धनकुटा । धनकुटा–६ खाल्डेका टिकाराज कार्कीलाई हिजोआज पैसा कमाउन विदेश जानु परेको छैन । अहिले उनलाई पैसा कमाउन आफ्नै गाउँ–घरमा भ्याइनभ्याई छ । ०५७ साल देखि ०६१ सालसम्म टिकाराजले जिल्ला निर्वाचन कार्यालय धनकुटामा कार्यालय सहयोगीका रूपमा काम गरेका थिए । उनी जिल्ला निर्वाचन कार्यालयका स्थायी कार्यालय सहयोगी थिए । तर, कार्यालय सहयोगी भएर सरकारी नोकरी खाँदा पैसा कमाउन नसकेपछि कार्की रोजगारीको सिलसिलामा ०६२ सालमा मलेसिया हानिए । मलेसियामा पनि भने जस्तो कमाइ नभएपछि १ वर्षपछि फेरि नेपाल नै फर्किए । नेपाल फर्किएर ०६३/०६४ सालमा कार्कीले आफ्नो नाममा धनकुटा–६ खाल्डेमा रहेको ४५ रोपनी घर जग्गा धरौटी राखेर १३ लाख रुपैयाँ ऋण लिएर फेरि इराक गए । इराकमा २ वर्ष काम गरेपछि पुनः अफगानिस्तान गएर ५ वर्ष काम गरेपछि ७ वर्ष काम गर्दा उनको हातमा ४५ लाख रुपैयाँ आयो । इराक र अफगानिस्तानमा बस्दा प्रतिमहिना १ लाख रुपैयाँसम्म कमाउँथे । इराक र अफगानिस्तानमा रहँदा अमेरिकन आर्मीको वायर हाउसमा काम गर्थे । उनी जस्तै अमेरिकन आर्मीकहाँ वायर हाउसमा ६३ हजार नेपाली सो समयमा काम गर्ने गरेको तथ्याङ्क कार्कीले सुनाए । दुःख गरेर जोखिम मोलेर इराक र अफगानिस्तानमा काम गरेर ७ वर्षमा ४५ लाख कमाएपछि उनी ३ वर्ष अघि ०७३ सालमा नेपाल फर्किए । घर आएपछि घरजग्गा धरौटी राखेको १३ लाख रुपैयाँ ऋण लिएको साँवा ब्याज चुक्ता गरे । त्यसपछि सबैभन्दा पहिले उनले आफ्ना छिमेकी काका उद्धव वाग्लेको सहयोगमा इलामबाट जर्सी र होलस्टेन गाई ४८ हजार ८ सय ७५ हजार रुपैयाँ प्रति गाई ३ वटा खरिद गरे । त्यसपछि उनले शुरु गरे गाईपालन व्यवसाय । पछि फेरि १ लाख ४० हजारमा धनकुटाको सिधुवाबाट र १ लाख ६० हजारमा इलामको फिकलबाट ८ ओटा होलस्टेन गाई ल्याए । अहिले कार्कीसँग ११ वटा माउ गाई छन् । अहिलेसम्म गाई पालनका लागि कार्कीले २२ लाखभन्दा बढी रुपैयाँ लगानी गरिसकेका छन् । दैनिक ११ वटा गाईबाट ७० देखि ८० लिटर दूध उत्पान हुने गरेको कार्की बताउँछन् । कार्कीले प्रति लिटर ६० रुपैयाँले दूध बिक्री गर्ने गरेका छन् । दूध बिक्रीबाट कार्कीले दैनिक ४ हजार ८ सय रुपैयाँ कमाउँछन् भने मासिक १ लाख ४४ हजार कमाइ हुन्छ । १ लाख ४४ हजार कमाइ हुने कार्कीको ४५ देखि ५० हजार मासिक खर्च पनि छ । यसरी हेर्दा कार्कीले वार्षिक १२ लाखभन्दा बढी रकम कमाइ हुने बताउँछन् । उनले काम गर्नका लागि श्रीमती देवी र १ जना सहयोगी पनि राखेका छन् । कामदारलाई प्रति महिना ३१ सय रुपैयाँ हरेक दिन बिहान बजारसम्म दूध पु¥याए वापत् दिन्छन् । बाँकी काम सबै उनी आफैँ गर्छन् । उनको जिल्ला सदरमुकाम धनकुटा बजारमा ४० देखि ५० घर ग्राहक छन् । हरेक घरमा उनी हरेक दिन दूध पु¥याउन आफैँ जान्छन् । उनलाई घरबाट दूध बिक्री गर्न धनकुटा बजार आउन करिब १ घण्टा लाग्ने गर्दछ । कार्कीले आफ्नो ४५ रोपनी बारी मध्ये १० रोपनीमा क्षेत्रफलमा गाईलाई आवश्यक पर्ने विभिन्न प्रजातिका घाँसहरू सुम्बा सिटेरियो, नेपियर, पारा, पासपालन, सिओ फोर, मलासेस र पासपालमलगाएका छन् । उनले गाईलाई १२ मास घाँस आवश्यक पर्ने हुनाले आफ्नै बारीमा व्यवसायिक रूपमा घाँसको खेती थालेको बताए । भुईं घाँससँगै उनले आफ्ना गाईलाई रुख घाँस निवारा, गोगुन, पयूँलगायत घाँससमेत प्रसस्तै लगाएका छन् । हिउँदमा घाँस नपुग्दा पराल समेत खरिद गर्ने गरेको कार्की बताउँछन् । अहिले उनको १ छोरा र श्रीमतीसँगै बसेर गाई पालन व्यवसाय गरिहेका छन् । घर व्यवहार टार्नमात्र हैन मासिक रूपमा राम्रै आम्दानी भैरहेको कार्कीले बता । अझ गाईपालन र दूध उत्पादन व्यवसायलाई व्यवस्थित बनाउन माइदेवी कृषि फर्मसमेत हालै दर्ता गरेको कार्कीले बताए । कार्कीजस्तै विदेशमा ज्यानको बाजी थापेर दुःख गरेर कमाएको धनलाई सही सदुपयोग गर्न सके जिन्दगी भरी विदेश जान नपर्ने नेपालमै आफन्त र परिवारसँग बसीबसी लाखौँ रुपैयाँ कमाएर भरपर्दो रोजगारी सिर्जना गर्न सकिने देखिन्छ ।