रङ्गेली । आफ्ना समस्या बुझ्छन् भनेर गाउँघरमै ल्याएकोे सिंहदरबारले बेवास्ता गरिदिँदा यहाँका किसान मर्माहत भएका छन् । घरआँगनमा आएको स्थानीय सरकारले सहयोग गर्ला भनेर हौसिएका किसानहरू अहिले निराश बनेका छन् । नेपाल सरकारले किसानलाई वितरण गर्दै आएको अनुदान स्थानीय सरकारले रोकेको छ । कृषिको बजेट स्थानीय तहले मनखुसी खर्च गरेपछि किसानहरू आक्रोशित छन् । कृषकको समस्यामा स्थानीय सरकारले चासो नदिएको किसानको दुखेसो छ । मोरङको कटहरी गाउँपालिका–१ मा गाईपालन गर्दै आएका किसान सुजनराज खरेलले स्थानीय सरकार आएपछि किसानहरू उपेक्षामा परेको बताए । गाईपालनबाटै खरेलले ०७१ मा कृषि गाईभैंसी प्रवद्र्धन र ०७३ मा राष्ट्रपति पुरस्कार पाइसकेका छन् । उनी अहिले पेशाबाट पलायन हुने सोचमा पुगेका छन् । गोठका गाई घटाउँदै लगेका छन् । ‘यहाँ वास्तविक किसानको पीडा बुझिदिने कोही छैन’ उनले भने, ‘व्यवस्थित बजार नहुँदा कतिबेला दूध पोख्नु पर्ने हो पत्तै हुँदैन ।’ किसानको मिहिनेतको कदर नहुँदा दुःख लाग्ने गरेको खरेल बताउँछन् । खरेलले गाईमात्र पालेनन्, गाईको विषयमा अनुसन्धान गरेर सफल परीक्षण गरे । जसलाई कृषि अनुसन्धान केन्द्रले समेत स्विकारेको उनको दाबी छ । लगानीको अभावमा उनको अनुसन्धान रोकियो । बैङ्कले उनलाई ऋण दिएन । ‘गाई पाल्नेको सम्पत्ति गाई नभएर के हुन्छ ? तर बैङ्कले सम्पत्ति मानिदिएन’ उनले भने ‘सुँगुरको पाठोदेखि धानको बालासम्मको इन्स्युरेन्स गर्न धन ठहरिन्छ तर, त्यसकै आधारमा ऋण माग्दा बैङ्क मान्दै विचित्र नियम !’ जसको कारण उनको अनुसन्धानलाई अगाडि बढाउने सपना तुहियो । उनले भने, ‘देशमा बस्नै मन लाग्दैन ।’ किसानहरूले पाउँदै आएका सेवा सुविधा नै कटौती गरेपछि किसानहरू स्थानीय सरकारसँग गुनासो गर्छन् । जहदा गाउँपालिका–५ का माछापालक किसान सोगारथ मण्डलले स्थानीय सरकारलाई कृषि हेर्ने जिम्मा दिनु गलत भएको विचार राख्छन् । उनले भने, ‘सबै आफ्नो पकेटको मानिसलाई मात्र सुविधा दिन्छ ।’ स्थानीय सरकार आउनु अघि पाउने अनुदान मण्डलले पाउन छाडेका छन् । जिल्ला कृषिबाट हुने सोधखोज स्थानीय सरकार आएपछि बन्द भएको छ । मोरङको कटहरी गाउँपालिकामा सञ्चालित ‘मोहन गौसाला’ मा १ सय ५० गाई रहेकामा उन्नत जातका गाई थप्नका ८० वटामा सिमित गरेको छ । गाई भारतबाट ल्याउन अत्यन्तै झण्झटिलो प्रक्रिया हुँदा गौसालामा गाई थप्न नसकिएको सञ्चालक रविन ठाकुर बताउँछन् । नेपालमा पाइने उन्नजातका गाईले भन्दा भारतीय गाईले बढी दूध दिने भएकाले गाई थप गर्न लागेको ठाकुरले बताए । गाउँपालिकाको कुनै कार्यक्रम नहुँदा किसानको घरमा जान नसकिएको कटहरी गाउँपालिकाका कृषि प्राविधिक एकनारायण भण्डारी बताउँछन् । पहिले कार्यक्रम लिएर मात्र किसानकहाँ जाने गरिएकामा अहिले रित्तो हात जाँदा किसानले आश गर्छन । रित्तो हात किसानकोमा जान नसकिएको प्राविधिक भण्डारीले बताए । किसान लक्षित कार्यक्रम नपाउँदा उनीहरूमा निराशा फैलिएको प्राविधिक भण्डारी स्वीकार्छन् । सरकारले वास्तविक किसान पहिचान गरी सहयोग गरेमा देश कृषिमा आत्मनिर्भर बन्न सक्ने पक्का छ । विभिन्न देशका गाईपालन केन्द्रहरूको अवलोकन समेत गरिसकेका कृषक खरेलले सरकारले गाईपालक किसानलाई मात्र सहयोग गर्ने हो भने पनि उनीहरूले नेपाललाई ५ वर्ष भित्रमा दूधमा आत्मनिर्भर बनाउन सक्ने बताए ।