सङ्खुवासभा । जिल्ला सदरमुकाम खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा सिंचाइका लागि शुरु गरिएको अरुण नदीको पानी लिफ्टिङ प्रणालीबाट सिंचाइ गरिने योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र महिनामा शुरु गरिएको आयोजनाको हालसम्म इनार निर्माण, तुम्लिङ्टारमा ट्याङ्की निर्माण, पाइप जडान, पम्प सञ्चालन गर्न सोलार जडानलगायतका काम सम्पन्न भइसकेको छ भने प्रणालीमार्फत् ट्याङ्कीमा पानीसमेत आइपुगेको छ । तुम्लिङ्टारको भेडेटारस्थित पानी ट्याङ्कीमा अरुणको पानी ९ सय ५० मिटर पाइप जडान गरिएको र ट्याङ्कीमा पानीको सफल आपूर्ति परीक्षणसमेत भइसकेको उपभोक्ता समितिका अध्यक्ष डेगराज बस्नेतले बताए । अरुण नदीबाट प्रतिसेकेण्ड ५ लिटर पानी आउने बताए । अब केही प्राविधिक त्रुटीको अध्ययन र केही कृषकहरूको बारीमा धारा जोड्न मात्र बाँकी रहेको अध्यक्ष बस्नेतको भनाइ छ । पानी तान्ने ठाउँमा विद्युत् नपुगेको कारण २० किलोवाटको सौर्य ऊर्जा जडान गरी पानी तान्ने पम्प जडान गरिएको सोलार कम्पनीका प्राविधिक राजेन्द्र केसीले बताए । उनले भने, ‘सामान्य प्रकाशबाट पनि बढी ऊर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ’ प्रविधि जडान गरिएकोले थोरै घाम लाग्दा पनि जडित सौर्य विद्युत् प्रणालीले राम्रो विद्युत् उत्पादन हुने प्राविधिक केसीले बताए । करिब एक करोड रुपैयाँको लागतमा सिंचाइ डिभिजन कार्यालय सङ्खुवासभाद्वारा प्राप्त आयोजनाबाट तुम्लिङ्टारका दुई सय रोपनी जमिन बाह्रै महिना सिंचित हुनेछ । दुईसय रोपनी क्षेत्रफल जमिनको लागि सय वटा धारा जडान गरिने उपभोक्ता समितिले जनाएको छ । हालसम्म ७४ वटा धारा जडान भइसकेको छ भने बाँकी २५ वटा धारा केही दिनमा नै जोडिसक्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । प्रत्येक धाराबाट ‘फिर्के’ को प्रयोग गरी जमिन सिंचित गर्ने व्यवस्था गरिएको छ । सिंचाइको व्यवस्था भएपछि तुम्लिङ्टार क्षेत्रमा व्यवसायिक तरकारी खेती र माछापालन गर्ने योजना रहेको स्थानीय कृषकहरूे बताउँछन् । हिउँद महिनामा सुख्खा रहने तुम्लिङ्टार क्षेत्रमा बाह्रै महिना सिंचाइको व्यवस्था हुन लागेपछि स्थानीय कृषकहरु उत्साहित बनेका छन् ।