तेह्रथुम/ कसैका हातमा बाँसका कप्टेरा त कसैका हातमा खुकुरी । कसैले बाँसका सुइरा खुर्किरहेका हुन्छन्, त कोहीले मुढा बुन्दै र साथीलाई सिकाउँदै हुन्छन् । जिल्ला कारागार तेह्रथुममा कैदीहरू उत्साहित मुद्रामा केही न केही गरिहेका भेटिन्छन् ।

म्याङलुङ–१० शाब्लाका पूर्ण बहादुर तामाङ कारागारमा सजाय भुक्तानसँगै सीपयुक्त भएर घर फर्कदैँछन् । उनी भन्छन्, ‘म आउँदा कारागार खोर जस्तै थियो, अहिले उद्योग भयो ।’ उनी अहिले मुढा बुन्न खप्पिस छन् । परिवार भेट्न आउनेलाई उनी खाली हात फर्काउँदैनन् । कुटपिट सम्बन्धी मुद्दामा जिल्ला कारागार आएका उनले मासिक ३ देखि ५ हजार आम्दानी गर्ने गरेको बताए । कारागारका कैदीबन्दी मध्ये उनले मुढा बुनेर सबैभन्दा बढी आम्दानी गर्छन् । उनले कैद भुक्तान सँगसँगै परिवारको गुजारा पनि कारागारबाट गर्दै आएका छन् । तामाङले कैद भुक्तान गरेपछि पनि मुढा बुन्ने उद्योग खोलेर अगामी दिन बिताउने योजना सुनाए । कारागारमा तामाङमात्रै होइन रामबहादुर शेर्पा, लिलम बरालको पनि जीवन भोगाइसँगै जीवन सुधार्ने राम्रो माध्यम बनेको छ । ‘पहिलेभित्र समय बिताउन मुस्किल हुन्थ्यो,’ मुढा बुन्ने काम गर्दै आएका शेर्पाले भने, ‘अहिले दिन काट्न धेरै सजिलो भएको छ ।’ उनीहरूले अहिले मुढा, थुन्से, नाङ्लो, डालो बुनेर मासिक ३ हजारदेखि ५ हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनीहरूको सोचाइ छ, कैद मुक्त भएपछि उद्योग खोल्ने र जीविकोपार्जन गर्ने । त्यस्तै कारागारभित्रै बाँसको मुढा बनाउने आठराई गाउँपालिका थोक्लुङ्गका रामबहादुर विक पनि मुढा बुन्नमा व्यस्त छन् । उनले मासिक ३ हजारभन्दा बढी कमाउने गरेको बताए । ‘कमाइसँगै मानसिक तनाव पनि कम भएको छ ।’ उनले भने ।  कोही मुढा बुनिरहेका, केही ढाकाको टोपी बुन्दैमा मस्त, कोही थुन्से, कोही डालो, त कोही अरूलाई सिकाइरहेका, कोही बासुरी बजाइरहेका जिल्ला कारागारको यो दृश्यलाई मनमोहक पनि भन्न सकिन्छ । यो रोचक पनि लाग्न सक्छ । कैदलाई मिहिनेतसँग साटेका उनीहरूलाई भेट्न आएका आफन्तलाई दिने फुर्सदिलो समय हुँदैन । जिल्ला कारगारभित्र बुनेका मुढा तथा ढाकाका टोपी जिल्लामै सबैभन्दा राम्रो र बलियो मानिन्छ । उत्पादित मुढा तथा ढाकाका टोपीहरू जिल्ला सदरमुकामलगायत बाहिरी जिल्लासमेत जाने गरेको कारगारका चौकीदार जितेन्द्र कार्कीले जानकारी दिए । कैदीबन्दीले आफैँ लगानी गरेर मुढा बुन्ने, ढाका कपडा बुन्ने गरिरहेकाले राज्यले नै उद्योग खोलेर काममा लगाउन सके खेर गइरहेको श्रमबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सक्ने चौकीदार कार्कीको भनाइ छ । २५ जना पुरुष र १० जना महिलाको क्षमता रहेको कारागारमा ५ महिलासहित ८८ जना कैदीबन्दी रहेका छन् । जसमा जबरजस्ती करणी ४५, कर्तव्य ज्यान २५, चोरी ३, जिउ मास्ने बेच्ने १, आगोलागी १, गौवध ४, बहुविवाह ३, ठगी ३, हातहतियार सम्बन्धी १, कुटपिट १, अपहरण तथा शरीर बन्धक १ रहेका जेलर उमेश घिमिरेले बताए । जीर्ण अवस्थामा रहेको यो कारागारमा रहेका कैदीबन्दी मध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आय आर्जन गरिरहेका छन् । कारागार नराम्रो काम गर्नेहरूलार्य सुधार्ने थलो हो । कैदी बन्दी सीप सिक्दै सुध्रँदैछन् ।