मधुमल्ला/ मोरङको मिक्लाजुङस्थित मधुमल्ला स्वास्थ्य चौकीको मातहतमा रहेको सर्पदंश भवन अलपत्र परेको छ । चिकित्सकको अभावमा सेवा शुरु हुन नसक्दा भवन अलपत्र परेको हो । साविक मधुमल्ला–२ (हाल मिक्लाजुङ–७ ) मा पर्ने सर्पदंशकोे तीन कोठे भवन अलपत्र परेको छ, भने करोडौँ मूल्य बराबरको जमिन स्थानीयको अतिक्रमण र गौचरणमा परिणत भएको छ । स्थानीय ग्रामिण क्षेत्रका जनताको अकालमा हुने मृत्युलाई मध्यनजर गर्दै कृषि विकास बैङ्क, मधुमल्ला गाविस, स्थानीयले देउसी नाचको सहयोगमा ४ लाख लगानी गरी भवन निर्माण गरेको सर्पदंश भवन निर्माण उपभोक्ता समिति अध्यक्ष देवनारायण प्रधानले बताए । अनेकौं प्रयासका बाबजुत बारम्बार पहल गर्दासमेत उपभोक्ता समितिले सर्पदंश उपचार सञ्चालन गर्न नमिलेपछि ०६६/०६७ सालमा तयार गरिएको उक्त भवन र जग्गा स्वास्थ्य चौकी मधुमल्लालाई जिम्मा लगाएको श्रेष्ठले बताए । स्थानीय नन्दकुमार राईले सर्पदंश सेवा सञ्चालनका लागि आफ्नो पाँच कट्ठा जग्गा निशुल्क दिएका थिए । ठाउँ अपुग भएमा थपिदिने समेत भनेको तर लिएको जग्गाकै उचित व्यवस्थापन नहुदाँ दुुःखी भएको राईले बताए । कसैैले पनि सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने चाहना रहेपनि सेवा सुरु नहुँदा गत साउन २२ गते मोरङ मिक्लााजुङ–६ की ३२ वर्षिया पद्मादेवी गुरुङको बिषालु सर्पको डसाइले उपचारका लागि लाँदै गर्दा बाटामै निधन भयो । यहीँ सर्पदंशको उपचार सेवा भएको भए उनको मृत्यु नहुने मिक्लाजुङ–६ का स्थानीय बिकेन्द्र मादेनले बताउँछन् ।
सम्बन्धित निकायको बेवास्ता र आर्थिक अभावका कारण स्वास्थ्य संस्था सुस्ताएको स्थानीय बताउँछन् । यस विषयमा मधुमल्ला स्वास्थ्य चौकी प्रमुख सञ्जीव कुमरले भने ‘सर्पदंश उपचार सेवा सञ्चालन गर्न एमबीबीएस डाक्टर चाहिन्छ, अस्पतालमा डाक्टर नभएका कारण सेवा सञ्चालनमा ल्याउन सकिएको छैन ।’ डाक्टर नभएको अवस्थामाा रेडक्रस र नेपाल आर्मीले मात्र सर्पदंश उपचार सेवा सञ्चालन गर्न पाउने भएकाले सञ्चालनमा समस्या रहेको कुमर बताउँछन् । सञ्चालनको समयमा चर्चामा रहेको सर्पदंश उपचार केन्द्र राजनीतिक दलहरूले स्थानीय चुनावका समयमा प्रशस्तै सेवा सुविधा पु¥याउँछौ भने पनि सो केन्द्र अलपत्र नै रहेको स्थानीय जङ्ग खत्री बताउँछन् । अत्यन्तै दु:खले तयार गरिएका संरचनाको अहिले उचित संरक्षण समेत छैन । मधुमल्लामा सर्पदंश भवन मात्र होइन अन्य समेत सार्वजनिक महत्वका सामाजिक सङ्घ संस्थाका भवन बेवारिसे भएपछि जीर्ण बन्दै गएका छन् । तत्कालीन मधुमल्ला गाविस, अन्य सरकारी निकाय तथा स्थानीय उद्योग व्यवसायीको आर्थिक सहयोगमा निर्माण भएका महत्वपूर्ण कार्यालयहरू अलपत्र हुनु विडम्बना हो । यस्तै साविक मधुमल्ला–२ मा निर्माणाधीन विश्व शान्ति भवन र मधुमल्ला–१ को ग्रामिण अपाङ्ग उत्थान सङ्घको भवन निर्माण थालिएको ५ वर्षमा पनि पूरा नभई त्यसै जीर्ण बनेको छ ।