेको पाइन्छ । लागूऔषध कारोबार गर्ने गिरोहले नयाँ तरिका अपनाई पूर्वको शहरी क्षेत्रहुँदै पहाड र गाउँगाउँमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । छोटो समयमा धेरै कमाउने उद्देश्यले लागूऔषध छिमेकी मुलुक भारतबाट सहजै नेपाल भित्रने गरेको छ । शहरको चाप बढे सँगै छोटै समयमा धेरै कमाउने उद्देश्यले पनि युवाहरू यसको व्यापार गर्नेे गिरोह नै तयार गरेर लाग्ने गरेको प्रहरीहरूको भनाइ छ । भारतको जोगबनी, भीमनगर, घुर्र्ना बजार , फुल्का, वसमतिया बजारलगायतका क्षेत्रबाट लागूऔषध कारोबारीहरूले लागूऔधष भिœयाउने गरेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा २ सय ९८ जना पुरुष र १० जना महिलालाई पक्राउ गरी मुद्दा चलाइएको छ । अघिल्लो आर्थिक वर्षमा ३ सय २२ जना पुरुषलाई र १० जना महिलालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।