रङ्गेली । सडक निर्माणले खानेपानीको पाइपलाइन फुट्दा विराटनगर महानगरपाली–१७ को सत्यनारायण आधारभूत विद्यायल १७ महिनादेखि पानी आपूर्ति हुन सकेको छैन । जसका कारण विद्यार्थीहरूले पानी पिउन पाएका छैनन् । ढलको नाली निर्माण गर्ने क्रममा विद्यालयको पाइपलाइन फुटेको थियो । तर हालसम्म पनि मर्मत नगरिँदा विद्यालयका विद्यार्थीहरू पानी पिउनबाट बन्चित बनेका छन् । विद्यालयका प्रधानाध्यापक मिथिलेश्वरी ढुङ्गेलका अनुसार स्कुलका एउटा चापाकल छ । त्यसैबाट पानीको जोहो भइरहेको छ । धारा जडान भए पनि पाइपलाइन मर्मतमा कसैको ध्यान नजाँदा पानी पिनबाट बञ्चित बनेको उनले बताइन् । कक्षा ५ सम्म मात्रै अध्यापन हुने भएकाले विद्यार्थीहरूले कल प्रयोग गरेर पानी पिउन सक्दैनन् । धारा जडान भए पनि पानी आउन सकेको छैन’ उनी भन्छिन्, ‘शिक्षकले पानी चलाइदिनुपर्छ ।’ गर्मीको समयमा झनै स्थिति भयावह छ । विद्यार्थीहरूले क्षण–क्षणमा पानी खोज्ने गरेका कारण पनि समस्या भएको छ । ढल निर्माण गर्ने निकायले हालसम्म मर्मतमा ध्यान नदिएको प्रअ ढुङ्गेलको भनाइ छ । सडक निर्माण गर्ने ठेकेदारदेखि विराटनगर महानगरपालिकासम्मलाई समस्याबारे बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ । खानेपानी संस्थानलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेको उनले बताइन् । विभिन्न सङ्घ–संस्थाको सहयोगमा धारा तथा ट्याङ्की निर्माण भए पनि हाल पानी छैन । विद्यालयमा हरेक साता विद्यार्थी लक्षित कार्यक्रम गर्र्दै आएको लियो शताब्दी क्लबका मन्दीप दाहालले विद्यालयमा पानी नहुँदा विद्यार्थीलाई निकै समस्या परेको बताए । विद्यालय विराटनगरको बीच बजारमा भए पनि बत्तीमुनीको अँध्यारो जस्तो बनेको उनले बताए । विद्यालयको समस्याबारे कुनै पनि निकायले चासो नदिँदा स्कुल प्रशासन हैरान बनेको छ । यता विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख उपसचिव रुद्रप्रसाद दुलालले सत्यनारायणमा खानेपानीको हालको समस्याबार जानकार नभएको बताए । विद्यालयका तर्फबाट पनि हालसम्म कुनै जानकारी नआएको उनले प्रष्ट्याए । विद्यालयका अन्य समस्या समाधानका लागि भने विद्यालयमै व्यवस्थापन समिति हुने उनले बताए । उनले विद्यालयमा कुनै समस्या भए र समितिले समाधान गर्न नसकेको खण्डमा प्रक्रिया पु¥याएर मात्रै महानगरपालिकामा आउनु पर्ने बताए । प्रअ ढुङ्गेलले भने महानगरमा हुने मासिक बैठकमा आफूले विद्यालयको समस्याको बारेमा जानकारी गराइसकेको बताइन् । उक्त बैठकमा महानगरपालिकाका मेयर भीम पराजुली र शिक्षा महाशाखा प्रमुख उपसचिव रुद्र दुलालको समेत उपस्थिति रहेको उनले बताइन् ।
शिक्षक नै चौकीदार सत्यनारायणमा १ सय २५ विद्यार्थी अध्ययन गर्छन् । विद्यालयको उत्तरपट्टिको ‘वाल’ भत्किएको वर्षौं भइसके पनि निर्माण हुन सकेको छैन । पर्खाल भत्किएका कारण हाल उक्त विद्यालयमा लागूपदार्थ दुव्र्यसनीको अखडा साथै चोरी गर्ने प्रअ ढुङ्गाना बताउँछिन् । दुव्र्यसनीहरुको लागि विद्यालयको चउर सुरक्षित स्थान बनेको प्रअ ढुङ्गेल बताउँछिन् । ‘कति कराउँदा र भन्दा पनि टेर्दैनन्’ उनले भनिन्, ‘कति त यही स्कुलमा पढेका हाम्रै पुराना विद्यार्थीसमेत हुने गरेका छन् ।’ विद्यालयमा लागूऔषध सेवन गर्ने मात्र होइन, विद्यालयमा जे भेट्यो त्यही टिपेर हिँड्ने गरेका कारण हैरान पारेका छन् । साना विद्यार्थीहरूले ल्याएका साइकलसमेत चोर्ने गरेको उनले बताइन् । विद्यालयका विजुलीका तारसमेत चोरी गरेका छन् । ‘विद्यालय शुरु भएपछि एकजना शिक्षकले ढुक्कै निगरानी गर्नुपर्छ’ उनले भनिन्, ‘आँखा झिमिक्क गर्न हुँदैन, कुन बेला सामान गायब हुन्छ पत्तै हुँदैन ।’ प्रहरीले समाते पनि छाडिहाल्ने गर्दा पनि तिनीहरूले त्यसो गर्ने गरेका छन् । प्रहरीले लगेर के हुन्छ एकछिनमा छाडिहाल्छ भन्दै अटेर गर्ने गरेको प्रअ ढुङ्गेल बताउँछिन् । उनले वाल निर्माणको लागि महानगरलाई भने पनि सुनुवाइ नभएको गुनासो गरिन् । वाल नहुँदा बाहिरका मानिस पनि चौरमा आएर बस्ने । एउटा भएको चापाकलमा पनि विद्यालय नजिकका छिमेकीहरू पानी थाप्न आउने गरेका छन् । जसले विद्यार्थीहरूको पढाइमा बाधा पुग्ने गरेको छ । भत्केको ठाउँबाट भाग्न सजिलो हुँदा विद्यार्थीहरू पनि कक्षामा नबसी भाग्ने गरेका छन् । ‘पालो गरेर चौकीदारी नगरे ४ बजेसम्म त एउटा पनि विद्यार्थी हुँदैनन्’ –प्रअ भन्छिन् ।