इटहरी । इटहरी–२ स्थित तामाङ टोलका लक्ष्मण र मनमाया तामाङको परिवार अनौठो खाले समस्याबाट निकै तनावमा परेको छ । तामाङ परिवारमा देखिएको यो समस्याले उनीहरु मात्र होइन, समाजका अन्यमा पनि निकै चिन्ताको विषय बनेको छ । तामाङ दम्पतीका दुई छोरा र दुई छोरी छन् । तर सबै दृष्टिविहीन र अपाङ्ग । उनीहरुको यो जन्मजात समस्या भने होइन । सबै सन्तान ७ वर्ष पुगेपछि दृष्टिविहीन भए । १२ र १३ वर्ष पुगेपछि शारीरिक रूपमै अपाङ्ग बने । देख्ने–सुन्नेहरूले भनेअनुसार र आफ्नो क्षमताले भ्याएसम्म उनीहरुले ४ सन्तानकै उपचार पनि गरे । सामाजिक चलनअनुसार धामी, झाँक्री पनि लगाए तर छोराछोरीलाई बिसेक भएन । तामाङ दम्पती यो उमेरमा छोराछोरीको सहारा र भरमा रमाउँदै बाँच्न चाहन्थे, तर परिस्थिति उल्टो भयो । उनीहरु छोराछोरीको स्याहार–सुसार गरेर बसेका छन् । सबै छोराछोरीको हेरचाहमा दैनिक जुट्नु पर्दा उनीहरूको जीवन बेसहारा र अन्धकारमय बन्दै गएको छ । छोराछोरी बढ्लान्, पढ्लान् र बुढेसकालको सहारा होलान् भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर बन्न पुग्यो । चारै सन्तान हुर्कंदै गए । विद्यालय जान थाले । पढ्दै गए । पढाइमा पनि अब्बल थिए । तर ७ वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भयो । उनी दृष्टिविहीन बन्न पुगिन् । उनी देख्न नसक्ने भई घरको कोठामा कैदी जीवन बिताउन बाध्य बनिन् । उनी मात्र होइन, ७ वर्ष पुग्नासाथ सबै छोराछोरी उस्तै भएका छन् । लक्ष्मण भन्छन्, ‘यस्तो पीडा अरू कसैलाई नपरोस् ।’ हुर्केर पढ्न थालेका छोराछोरीका लागि तामाङ दम्पतीले धेरै अस्पताल धाए, धामीझाँक्री लगाए, थुप्रै दौडधुप र खर्च गरे तर केही उपाय लागेन । अहिले मनमाया र लक्ष्मणका लागि उनीहरूको हेरचाह र स्याहार चुनौतीपूर्ण बनिरहेको छ । यो समस्याले स्थानीयलाई पनि निकै चिन्तित बनाएको छ । दृष्टि गुम्दै जाने, मूच्र्छा पर्ने, कान नसुन्ने, बोली बन्द हुने र हातखुट्टासमेत नचल्ने भएर पूर्णरूपमा शारीरिक र मानसिक अपाङ्ग हुने समस्या तामाङ दम्पतीका छोराछोरीमा देखिएको छ । अहिले कान्छो छोरा सन्दीप १३ र जेठी छोरी अस्मिता २७ वर्षका तथा अरू दुई जना २५ र १८ वर्षका छन् । उनीहरुको यो समस्याले सामाजिक मनोविज्ञानमा नै समस्या पारेको स्थानीयको भनाइ छ ।

छैन राज्यको सहयोग तामाङ परिवारको समस्यामा केही सामाजिक संस्था र व्यक्तित्वहरूले सहयोग गरेका छन् । तर सरकारीपक्षबाट भने उनले सहयोग पाएनन् । सरकारले जेठा र जेठी छोरीको अपाङ्गताको रातो कार्ड बनाइदिएको छ । तर कान्छो छोरा र छोरीको भने बनाउन मानेको छैन । ‘किन बनाउन नमानेका हुन्, मैले बुझ्न सकेको छैन’ –बुबा लक्ष्मणले भने ।

पुरानो तर दुर्लभ समस्या होः डा.कुञ्जान शेर्पा नशा र आँखाका विज्ञहरुले यसको उपचारका बारेमा विशेष ज्ञान राखेका हुन्छन् । यो नशाका कारण देखिने दुर्लभ समस्या हो । तर मेडिकल साइन्सका लागि यो नयाँ विषय चाहिँ होइन । यसको उपचार प्रक्रिया र समस्याको निदान हुनसक्ने अवस्थाका बारेमा भने केही समय लाग्न सक्छ । म त्यो परिवारलाई नशा र आँखाका विज्ञसमक्ष जानका लागि अनुरोध गर्छु । (फिजिसियन वीर अस्पाताल काठमाडाै)