तेह्रथुम । पहाडै पहाड हुँदै पाँचथरको चियो भन्ज्याङ देखि बैतडीको झुलाघाट जोडिने मध्यपहाडी लोकमार्ग निर्माण रोजगारीको गन्तव्य बन्दै गएको छ । राष्ट्रिय गौरव बोकेको योजना मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरलाई यो आयोजना रोजगारीको गन्तव्य बनेको हो । तेह्रथुम अन्तर्गतको विभिन्न सडक खण्डमा काम गर्ने प्रायः मजदुर तराई र पश्चिमतिरका छन् । बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीका दाजुभाइ अहिले तेह्रथुममै मजदुरी गरिरहेका छन् । चौधरीहरु जस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका मात्रै २० जना युवाहरु अहिले मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्ड अन्तर्गत ओयाक्जुङमा कार्यरत छन् । गाउँघरमा काम पाए पनि ज्याला कम हुने र कामको निरन्तरता पनि नहुने भएकाले घरमा श्रीमतीलाई एक्लै छाडेर पनि यति टाढासम्म आएर काम गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिकाका–४ का ३६ वर्षीय प्रेमकुमार चौधरीले बताए । कामका लागि चौधरी मात्र आएनन् उनका आफ्ना दुई जना भान्जाहरुसहित मजदुरीका लागि सुदूर पूर्वको तेह्रथुममा छन् । लोकमार्गमा काम गर्दा दैनिक ५ सयदेखि १२ सयसम्म कमाइ हुने मजदुर टोलीका संयोजक प्रेमकुमार चौधरीले बताए । ‘मिस्त्रीको दैनिक १२ सयसम्म हुन्छ, अरु हेल्पर र ढुङ्गाको काम गर्नेहरुको ५ सयदेखि ७ सय, बढीमा ९ सयसम्म कमाइ हुन्छ’ –उनले भने । लोकमार्गमा काम गर्नेको प्रतिव्यक्तिको दैनिक ज्यालाबाट मासिक २५ देखि ४० हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ । उनीहरु सिकिस्त बिरामी पर्दा र चाडपर्वबाहेक अन्य समयमा घर पुग्दैनन् । ६ महिनामा एक पटकसम्म घरमा पुगेर घर व्यवहार मिलाउने र फेरि मजदुरीमै फर्किने चलन रहेको प्रेमकुमारले बताए । उनीहरुले ठेकेदार कम्पनीबाट काम लिएर मेसिनरी वाल, ग्याभिङ भर्ने, नाली निर्माण गर्नेलगायत काम गरिरहेका छन् । ‘गाउँमा खेती गरिखाने जमीन कम छ, मजदुरी गर्दा ज्याला पनि कममात्रै पाइन्छ’ रामबहादुरले भने, ‘त्यसैले दुई–चारपैसा जोहो गर्न यता आएका हौँ ।’ पढ्ने र भविष्य बनाउने उमेरका धेरै युवा पनि गरिबीका कारण मजदुरी गर्न बाध्य देखिए । कक्षा ११ को परीक्षा लेखेर पढाइ पूरा गर्ने खर्च नहुँदा मजदुरी गर्न यहाँ आएका बेलौरी नगरपालिका–६ का अशोककुमार चौधरीले पढ्न मन भएको तर कमजोर आर्थिक अवस्थाले मजदुरी गर्नुपर्ने बाध्यता सिर्जना गरेको बताए । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा तमोर नदीको माझीटार दोभानदेखि म्याङ्लुङ सडक–खण्ड (८९ किमी) का विभिन्न क्षेत्रमा धमाधाम काम भइरहेको छ । माझीटार सङ्क्रान्ति हुँदै म्याङ्लुङ जोडिने सडक–खण्डमा अहिले ग्याभिङ, ब्याक कटिङ, ड्रेन निर्माण, सडक चौडा गर्नेलगायत कामहरु भइरहेका छन् । सडक निर्माणका क्रममा अहिले यहाँ विभिन्न काममा गरी एक हजार बढी मजुदरहरु कार्यरत छन् । १७ वर्षे ठिटादेखि विवाहित परिपक्व बूढापाकाहरु पनि लोकमार्गमा मजदुरी गरिरहेका भेटिन्छन् । कतिपय परिवारसहित साना नानीहरुसमेत लिएर मजदुरी गरिरहेका भेटिन्छन् । तीमध्ये अधिकांश पश्चिम तथा तराईका मजदुरहरु रहेको लोकमार्गको सो खण्ड हेर्ने इञ्जिनियर सुरेश तुम्बाहाम्फेले बताए । यो खण्डमा कालोपत्रेसम्म गर्नका लागि कोशी न्यौपाने, सिंह एण्ड ब्रदर्स, रसुवा, हिलाई, सिद्धिसाई, कालिकालगायत निर्माण कम्पनीहरुले कामको जिम्मा पाएको इञ्जिनियर तुम्बाहाम्फेले बताए । ‘विभिन्न खण्डको काम विभिन्न चरणमा गरेर भइरहेको छ’ उनले भने, ‘बीच–बीचमा चुनाव र चाडपर्वले असर गरेपनि अहिले पुनः काम धमाधम शुरु हुँदैछ ।’ यो खण्डमा पश्चिम नेपालका कञ्चनपुर, कैलाली, रुकुम, रोल्पा, सुर्खेत, सल्यान डोटी, सप्तरी, सिराहा र सुनसरीका समेत गरी ७ सय बढी कामदार रहेका छन् । बाँकीमध्ये केही तेह्रथुमकै स्थानीय कामदार र सङ्खुवासभा तथा भोजपुरका पनि केही कामदारहरु रहेका उनले बताए । दुई वर्षअघि नै कालोपत्रेसम्मका लागि ठेक्का लागेका लोकमार्गका यी खण्डहरुको कामको प्रगतिका आधारमा भने खासै सन्तोषजनक नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले बताइन् । त्यतिबेलासम्म ओयाक्जुङ–हलिमेला–म्याङ्लुङ खण्डमा कालोपत्रे भइसक्नु पर्ने हो ।