पानवारी । दुई वर्षअगाडि ६० लाख रुपैयाँ खर्च गरेर धरानको मुख्य बजारक्षेत्रमा सौर्य सडकबत्ती जडान गरिएको थियो । सडकबत्ती जडान भएका केही समय रातमा पनि धरान झिलिमिली भएको थियो । तर बजारक्षेत्रको त्यो उज्यालो धेरै समय टिक्न सकेन । सौर्य सडक बत्तीमा आएका सामान्य समस्याहरुसमेत समयमै समाधान हुन सकेनन् । जसका कारण आजभोलि धरानका अधिकांश सडक बत्तीहरु बिग्रिएको अवस्थामा छन् । धरानमा सडक बत्तीबाट भइरहेको विद्युत् भार घटाउने भन्दै २ वर्षअघि जडान गरिएका सौर्यबत्ती आधाभन्दा धेरै बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । आधा सौर्य सडकबत्ती बिग्रिएर बल्दैनन् भने बाँकी रहेका पनि कुनै एक घण्टामात्र बल्छन्, कुनै ४–५ घण्टा बल्छ त कुनै धिपिक–धिपिक गर्छन् । धरान उपमहानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर प्रकाश साहले भने, ‘धेरै बत्तीहरुमा समस्या छ, केही बल्दै बल्दैनन् त केही एक घण्टा बल्छन् भने केही ४–५ घण्टा बल्छन् । जसले जडान गरेको हो, उसैले ५ वर्षसम्म हेर्ने जिम्मा भएकोले हामीले हेर्न मिल्दैन ।’ धरान–१ स्थित लक्ष्मीचोकदेखि धरान–८ सिद्धकालीचोकसम्म मुख्य सडक कोशी राजमार्गमा पहिलो फेज अन्तर्गत ६६ वटा सोलार सडकबत्ती जडान गरिएको थियो । उपभोक्ता समितिमार्फत् जडान गरिएका सौर्यबत्तीहरु विराटनगरस्थित कृष्ण ग्रिल एण्ड इञ्जिनियरिङ वर्कर्स प्रालिले जडान गरेको हो । ५ वर्षसम्म मर्मत गर्नुपर्ने शर्तमा प्रालिले २०७३ साउनमा सडकबत्ती जडान गरेको थियो । तर अहिले प्रालिले सम्झौता गरेको रकम सबै भुक्तानी नभएको भन्दै सौर्यबत्ती मर्मत गरेको छैन । धरान उपमहानगरपालिका र सौर्य सडकबत्ती निर्माण उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण गरिएको सौर्यबत्ती प्रालिले ५९ लाख ९९ हजार ८ सय ३२ रुपैयाँमा निर्माणको ठेक्का लिएको हो । सौर्यबत्ती जडान गर्न धरान उपमहानगरपालिकाले ८५ प्रतिशत र उपभोक्ता समितिले १५ प्रतिशत लागत व्यहोर्ने शर्त थियो । जसअन्तर्गत २०७३ असार २९ गते नै उपमहानगरपालिकाले आफ्नो दायित्वमा रहेको रकम ५० लाख ९९ हजार ८ सय ४८ रुपैयाँ कन्टेन्जेन्सी रकम रु. १ लाख २४ हजार २ सय कट्टा गरी उपभोक्ता समितिलाई भुक्तानी दिइसकेको छ । उपभोक्ता समितिको दायित्वमा रहेको ८ लाख ९९ हजार ९ सय ७३ रुपैयाँमध्ये समितिले २ लाख ५० हजार रुपैयाँ मात्र सङ्कलन गरेर भुक्तानी दिन सकेको उपभोक्ता समितिका अध्यक्ष केशव श्रेष्ठ बताउँछन् । सौर्य सडकबत्ती निर्माण उपभोक्ता समितिले सम्बन्धित उपभोक्ताबाट सङ्कलन गर्ने भनेको रकम सङ्कलन गर्न नसकेपछि प्रालिलाई भुक्तानी दिन सकेको छैन । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले सौर्य सडकबत्तीको मर्मत गराउने जिम्मा उपभोक्ता समितिको र ५ वर्षसम्म मर्मत गर्ने जिम्मा कम्पनीको भएको भन्दै जसरी पनि कम्पनीले मर्मत गर्नुपर्ने बताउँछन् । उपभोक्ता समिति भने निरिह देखिएको छ । उपभोक्ता समितिका अध्यक्ष केशव श्रेष्ठ कम्पनीलाई पूरै भुक्तानी दिन नसकेको कारण मर्मत गर्न ताकेता गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘उपभोक्तासँग पैसा माग्न जाउँ कसैले दिँदैन, कम्पनीलाई मर्मत गरिदेऊ भन्न जाऊँ सबै भुक्तानी दिएको छैन ।’ प्रालिका सञ्चालक सञ्जय श्रेष्ठ सञ्चारमाध्यमलाई प्रतिकृया दिन मान्दैनन् । उनी सबैकुरा नगरपालिकासँग सोध्नू भन्दै तर्किन्छन् । उनीसँग कुरा गर्दा उनले पटक–पटक उपमहानगरपालिकालाई भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी नपाएको बताए । शर्तअनुसार प्रालिले धरानका सौर्य सडकबत्ती मर्मत गरेको छैन । पहिलो फेजमा ४० वाट क्षमताको सौर्यबत्ती ९० हजारका दरले जडान गरेको प्रालिले दोस्रो फेजमा भने ८४ हजारको दरले जडान गरेको छ । दोस्रो चरणमा धरानका विभिन्न वडामा जडान गरिएका ७४ वटामध्ये ४० वाट क्षमताको ३० वटा सौर्य सडकबत्ती ८४ हजार रुपैयाँका दरले जडान गरेको थियो । ‘एउटै क्षमताको बत्तीमा ६ हजार रुपैयाँको फरक देखिएको छ । यसले अनियमितता भएको अशङ्का पनि गर्न सकिन्छ’ –धरान उपमहानगरपालिकाका एक कर्मचारीले भने । सौर्यबत्ती बिग्रिएको महिनौं बित्दासम्म त्यसमा चासो नदेखाएको धरान उपमहानगरपालिकाले बल्ल मर्मतका लागि ताकेता गर्ने भएको छ । उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले केही दिनभित्रमा उपभोक्ता समिति र निर्माण कम्पनीलाई बोलाएर यस बारेमा बुझ्ने बताइन् । ‘सौर्यबत्तीमा धेरै अगाडिदेखि समस्या भए पनि उपभोक्ता समितिले त्यसको हेरचाहको जिम्मा लिएकोले उपमहानगरपालिकाले नहेरेको हो । तर अहिले समस्या झनै बढेर गएपछि त्यसलाई समाधान गर्न दुवै पक्षसँग छलफल गर्ने र निकास खोज्ने हाम्रो तयारी छ’–उनले भनिन् ।