पथरी/ डेढ दशकअघि माटोबाट निर्मित विभिन्न प्रकारका सामग्री बनाउनेको सङ्ख्या कुमाल जातिमा एकसेएक

थियो । उतिबेला सामग्रीहरूबाट आयजआर्जन पनि उनीहरूले उत्तिकै गर्ने गरेका थिए । तर पछिल्लो समयमा आएर व्यापार नभएपछि कुमालेहरूको पेशा सङ्कटमा परेको छ । पेशाबाट आयआर्जन गर्न नसकेपछि परम्परागत पेशाबाट पलायन हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । माटोबाट निर्मित सामग्रीहरूको सट्टा प्लास्टिकका विभिन्न प्रकारका सामग्री भारतबाट नेपालको बजारमा आउन थालेपछि कुमालेहरूको पेशा नै सङ्कटमा परेको हो । बजारमा पहिलेको जस्तो माटोको भाँडा अहिले धेरै कम पाइन्छ । आवश्यक परेमा खोज्दै गएमा मात्र पाइने गरेको छ । पुरानो पुस्ताका कुमालहरूमा शक्ति, जाँगरमा ह्रास आउनु र पछिल्लो पुस्ताका युवाहरू अन्य रोजगारीमा आकर्षण बढेकाले कुमाल युवामा परम्परागत पेशाप्रतिको चासो घट्दै गएको छ । अहिले मोरङ पथरीशनिश्चरे नगर भित्र ८ घरपरिवारका ५० जना बसोबास गर्दै आएका छन् ।

पथरीशनिश्चे–९, शनिश्चरे बजारपूर्व ६ घरपरिवार छन् । पथरीशनिश्चरे–५, हसन्दहमा २ घरपरिवार छन् । ती मध्ये पथरीशनिश्चरे–९ का ४४ वर्षीय विवेकानन्द पण्डित कुमालेले मात्र आफ्नो परम्परागत पेशा जोगाउँदै आएका छन् । उनीसँगै रहेका अन्य ५ घर पछिल्लो पुस्ताका छोराहरू आम्दानीको सहज बाटो अपनाउँदै वैदेशिक रोजगारमा छन् । वैदेशिक रोजगार आम्दानीको स्रोत भएकाले आफ्नो पेशा छाड्दै गएको उनीहरू बताउँछन् । पूर्खादेखि नै उनीहरू खेती गर्दैनन् । माटोका भँडाकुँडाहरू घैँटो, गमला, हाँडी, खुत्रुके, पैनी, दियो, थाललगायतका सामग्री बनाउनु र त्यही बिक्री गरेको भरमा जिविका चलाउनु कुमाल समुदायको पुख्र्यौली पेशा हो ।  पुख्र्यौली पेशाबाट गुजारा चलाउन गाह्रो भएको विवेकानन्द कुमाल बताउँछन् । बजारबाट रवर र प्लास्टिकका भाँडाकुँडाको अत्यधिक प्रयोग र कुमाल समुदायकै युवाहरूमा नै आफ्नै पुख्र्यौली पेशाप्रतिको अरूचीका कारण यो पेशा लोपोन्मुख अवस्थामा रहेको उनीहरूको धारणा छ । विवेकानन्दले अहिले ३ महिनामा एकपल्ट भट्टी पोल्छ । एकपटकमा त्यहाँ विभिन्न प्रकारका माटोबाट निर्मित सामग्री १० हजारदेखि ५० हजारसम्म पोल्ने गरेका छन् । उनले नजिकैको डाँस खोलाबाट माटो ल्याउने गरेका छन् । उनको मुख्य बजार पथरी बजार हो । हप्तामा दुईचोटी लाग्ने बजारमा उनले उत्पादन गरेका सामग्री बेचिसक्न ३ देखि ४ महिनासम्म लाग्ने विवेकानन्द बताउँछन् । उनले वार्षिक ५० हजार आम्दानी गर्ने बताउँछन् । उनीसँगै पथरीशनिश्चरे–५, हसन्दहमा २ घरपरिवार पनि परम्परागत पेशा नै गर्दै आएका छन् ।

बाबुको पालामा धेरै चक्र घुमेको गाउँमा अहिले मुस्किलले एक दुईवटा चक्र घुम्छन् । उनका अनुसार माटोका भाँडा निर्माण गर्न घुमाइने माटोको चक्का (मेसिन) लाई चक्र घुमाउने भनिन्छ । यो पेशाका लागि काम गर्न जोश जाँगर र धेरै तागत चाहिने र अहिलेको पुस्ताले यस्तो काम गर्न लाज मान्ने भएकाले पनि समस्या पर्दै गएको सडानन्द पण्डित बताउँछन् । माटोको भाँडा बनाउन दुःख धेरै हुन्छ, आम्दानी कम हुन्छ । यसबाट दैनिक घर खर्च चलाउन मुस्किल परेको पण्डितले बताउँछन् । उनले आफ्ना समस्याप्रति सरकारले कुनै चासो नदिएको गुनासो पोखे । माटोमै जन्मेर माटोमै हुर्किएका ४० वर्षीय पण्डितले आफ्नो पूख्र्यौली पेशा जोगाउन सरकारले ग्राहकको मागअनुसारका आधुनिक सामग्री बनाउने तालिम दिनुपर्ने माग गरेका छन् । आधुनिक सामग्री उत्पादनका लागि सरकारले औजार र भट्टीमा चाहिने कोइला तथा विद्युतीय चुल्होको व्यवस्था र बजार प्रवद्र्धन गर्न माग गरेका छन् । माटोका भाँडा बनाउँदै आएका कुमाल जातिले अहिले यसको अतिरिक्त विभिन्न पेशाको खोजी गरिरहेका छन् । बाबु–बाजेको पालामा भाँडा धेरै बिक्री हुने गरेकाले यही पेशा अँगालेको र आफ्नो पालामा यसबाट हुने आम्दानीले घरपरिवार पाल्न मुस्किल हुने गरेको पथरीशनिश्चरे नगरपालिका–९ की राजकुमारी पण्डितले गुनासो गरिन् ।

वर्षाको समयमा भन्दा कार्तिकदेखि पुससम्म माटोको भाँडाको ब्यापार बढी हुने गरेको छ । त्यस बीचमा दशैं–तिहारलगायत विभिन्न चाडपर्व र पूजापाठको समय हुने भएकाले मासिक २ हजारभन्दा बढीको भाँडा बिक्री हुने गरेको पण्डितले बताए । पहिले भाँडा बोकेर गाउँ–गाउँमा पुग्ने कुमालेहरू अहिले हाटबजारमा गएर माटोका भाँडा बिक्री गर्ने गरेका छन् ।  पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले कुमालेहरूको लिखित रूपमा निवेदन आएपछि सरोकारवाला निकायसँग छलफल गरी पेशालाई निरन्तरता दिने वातावरण तयार गर्ने बताए । माटोका सामग्री बनाउँदा समयअनुसार र ग्राहकको चाहनाअनुसार बनाएमा त्यसले बजार पाउने सुझाव दिएका थिए । राष्ट्रिय जनगणना २०६८ अनुसार कुमाले जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कुल ६२ हजार ३९९ जना छन् । उनीहरू तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आएका छन् ।