माओवादीको सशस्त्र द्वन्द्वकालमा मुलुक गहिरो सङ्क्रमणकालमा थियो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले १२ बुँदे समझदारी गरेर त्यो सङ्क्रमणकाल समाप्त गरे र अर्को सङ्क्रमण शुरु भयो । संविधानसभा र संविधान निर्माण क्रममा, त्यो पनि तात्कालीन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले संविधान घोषणा गरेर त्यो सङ्क्रमणकाल पनि समाप्त गरे । मुलुकमा जब–जब सङ्क्रमण आउँछ, तब त्यसको निराकरण नेपाली काङ्ग्रेसले नै गरेको छ । राणाकालमा देश छोडेर गएका त्रिभुवन हुन् या पञ्चायतकालमा राजनीतिक आन्दोलन चलिरहँदा एकाएक जनमत सङ्ग्रहको घोषणा गर्दा प्राप्त भएको मतको नतिजालाई लिएर आम जनताले धोखा भयो भन्दै अस्वीकार गरिरहेको अवस्थामा जननेता बीपी कोइरालाले त्यो नतिजालाई स्वीकारेर हुनसक्ने सम्भावित दुर्घटना अथवा सङ्क्रमण आउन दिएनन् । यसरी हेर्दा जब–जब काङ्ग्रेसले देशको सङ्क्रमणकाल समाप्त गर्छ, तब आफ्नै पार्टीमा सङ्क्रमण भित्राउँछ । भर्खरै दुई सङ्क्रमण माओवादी द्वन्द्वकाल, संविधानसभा र संविधान निर्माणको समयको सङ्क्रमणकाल काङ्ग्रेसले समाप्त त गर्यो तर आफैमा सङ्क्रमण आयो । विगतमा यसरी आएका सङ्क्रमण पार्टीले सधैँ तदारुकताका साथ निराकरण गर्दै सङ्क्रमण हटाएको थियो तर पछिल्लो समय पार्टीको सङ्क्रमण झन् घनिभूत भएर आएको छ ।
नेपाली काङ्ग्रेसको मौलिकता, विशेषता, परिचय जे भन्नुस् आफ्नो पार्टीभन्दा पनि मुलुकलाई सर्वोपरी ठानी मुलुकको समस्यामा, मुलुकको सङ्क्रमणकालमा ध्यान दिने गरेको छ । यसो गर्दा त्यो समस्या र त्यो सङ्क्रमण आफैमा भित्राउँछ र मुलुकलाई त्यो सङ्कटबाट मुक्त गराउँछ । काङ्ग्रेसलाई यसरी हेर्दा ‘निलकण्ठ’ भनेर परिचय दिँदा हुन्छ ।अब मुलुकमा कुनै त्यस्तो सङ्कट छैन । कुनै सङ्क्रमण छैन भनेर काङ्ग्रेस चुप लागेर बस्ने अवस्था पनि छैन । सुदूर भविष्यमा त्यो अवस्था देखिँदै छ र त्यसको सामना गर्न आफ्ना कार्यकर्तालाई तयारी अवस्थामा राख्न जरुरी भैसकेको छ र त्योभन्दा पूर्व आफ्नो पार्टीको सङ्क्रमणको अन्त्य हुनु जरुरी छ । पहिलो कुरा त नेपाली काङ्ग्रेसमा जनविश्वास छ, जनआधार छ र यस्तो अवस्था हुँदाहुँदै पनि तीनै तहको निर्वाचन परिणामले दिन खोजेको सन्देश नेपाली काङ्ग्रेसले बुझ्नु जरुरी छ । नेपाली काङ्ग्रेसमा जनविश्वास र जनआधार हुँदाहुँदै पनि काङ्ग्रेसभित्र एक आपसमा, एक–अर्कामा विश्वास नभएकै परिणति हो निर्वाचनको परिणाम । अहिले काङ्ग्रेस पार्टीमा एक–आपसमा यही विश्वास बनाउनु पर्छ । यही विश्वास जगाउनु पर्छ । काङ्ग्रेसमा अहिले अँध्यारोपन छ र त्यो अँध्यारोमा कसैले कसैलाई मित्र देख्दैन र यही अँध्यारोमा हुर्किरहेको काङ्ग्रेसले एक–अर्कालाई सिध्याउने खेल खेल्छ । काङ्ग्रेस अहिले यो अँध्यारोबाट उज्यालोमा आउनु जरुरी छ र त्यो उज्यालोबाट मात्रै काङ्ग्रेसले काङ्ग्रेसलाई चिन्छ र काङ्ग्रेसले काङ्ग्रेसभित्र विश्वास जगाउन सक्छ । र त्यो विश्वासले जनताको विश्वास जित्न सक्छ ।
संसद्को सर्वोच्चता र काङ्ग्रेस अहिले संसद्मा संसद्को सर्वोच्चताको कुरा उठिरहेको छ । संसद्को सर्वोच्चता के हो र यसको सर्वोच्चता को मा निहित छ । यो कुरा दुई तिहाइ को सरकारको क्रियाकलापले के देखाउँदै छ भने संसद्को सर्वोच्चता सरकारमा छ । नेपाली काङ्ग्रेसले यहाँनिर बुझाउनु पर्छ । संसद्को सर्वोच्चता जनतामा निहित छ, यसको अर्थ लोककल्याण, जनहितमा संसद् केन्द्रित रहनु हो । डा. गोविन्द केसीको अनशनलाई लिएर अहिले संसद्को ‘सर्वोच्चतालाई चुनौती दिएको’ भनेर सरकारबाट आएको कुराले संसद्को गरिमा, सर्वोच्चता कायम हुँदैन । संसद्को सर्वोच्चता जनतामा छ । सरकारमा सरकारले नेतृत्व गरेको पार्टी विशेषमा भन्दा पनि प्रतिपक्षले संसद्को सर्वोच्चता बचाउँछ, गरिमा बढाउँछ । डा. गोविन्द केसीको यही माग राष्ट्रहितमा रहेकै कारणले प्रतिपक्षले संसद्को गरिमाकै लागि साथ दिएको थियो । मुलुकमा विधिको शासन हुनुपर्छ, न्याय र कानून प्रजातन्त्रमा सर्वोपरी हो भन्ने कुरा अहिले छायामा पर्दैछ । अहिले प्रजातन्त्रइतर पक्षको दुई तिहाइको जबरजस्त सरकार छ । यसबाट प्रजान्त्र खतरामा छैन । यसो भन्न अहिले सकिरहने अवस्था किन छैन भने संसद्को सर्वोच्चतामा निरन्तर प्रहार भइरहेको छ । त्यो प्रदेशदेखि केन्द्रसम्म सभामुख र उप सभामुखको मुद्दा होस् या गोविन्द केसीको सत्याग्रह मा सरकारको शक्ति प्रवेशको कुरा होस् या प्रधानमन्त्री शपथको कुरा होस् । यी सबै घटना र प्रक्रियाले संसद्को सर्वोच्चतालाई स्वीकारेको छ भन्न सकिन्न । संसद्को सर्वोच्चता नस्वीकार्नुको अर्थ प्रजातन्त्र खतरामा रहनु हो । शेरबहादुर देउवाको सरकार लाई अपदस्थ गरेर संसद् विघटन गर्दा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले विघटित संसद्लाई पुनस्र्थापित गर्न जुन आन्दोलन गरे संसद् पुनस्र्थापित पनि गरे, त्यो संसद्कै सर्वोच्चताको लागि थियो । नेपाली राजनीतिमा पुनः त्यस्तो राजनीतिक घटनाक्रम दोहरिन्न भन्न किन सकिँदैन भने अहिलेको शासनशैलीले पञ्चायती शासनशैलीलाई स्मरण गराउँछ । कुनै पनि घटना कुनै पनि कार्यशैलीले एकाएक विगतका घटना र कार्यशैलीलाई स्मरण गराउँछ भने त्यसमा सामाञ्ज्यस्यता छ भन्न सकिन्छ । अहिले वर्तमान सरकारबाट यही कुरा सबैको मष्तिस्कमा क्लिक गरिरहेछ ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ सम्पूर्ण राजनीतिक दलहरुको सहभागितामा स्थापना भएको यो गणतन्त्र अहिले तात्कालीन समयका सहयात्री दल माओवादी र नेकपा (एमाले) एकीकृतपछि नेकपा र त्यही पार्टीको नेतृत्वमा निर्मित सरकार नै अहिलेको मौजुदा व्यवस्थालाई समाप्त गर्ने रणनीतिमा लागेको देखिन्छ । वर्तमान सरकारले संसद्को सर्वोच्चतालाई कुल्चँदै र नेपालमा विधिकों शासनलाई समेत चुनौती दिँदै सरकार अघि बढिरहेको अवस्थामा नेपाली काङ्ग्रेसले अब फेरि जहानियाँ राणा शासन विरुद्ध, पञ्चायत व्यवस्था विरुद्ध गरेको आन्दोलनजस्तै पुनः एकपल्ट नेकपाको अधिनायकवाद विरुद्ध, सर्वसत्तावाद विरुद्ध लोकतन्त्रको रक्षार्थ फेरि सडक र सदन दुवैमा आन्दोलन गरेर उद्दण्ड र मैमत्ता नेकपालाई र त्यसको नेतृत्वको सरकारलाई संविधान, न्याय, कानून र विधिको शासनमा बाँधेर राख्नुपर्ने आवश्यकता भैसकेको छ ।