भद्रपुर । उच्च शिक्षा हासिल गरेर रोजगारीका लागि भौतारिने र पैसा कमाउन वैदेशिक रोजगारीमा जाने युवाहरुको माझमा स्वदेशमा नै आफनो कला–सीपलाई प्रयोग गरे सोचेजति आम्दानी गर्न सक्ने प्रत्यक्ष रुपमा देखाएका छन् झापा भद्रपुर ८ का निर्मल शाक्यले । यत्रतत्र खेर जाने र आगो बालेर नष्ट गरिने बाँसका जराबाट विभिन्न जनावर ,चराचुरुङ्गी,देवी–देवताको समेत आकृति बनाएर व्यवसाय सञ्चालन गर्दै आइरहेका शाक्यले आफनो व्यवसायलाइ नेपाल हुदै विदेशसम्म पुर्याएका छन् । साविक भद्रपुर ४ हाल सोही नगरको ८ नम्बर वडामा जन्मिएका ५२ वर्षका उनले भद्रपुर माध्यामिक विद्यालयबाट प्रवेशिका अध्ययन पूरा गरेका थिए । उच्च शिक्षाका लागि काठमाण्डौको मीनभवन क्याम्पसमा गएका उनले अध्ययनसँगै हस्तकला क्षेत्रमा लागेको सुनाए । तीनवर्ष दुबइमा रोजगारी गरी नेपाल आएका शाक्यले गहुँको छवाली , सुपारीको पात,मकैको ढोडबाट भित्ते घडी, स–साना घर बनाउदै आएका उनले विगत १५वर्ष यता भने बाँसका जरासँगै सिसौ,टीक, निम, खमारी,कटहर लगायतका काठ प्रयोग गरेर आकृति बनाउदै आएका छन् । चारजना कालीगढको साथ लिएर उनले ड्रागन, हरिणको टाउको,आदिवासी मान्छे, श्रवण कुमारले आमा बुवा बोकेको ,हलो जोतिरहेको लगायतका सयभन्दा बढी प्रकारका आकृति बनाउदै आएको बताउँछन् । भद्रपुरकै सञ्जय प्रधानको प्रेरणा र नेपाल हस्तकला कालिगढको सहयोगमा यहाँसम्म आइपुगेको उनले स्मरण गराए । दुइ सन्तान र श्रमितीसगै बस्दै आएका शाक्य परिवार पेसाप्रति सन्तुष्ट भएको बताउँछन् । सजावटका आकर्षक हस्तकलाका सामग्री बनाउन सिपालु तथा परिश्रमिकले पटक–पटक मुलुकका विभिन्न शहरमा आयोजित उत्सव तथा महोत्सवमा कला प्रदर्शन र प्रोत्साहन पाइसकेपनि स्थानीय सरकार भद्रपुर नगरको नजरमा भने पर्ननसकेको उनले गुनासो सुनाए । हालसम्म नगरले कुनै उत्प्रेरणा नदिएकोमा खल्लो लागेको उनी बताउँछन् । नगरले करमात्र लिने तर यस्ता सीप भएकालाइ सहयोग नगरेको प्रति दुखित बनेका थिए । हस्तकलामा रुची बढदै गएपछि ०६१ सालमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा शाक्य हस्तकला केन्द्र दर्ता गराएको बताए । शुरुमा दशहजार रकमबाट लगानी गरिएको पेशामा हाल वार्षीक तीनलाख आम्दानी गर्दै आएको उनले बताए । हालसम्म राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तीसओटा विभिन्न महोत्सवमा स्टल राखी प्रमाण पत्र समेत पाएको उनले जनाए । हस्तकलाको व्यावसायलाइ अझ उचाइमा पुर्याउन बुटवल,धरान,काठमाण्डौ,दमक,विराटनगर,इलाम र बाहिरी भारतको उत्तराखण्ड देहरादून,चीन लगायतका देशमा सामान बिक्री हुने गरेको उनको भनाइ छ । यहि आउँदो भदौ २० देखि २४ सम्म चीनमा हुने महोत्सवमा निम्तो पाएकोले स्टल निःशुल्क र आउने जाने तथा होटल खर्च समेत गरी १ लाख ५ हजार रुपैया पठाइसकेको उनले बताए । ‘यति धेरै रकम खर्च गरेर चीन जादैछु’ ‘व्यापार के हुने हो थाहा छैन उनले भने । ’ चीनभन्दा अघि अफ्रिका,हङ्गेरी,फ्रान्स लगायतका देशबाट निम्तो आएपनि खर्चको अभावले जाननसकेको उनको भनाइ छ । कलालाइ हेरेर ०७३।७४ मा जिल्ला वन कार्यालयले ७० हजार रुपैया अनुदान दिएको उनले बताए । मङ्सीर देखि वैशाखसम्म यसको‘ सिजन’भएपनि महोत्सव भए कमाइ राम्रो हुने उनको भनाइ छ । एउटा महोत्सवमा अनुमानित ६० हजार रुपैयाको कारोबार हुने गरेको उनि बताउँछन् । निर्माण गरिएका सामग्रीको चौधसय देखि दश हजारसम्म मूल्य पर्ने गरेको उनले सुनाए । मिहिनेत गरेअनुसार सामानको मूल्य तोकिने उनको भनाइ छ । यसरी सञ्चालनमा आएका हस्तकला व्यवसायलाइ सरकारको तर्फबाट बजार प्रवर्धन र प्रोत्साहन हुने हो भने हस्तकलाबाट नाम र दाम दुवै राम्ररी कमाउन सकिने भएकोले स्थानीय सरकारले ध्यान दिनु पर्ने उनको माग छ ।