भद्रपुर । मेची अञ्चलको एकमात्र सरकारी क्याम्पस पछिल्लो समय प्राविधिक शिक्षातर्फ उन्मुख भएको छ । विगत ५४ वर्षअघि पेट्रोलमेक्स बालेर अध्ययन शुरु गरिएको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा हाल विभिन्न पाँच ओटा प्राविधिक विषयको पठन–पाठन सञ्चालनमा आएसँगै यसको मुहार फेरिएको हो । नेपाल सरकारको शैक्षिक नीतिमा आएको परिवर्तनसँगै विश्वविद्यालयले पनि आफ्नो पठन–पाठन र त्यसको सञ्चालन विधिमा परिवर्तन गरेअनुसार विभिन्न विषयका समयसापेक्ष कक्षाहरू सञ्चालन हुँदै आइरहेका छन् । वि.सं. २०५५ सालदेखि विकेन्द्रीकरणमा गएको यस क्याम्पसले स्थापनाको ५० औं वर्षको अवसर पारेर स्वर्ण महोत्सव मनाइसकेको छ । ०७३ जेठदेखि स्वायत्ततामा प्रवेश गरिसकेको यो क्याम्पसले स्वरोजगारमूलक विषयहरु क्रमशः थप गर्दै आइरहेको छ । हाल यो क्याम्पसमा बीबीए, बीसीए, बीएससीआइटी, बिएस्सी इन्भाइरोन्मेन्ट कक्षा सञ्चालन भइरहेका छन् ।
बीएस्सी सिएसआइटीको पनि स्वीकृत पाइसकेकाले कक्षा सञ्चालनको अन्तिम चरणमा पुगेको शैक्षिक शाखाले जनाएको छ । क्याम्पसमा बिएस्सी टीटीएम (चिया प्रविधि) भने हाल विद्यार्थी नभएर एक वर्षयतादेखि पठन– पाठन बन्द भएको छ । उल्लिखित विषयहरूमा निश्चित सिट हुने भएकाले विद्यार्थी सङ्ख्या सो अनुरूप भएको क्याम्पस प्राध्यापक गङ्गाराम ढुङ्गेलले बताए । आउँदा वर्षहरूमा थप बीएस्सी नर्सिङ, ईपीएम, भौतिक तथा रसायनशास्त्र र ग्रामीण विकास विषयमा स्नातक र स्नानकोत्तर तहका कक्षा सञ्चालन गरी व्यवसायिक र प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने सोच अघि बढाइएको प्राध्यापक ढुङ्गेलको भनाइ छ । क्याम्पसमा ५ हजार विद्यार्थी अध्ययनका लागि आइरहेको अवस्थामा विश्वविद्यालयले नियम मिचेर एक किलोमिटरको दूरीमा स्नातक तह अध्ययनको लागि अनुमति दिएका कारण विद्यार्थी सङ्ख्या घटेको उनले बताए । विज्ञान विषयको पढाइ अन्य स्थानमा नहुने भएकोले टाढा–टाढाबाट सो विषयका विद्यार्थी आउने गरेको उनले सुनाए । हाल १ हजार ६ सय ६३ जना विद्यार्थीले अध्ययन गरिरहेको उनको भनाइ छ । पूर्वका अधिकांश जिल्लाबाट अध्ययन गर्न आउने गरेको यो क्याम्पसमा शैक्षिक नीतिका कारण बीचमा केही खस्के पनि पछिल्लो समय उन्मुख हुँदै गएको पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताए । अबको समय प्राविधिकतर्फ ढल्केकाले क्याम्पसले प्राविधिक शिक्षामा जोड दिँदै गुणस्तरीय अध्ययन गराउन आवश्यक देखिएको दाहाल बताउँछन् । सो समयमा उच्च अध्ययनको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यतालाई महसुस गर्दै २००२ सालमा भद्रपुर हाईस्कुलको स्थापना भएको थियो । झापा र इलामका विद्यार्थीले एसएलसी परीक्षा दिन भारतको कटिहार र जोगबनी हुँदै धरान जाने गरेका थिए । वि.सं. २०२० सालदेखि एसएलसीको परीक्षा भद्रपुरमा नै हुन थालेपछि वि.सं. २०२१ असोज १२ गते तात्कालीन ब्रिगेडियर जनरल भुपालमानसिंह कार्कीको सक्रियतामा भद्रपुर हाईस्कुलको भवनभित्र पेट्रोलम्याक्स बालेर साँझ ५ देखि ९ बजेसम्म कक्षा सञ्चालन हुने गरी मेची महाविद्यालयको नामले क्याम्पसको स्थापना भएको थियो । मानविकी सङ्कायको आईए तहबाट शुरु भएको क्याम्पसलाई आफ्नै भवनमा सञ्चालन गर्नका लागि चन्द्रगढीका वेचन हरिचनले नगद २५ रुपैयाँबाट चन्दा उठाउन शुरु गरेको इतिहास छ । वि.सं. २०२३ साल भदौ १२ गते तात्कालीन अञ्चलाधीश बद्रीविक्रम थापाको सक्रियतामा भद्रपुर–८ मा ७ बिगाहा र सोही क्षेत्रफल बराबरको जमिन क्याम्पसले खरिद गरी वि.सं. २०२७ सालदेखि आफ्नै भवनमा पठन–पाठन सञ्चालन गर्दै आएको उल्लेख छ । क्याम्पसमा २०३९ सालबाट आईकम अध्यापन हुँदै आएको थियो । विद्यार्थीको चाप अत्यधिक बढेपछि बिहान, दिउँसो र सन्ध्याकालीनमा समेत पढाइ हुने गरेको प्राध्यापकहरू बताउँछन् । झापाभित्र विभिन्न दाताहरूले निःशुल्क प्रदान गरेको र क्याम्पसले खरिद गरेको गरी १ सय ४६ विगाहा १८ कठ्ठा साढे १६ धुर जग्गा क्याम्पसको रहेको छ । १ सय २६ जना शिक्षक र ५४ जना कर्मचारी कार्यरत रहेको प्रशासन शाखाले जनाएको छ ।