धनकुटा/धनकुटा नगरपालिकाले बाह्य तथा आन्तरिक पर्यटकहरुको लागी आकर्षणको गन्तव्य बनाउने उदेश्यले धनपा वडा नं.८ चुलिवनमा ५० फिट अग्लो भ्यूटावर निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । धनकुटा नगरपालिकाको आ.व.०७४/०७५ को पर्यटन प्रवद्र्धन शिर्षक अन्तर्गतको बजेट कार्यक्रमको ४३ लाख, ३५ हजार, ६ सय ६३ रुपयाँको लागतमा ५० फिट अग्लो ५ तले भ्यूटावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाको योजना शाखाले जनाएको छ । धनकुटा नगरपालिकाको साविकको वडा नं.८ र ९ को संगम स्थल चुलिवनमा भ्यू टावर निर्माण भएसँगै धनकुटामा आउने पर्यटकहरुलाई धनकुटाको दृश्यअवलोकन गर्नको लागी एउटा आकर्षणको गन्तव्य बन्ने भएको हो ।
भ्यूटावर निर्माणको लागी जिम्मा लिएको सुदिक्क्षा थुलुङ कन्ट्रक्सन धनकुटा–५ ले ०७५ असार मसान्त भित्रै भ्यु टावरको निर्माण कार्य सम्पन्न गर्नु पर्नेमा भौगालिक विकटताको कारण समयमा निर्माण कार्य नसकिएको जनाएको छ । कन्ट्रक्सनका प्रोपाईटर प्रकाश थुलुङ्गले भ्यूटावर निर्माणको लागी ०७४ फागुण २२ गते नै सम्झौता गरेको भए पनि स्थानिय समुदायको चाडपर्वको समयमा हुने पुजाआजा र भौगोलिक विकटताको कारणले गर्दा निर्माण कार्य ढिलो भएको ब्लाष्टलाई बताए । उनले निर्माण कार्यको थालनी गर्नु भन्दा पहिले बाटो निर्माण गर्नु पर्ने भएकाले पनि २ महिना पछि मात्र निर्माण कार्य शुरु भएको थुलुङले बताए । त्यसैगरी चुलिवन डाँडामा आठपहरिया समुदायको पुजाआजाले गर्दा पनि निर्माण कार्य थालनीमा केही ढिलाई भएकोले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएको प्रोपाईटर प्रकाश थुलुङले बताएका छन् ।
आ.व.०७४/०७५ को असार मसान्त भित्रमा भ्यूटावको निर्माण कार्य सक्नु पर्नेमा नसकेपछि भाद्र मसान्तसम्मको लागी थप २ महिना निर्माण अवधी थप गरिएको धनकुटा नगरपालिकाको इन्जिनियर मिङ्गमा शेर्पा ब्लाष्टलाई बताएका छन् । शेर्पाले ५ तले भ्यूटावरको ४ तला ढलाई भैसकेकाे र भाद्र महिना मित्र पाँचाै तलाको काम पुरा हुने बताएका छन् । उनले निर्माण व्यावसायीलाई काम गर्नको लागी अावश्यक पर्ने कच्चा पदार्थहरु चुलिवन डाँडासम्म लानको लागी समेत भौगोलिक विकटताको कारण समस्या भएकाले निर्माण अवधी २ महिना थप गरिएको बताए । उनले अब तोकिएको अवधीमा जसरी भएपनि काम सक्नु पर्ने र समय अवधी नगरपालिकाको तर्फबाट थप नहुने इन्जिनियर शेर्पाले ब्लाष्टलाई बताए।
भ्यू टावरको निर्माण कार्य सञ्चालन गरिहेका निर्माण कम्पनीका प्रोपाईटर प्रकास थुलुङले भाद्र मसान्त भित्र जसरी भएपनि निर्माण कार्य सम्पन्न गरि सक्ने बताएका छन् । उनले ४ तला ढलाई भै सकेको र बाँकी एक तलाको ढलाईको लागी गिटी बालुवा ढुवानी बन्द भएकाे कारण केही दिन ढिला भएपनि जसरी भए पनि भाद्र मसान्त भित्र सम्पन्न गर्ने बताए । थुलुङले धनकुटा नगरपालिकाको सिंङ्गो प्रतिष्ठाको विषय बनेको चुलिवन भ्यूटावर निर्माण गर्न पाउँदा आफु र आफ्नो निर्माण कम्पनीलाई निक्कै गर्व लागीरहेको बताए । जस्ले गर्दा धनकुटाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र धनकुटा नगरपालिकाको आर्थिक समृद्धिमा पनि थप टेवा पुग्नेमा आफु ढुक्क रहेको थुलुङल बताए । उनले चुलिवनमा निर्माण भैरहेको भ्यु टावर मात्र हैन नगरपालिकाले त्यँहाको प्राकृतिक रुपमा रहेको वनस्पिती, जीवजन्तु, मनोरम हिमालका दृश्यहरु, प्राकृतिक छटाहरु, नागवेली भएर वगेको तमोर नदी र आसपासका सुन्दर पहाड पर्वतका दृश्यहरुलाई पर्यटकको आँखामा लुकाउनु सक्नु पर्नेमा जोड दिएका छन् ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको हवको रुपमा विकास गर्न चुलविन भ्यु टावर कोसे ढुङ्गो सावित हुने बताएका छन् । उनले धनकुटा नगरलाई पर्यटक आकर्षणको केन्द्र विन्दु बनाउन ५ वर्षे गुरु योजना बनाएर नै अघि बढेको बताए । उनले धनकुटा नगरपालिकाको वडा नं.१ मा रहेको १ सय ४४ रोपनी पर्यटन वोर्डको खाली जग्गामा पनि पर्यटन प्रवद्र्धनको लागी टेवा पुग्ने गरी चालु आर्थिक वर्षमा विशाल वुद्धको मुर्ति र भ्यूटावर निर्माण गर्ने तयारीमा नगरपालिका लागी परेको बताएका छन् । त्यसैगरी नगरको विभिन्न वडाहरुमा नगर भित्रका चोक गल्लीहरु सिगार्ने, ग्रिनपार्कहरु निर्माण गर्ने हरित शहरका पुर्वाधारहरु तयार गर्ने लगायतका भित्री कामहरु पनि धमाधम भैरहेको प्रमुख तामाङले बताएका छन् । उदाहरणको रुपमा धनकुटा–७ चुवाको वोटमा निर्माण कार्य सम्पन्न भएको ग्रिनपार्क, धनपा–६ को शिवजी पार्क, साईबाबा पार्क, लहरे चौतारा, ल्याण्डफिल्ड साईड, वडा नं.१ को बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर, वुद्धपार्क, वौद्ध गुम्वाहरु, तोङ्गवा चोक, वडा नं.८ को घुमाउने चौतारा, वडा नं.३ को कागते ग्रिन सिटी लगायतलाई पर्यटन प्रवद्र्धनको पुर्वाधार विकासको लागी तयार भै सकेको छ ।
प्रमुख तामाङले चुलिवन भ्यूटावर निर्माणसंगै धनकुटाको धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको विश्रान्ती मन्दिर मुलघाटलाई सहजै जोड्नको लागी चुलिवन देखी विश्रान्ती मन्दिरसम्म केवलकार संचालनको कन्सेप समेत नगरपालिकाले अघि सारेको बताएका छन् । तामाङले विश्रान्तीको मुलघाटमा जति पनि वृद्धवृद्धाहरुको सेवाको लागी र मन्दिर दर्शन गर्न भक्तजनहरु आउँछन् ती सबै भक्तजनहरुलाई चुलिवनको भ्यू टावरसम्म केवलकारमा ल्याउने धनकुटाको दृश्य अवलोकन गराउने र फेरी विश्रान्ती मै केवलकार मार्फत पुर्याउने गरी नगरपालिकाले योजना अघि सारी सकेको बताएका छन् । साथै, चुलिवनबाट प्याराग्लाईडिङ्ग र धनपा–८ याक्चानाबाट तमोरमा र्याफ्टिङ्ग गरेर मुलघाटबाट केवलकार चडेर फेरी चुलिवन नै आउने जानेसम्मको पर्यटकलाई मनोरञ्जनको लागी भौतिक पुर्वाधारको तयारीमा धनकुटा नगरपालिका जुटेको मेयर तामाङले बताए ।
उनले चुलिवन भ्यूटार निर्माणसँगै पर्यटकहरुको सुविधाको लागी स्थानिय आठपहरिया समुदायको मौलिक परिकारहरु, होम स्टे लगायत सुविधा सम्पन्न होटल रेष्टुरेण्टको आवश्याक व्यवस्थापनको लागी पनि समन्वय भैरहेको बताए। स्थानिय आठपहपरिया समुदायका अगुवा एवं त्रिवेणी साँस्कृतिक समुहका अध्यक्ष ज्ञानबहादुर आठपहरियाले चुलिवन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले गरेको काम नमुना बनी रहेको बताए । उनले स्थानिय समुदासँग आवश्याक समन्वय गर्दै गए आफुहरु सहयोग गर्न तयार रहेको बताएका छन् । चुलिवनको विकास हुँदा सिंगो धनकुटाको विकास हुने भएकाले यहाँको विकासमा आठपहरिया समुदायको सक्दो सहयोग रहने बताएका छन् । तर उनले धनकुटा नगरपालिका क्षेत्र भनेको जनसंख्याको हिसावले आठपहरियाहरुको बाहुल्यता रहेको क्षेत्र भएकोले कुनै पनि काम गर्दा आठपहरिया समुदायसंग आवश्याक समन्वय गरेर गर्न पनि नगरपालिकालाई आग्रह गरेका छन् ।
उनले पर्यटन प्रवद्र्धन वा कुनै पनि सार्वजानिक सरोकारको काम गर्दा चुलिवन क्षेत्रमा रहेको ३ वटा सामुदायिक वनहरुसँग आवश्याक समन्वय गर्न पनि नगरपालिकालाई आग्रह गरेका छन् । भ्यूटावर निर्माणको क्रममा आवश्यक समन्वय धनकुटा नगरपालिकाले शुरुमा स्थानिय उपभोक्ता एवं सामुदायिक वन समुहहरुसंग नगरेको सामुदायकि वनका अगुवा एवं अभियान्ता दिलु चारिङ्गमेले ब्लाष्टसंग गुनासो पोखेकी छिन् । जे होस सवै मिलेर काम गरे धनकुटामा पर्यटन प्रवद्र्धन गरेर धनकुटालाई समृद्ध वनाउन चुलिवन क्षेत्रको महत्वपुर्ण भुमिका रहने देखिन्छ । चुलिवन पर्यटकिय क्षेत्र (जहाँ भ्यूटावर निर्माण भैरहेको छ) पुग्न धनकुटाको बसपार्क देखी ४५ मिनेट पैदल दुरीमा पर्दछ ।