ताप्लेजुङ/फुङलिङ नगरपालिका–१० का पूर्णहाङ लिम्बूले सतुवाको बेर्नाबाट वार्षिक एक लाख ८० हजार आम्दानी गर्छन् । सतुवाको बेर्ना उत्पादन गरेको ११ वर्ष भयो । उनले वार्षिक करिब १२ हजार वटा बेर्ना बेच्दै आएका छन् । उनले एउटा बेर्ना १५ रुपैयाँमा बिक्री गर्दै आएका छन् । यस वर्ष एक रोपनी जमिनमा ५० हजार बेर्ना लगाएका छन् । सेपिलो दोमट माटोमा सतुवाको खेती र बेर्ना उत्पादन हुने लिम्बुको भनार्इ छ । गाउँमा पेटसम्बन्धी समस्या हुँदा सतुवा प्रयोग गरको पूर्णहाङले देखे । यो कुरा थाहा पाएपछि उनले २० बोट सतुवाको बेर्ना रोपे । घरायसी प्रयोजनका लागि रोपेको सतुवा महँगोमा बिक्री हुने ओलाङचुङगोलाको एक व्यापारीले बताए । बढी मूल्यमा बिक्री हुन्छ भन्ने थाहा पाएपछि उनले व्यवसायिक रुपमा बेर्ना उत्पादन गर्न थालेका हुन् ।चारो र घासको रूपमा बंगुर तथा गाईगोरुलाई दिने गरिएको सतुवाको महत्व बुझेपछि यहाँका कृषकहरू यसको खेती गर्न तिर आकर्षित भएका हुन् । औषधिको रूपमा प्रयोग गरिने सतुवाको सुकेको गानाप्रति केजी ८ हजारसम्ममा बिक्री हुने गरेको छ । गाउँघरमा सर्पको मकै भनेर चिनेने सतुवा जिल्लामा व्यवसायिक रूपमा लगाउन थालिएको हो । सतुवाको व्यावसायिक रुपमा खेति गर्न थाले सँगै यसकाे व्यापार पनि बढेको छ । यो कहिले ताप्लेजुङको ओलाङचुङगोला, कहिले संखुवासभाको किमाथांका त कहिले झापाबाट काठमाडौं हुँदै चिनियाँ बजार पुग्ने गरेको छ । पछिल्ला वर्ष यसको व्यापार बढेसँगै किसानले बिरुवा लगाउन थालेका छन् । अहिलेसम्मको संकलन भने एक तिहाइभन्दा बढी जंगलबाट नै हुने गरेको छ । संकलकले वन कार्यालयवाट संकलन पुर्जी लिएर जंगलमा गएर संकलन गर्ने गरेका छन् । यति मूल्य पर्ने सतुवा केमा प्रयोग गरिन्छ, यकिन कुरा यहाँका कसैलाई पनि अत्तो पत्तो छैन । उत्पादन गर्ने किसान, संकलन गर्ने व्यापारी र संकलन अनुमति दिने वन कार्यालयका अधिकारी बेखबर छन् । स्थानिय व्यापारी पनि भने चीनमा ‘स्वाइन फ्लु’ को औषधि बनाउन प्रयोग गरिन्छ भनेर आफुहरुले सुनेको तर यकिन विवरण नभएको बताउँछन् । जिल्ला वन कार्यालय तेह्रथुमले प्रकाशन गरेको जानकारी पुस्तिकामा आयुर्वेदिक प्रणाली अनुसार एसियाली देशहरूमा गानो र जराको भाग पेटका जुका मार्न प्रयोग हुने उल्लेख छ । ‘उत्पादन तथा संकलन गर्ने किसान, जडीबुटीसँग जोडिएका स्थानीयवासी र व्यापारीले बिक्री हुने देशसम्म पहुँच राख्न सक्दैनन्,’ स्थानिय लाक्पा शेर्पाले भने, ‘केन्द्रकाहरू अध्ययनका लागि भनेर जान्छन्, त्यसको सन्देश तलसम्म आउँदैन।’ अलैंची, चिराइतोमा पनि यस्तै समस्या रहेको शेर्पा बताउँछन् । सतुवा चीन हुँदै अमेरिकासम्म गएको सुनेको तर आधिकारिक जानकारी नभएको स्थानिय व्यापारी इन्द्र वहादुर गुरुङले बताए । सतुवा ताप्लेजुङ लगायत यस्तै हावापानी भएका पहाडी जिल्लामा उत्पादन हुन्छ । विश्व संरक्षण संघ (आइयुसिएन) ले जोखिम अवस्थामा परेको प्रजातिको सूचीमा राखेको यो नेपालसहित एसियाका भारत, भुटान, म्यानमार, श्रीलंका, चीन, लाओस, थाइल्यान्डमा पाइने साइटिस सूचीमा उल्लेख छ । आधा मिटर अग्लो हुने यसको जमिनमुनि फल्ने गानो बिक्री हुँदै आएको छ । चारमध्ये एक भाग छोडेर तीन भाग संकलन गर्नुपर्ने भए पनि संकलकले सबै एकैपटक उखेल्ने गरेका छन् । यस्का कारण सतुवाको संरक्षणमा चुनौती आएको छ । ‘यो वर्ष आएपछि अर्को वर्ष मूल्य आउँछ, आउँदैन पत्तै हुँदैन, त्यसैले भेटेजति संकलन गर्छन्,’ फुरुम्बुका हर्क वहादुर लिम्बूले भने, ‘थाहा हुँदो हो त किसानले दिगो खेती गर्थे ।’ जंगलमा पाइने सतुवा ढाड दुखाइ, पायल्स, मुटु रोग, हाडजोर्नीलगायत दर्जनौँ रोगको उपचारमा प्रयोग हुने बताइएको छ । राम्रो मूल्य पाउन थालेपछि यहाँका कृषक सतुवा खेतीमा आकर्षित भएका छन् । दुई हजार मिटरभन्दा माथिको भूगोलमा सतुवाको खेती उपयुक्त मानिन्छ ।