वराहक्षेत्र/ प्राथमिक स्वास्थ्य केन्द्र चतराले शुक्रबारदेखि बहिरङ्ग सेवा (ओपीडी ) शुरु गरेको छ । वराहक्षेत्र नगर प्रमुख तथा स्वास्थ्य केन्द्रका संरक्षक निलम खनालले ३६५ दिन नै सञ्चालन गर्ने उद्देश्य लिएको ओपीडी सेवा र कर्मचारी आवास भवनको उद्घाटन गरे । स्वास्थ्य केन्द्रमा ओपीडी सेवा शुरु भएपछि सेवाग्राहीले बिहान ७ बजेदेखि रातको ८ बजेसम्म ओपीडी सेवा लिन पाउने केन्द्रका मेडिकल अधिकृत डाक्टर अनिल गिरीले बताए । बिहान १० देखि साँझ ५ बजेसम्म जागिरे कर्मचारी, ज्याला मजदुरी गर्ने तथा व्यस्त व्यवसायीलाई लक्षित गरी शुरु गरिएको ओपीडी सेवा सञ्चालन भएपछि समयको अभावमा सेवाग्राही बिरामी फर्किनु नपर्ने डा. गिरी बताउँछन् । २४ घण्टे आकस्मिक, ल्याब, फार्मेसी र सुरक्षित मातृत्व सेवा उपलब्ध गराउँदै आएको केन्द्रमा यस अघि बिरामीको चाप धेरै हुने भएकाले समयको अभावमा त्यस्ता बिरामी सेवाग्राहीलाई फर्काउनु पर्ने वा अरु अस्पतालमा रेफर गर्नु पर्ने हुन्थ्यो । तर अहिले त्यो समस्या छैन । बिहानै आउँदा होस् वा राति बिरामीले निःशुल्क ओपीडी सेवा लिन सक्ने डा. गिरी बताउँछन् ।
स्वास्थ्य केन्द्रमा हाल चार जना चिकित्सकसहित ३२ जना कर्मचारीले सेवा दिइरहेका छन् । डा. अनिल गिरी र डा. निर्मला चौधरी थारु मेडिकल अधिकृत हुन् भने डा. अमृत थापा र डा. शोभिका श्रेष्ठ जेनेरल फिजिशियन हुन् । नेपाल सरकारको स्थायी कर्मचारी १० जना, करारमा ३ जना वराहक्षेत्र नगरपालिकाको करारमा २ जना र बाँकी १७ जना स्वास्थ्य केन्द्रको सञ्चालन तथा व्यवस्थापन समितिको आन्तरिक कर्मचारी छन् । सरकारी प्राथमिक स्वास्थ्य केन्द्रमा नेपालमै पहिलो पटक चतरा स्वास्थ्य केन्द्रले बहिरङ्ग सेवा सुरु गरेको डा. गिरीको दाबी छ । आयोजित कार्यक्रममा बोल्दै वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले केन्द्रमा ओपीडी सेवा शुरु हुनु यस क्षेत्रको गौरव भएको बताए । नगरपालिकाले स्वास्थ्य र शिक्षामा कुनै पनि सम्झौता नगर्ने भन्दै स्वास्थ्य केन्द्रलाई नमुना स्वास्थ्य केन्द्रका रूपमा अगाडि बढाउने बताए ।
स्वास्थ्य चौकी हुँदा दयनीय अवस्थामा रहेको स्वास्थ्य संस्थामा सामान्य उपचार लिन सेवाग्राहीले घण्टौँ कुर्नुपथ्र्यो अहिले उपचार लिन कुनै समस्या छैन,’ स्वास्थ्य संस्थाका सञ्चालक समिति सदस्यसमेत रहेका उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका अध्यक्ष रमेश विष्टले भने ‘डा. अनिल गिरी आएपछि उनको सतप्रयास र नेतृत्वले गर्दा नगरले स्वास्थ्य सेवामा फड्को मार्दै गएको छ ।’ स्वास्थ्य संस्थाको प्रगतिले खुसी भएको केन्द्रका पूर्व अध्यक्ष ओमकुमार शर्माले बताए । डा. गिरीले प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउन र यसको निर्माणमा व्यक्तिगत खर्चसमेत गरेको वराहक्षेत्र १ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई बताउँछन् । डा. गिरीकै पहलमा वराहक्षेत्रका झण्डै पाँच सय विपन्न र ज्येष्ठ नागरिकलाई सञ्चालक समितिले निशुल्क स्वास्थ्य बिमा गराइदिएको छ । वराहक्षेत्र प्राथमिक स्वास्थ्य केन्द्रमा आश्रित उदयपुर, धनकुटा र भोजपुरका दक्षिणी भेगका स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन पनि ओपीडी सेवाको सञ्चालनले सहयोग गर्ने डा. गिरी बताउँछन् ।
को हुन् डा. गिरी ? तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका डाक्टर गिरी २०७३ साल मङ्सीरमा जुनियर डाक्टरको रूपमा चतरा स्वास्थ्य केन्द्रमा आए । उनी अहिले केन्द्रको सिनियर मेडिकल अधिकृत हुन् । चतरा आएको डेढ वर्षपछि स्वास्थ्य केन्द्र प्रमुखको जिम्मेवारी पाएको दिनदेखि अनवरत रूपमा अस्पताल व्यवस्थापन र उपचारमा खट्दै आएका छन् । उनले लथालिङ्ग रहेको केन्द्रलाई लगातार सुधार गर्दै नगरपालिका कै नमुना स्वास्थ्य केन्द्रको रूपमा पहिचान दिलाएका छन् । सानो होस् वा ठूलो उपचारका लागि हेल्थ असिसटेन्टबाहेका डाक्टरको सेवा पाउन कुर्नु पथ्र्यो । तर अहिले स्वास्थ्य केन्द्रमा चार जना डाक्टरले सेवा दिइरहेका छन् । २४ घण्टे आकस्मिक, ल्याब, फार्मेसी र सुरक्षित मातृत्व सेवाका साथै बिहानदेखि रातिसम्मै बहिरङ्ग ओपीडी सेवा उपलब्ध भएको छ ।
एमबिबिएस सकेका उनी भिडियो एक्स–रेका तालिम प्राप्त विज्ञ हुन् । व्यवस्थापन सङ्काय तर्फ एमबिए र कानूनमा एलएलबीका समेत विद्यार्थी हुन् । ‘गर्न सक्यो भने सरकारी स्वास्थ्य सेवामा पनि धेरै थोक गर्न सकिन्छ’ भनेर उदाहरण देखाएका डा गिरी प्रत्येक कर्मचारीको ५ सय र केन्द्रको ५ गरी १ हजार रकम मासिक वचत गर्ने अभियानमा छन् । यो वचतबाट उनीहरूलाई पेन्सन प्रदान गर्ने योजनामा छन् । स्वास्थ्य केन्द्रमा वार्डहरू, सभाहल र प्रशासनिक कक्षहरूको निर्माण गर्ने उनको आगामी योजना छ ।