भद्रपुर/ नेपालको दोस्रो पुरानो शहर भद्रपुर नगरपालिकामा बसोबास गर्दै आएका मानिसहरु बाहिरिन थालेका छन् । अन्य क्षेत्रको तुलनामा भद्रपुर विकासको दृष्किोणले पछि परेको छ । मुख्यगरी भद्रपुर बजार क्षेत्रका घर परिवार सुगम स्थान खोज्दै हिडेपछि नगरलाइ चुनौती बढेको छ ।
पुरानो बजार भएपनि हालसम्म कुनै परिवर्तन नपाएपछि स्थानीय नगर छोड्न बाध्य भएका छन् । भद्रपुर बजारभन्दा अन्य स्थान हरेक कारणले सुगम बन्दै गएपछि मानिसहरु सोही क्षेत्रतर्फ आकर्षित बनेको पाइन्छ । हालको भद्रपुर बजार र आसपासको क्षेत्र वडा नम्बर ५ र ६ रहेको छ । यी वडामा अधिकांश व्यापार व्यवसाय मुख्य पेशाको रुपमा पाइन्छ । वि.सं. २००८ सालमा स्थापना भएको भद्रपुर ०५० को दशकसम्म सुदूर पूर्वी क्षेत्रको प्रमुख व्यापारीक केन्द्र मात्र थिएन धान–चामलजस्ता खाद्यन्य सामान निर्यातको केन्द्र पनि थियो । छिमेकी मुलुक भारतसँगको आयत–निर्यात व्यापारको प्रमुख नाका रहेको भद्रपुरमा दुइ दर्जनजति चामल मिल र ठूला–ठूला चिया कारखाना सञ्चालनमा थिए । हाल दुवै उद्योग खस्केको अवस्थामा छ । व्यापारीक गतिविधिमा केही शिथिलता आइ विकासमा पछि पर्दै गएको इतिहास छ । पछिल्लो समयको तथ्याङ्कलार्इ हेर्ने हो भने साविक चन्द्रगढी, महेशपुर, पृथ्वीनगर र भद्रपुर नगरपालिका समेत मिलेर बनेको भद्रपुर नगरपालिकाबाट बसाँइ सराइँ जाने परिवार बढको पाइन्छ । भद्रपुर बजारमा मात्र आर्थिक वर्ष ०७४/७५ मा ३५ घरले वडा छाडेका छन् । वडा नम्बर ५ मा ९ घर गएका छन् भने ६ आएका छन् । त्यसैगरी ६ नम्बर वडामा २६ घर गएका छन् भने १७ घर आएका छन् । नगरको दशवटै वडामा अनुमानित २ सय घरले वडा तथा नगर छाडेको समग्र वडाको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भद्रपुर वडा नम्बर १ का २८ घर गएका छन् भने १८ आएका छन् । त्यस्तै २ मा ४४ गएका छन् भने १९ आएका छन् । विषेश गरी भद्रपुर बजारमा रहेका मानिस काठमाण्डौ , विराटनगर लगायतका क्षेत्रमा व्यवसाय गरिरहेकोले बजार छाड्न थालेको हुनसक्ने झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरका महासचिव पङ्कज कुमार शर्मा बताउँछन् । मेची पुल बन्ला र व्यवसाय यतै गरौला भनेर दशकौदेखि आशमा बसेका मानिस त्यो अन्यौलमा भएपछि सुगम स्थान तर्फ जान थालेको उनको भनाइ छ ।
सेवा सुविधा सहज पाउने तर्फ मानिस सर्न थालेको वडा नम्बर ६ का वडाध्यक्ष प्रेम बहादुर बरुवाल बताउँछन् । बसाँइ सराइँ गएकामध्ये केही नगरबाहिरै गएका छन भने अन्यले सुविधाको हिसाबले वडा परिवर्तन गरेको वडाध्यक्ष बरुवालको भनाइ छ । शिक्षा,स्वास्थ्य,खेतीपाती, आफन्तजन लगायतका हिषावले यो परिस्थिती आएको उनले बताए । भद्रपुरभन्दा दूर्घममा बसोबास गर्ने भद्रपुर आउने गरेको र भद्रपुरभन्दा सुगम पाउनेले छाड्दै गएको वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले बताए । आर्थिक वर्ष ०७४/७५ मा नौ घरका तीसजनाले वडा छाडेको उनले सुनाए । पछिल्लो समय मानिसहरु बढी सुविधा लिन चाहेकोले अन्य क्षेत्रमा सर्नु स्वभाविक भएको उनको भनार्इ छ ।