‘छोरीले केही गर्न सक्दैनन् ?’ समाजको यस्तो अकाट्य विभेदलाई नजिकबाट अनुभव गरेकी मोरङ विराटचोककी रोशा बस्नेतलाई यही वाक्यले सर्वोच्च शिखर सगरमाथा चढायो । हरेक क्षण उनको कानमा ध्वनित हुने यी वाक्यबाट अहिले केही राहत पाएकी छन् । समाजमा विभेद थियो–थियो, घरमा पनि यही तीतो अनुभव सङ्गालेकी उनी ‘छोरीले पनि केही गर्न सक्छे’ भनेर प्रमाणित गर्न चाहन्थिन् । आखिर देखाइन् जेठ ९ गते सगरमाथाको टाकुरा चढेर । त्यो टाकुराले उनलाई समाजको विभेद चिर्न केही मद्दत गरेको अनुभव सुनाउँछिन् । पाँच छोरीपछिकी कान्छी उनीपछि मात्रै छोरो भएकाले परिवारमा पनि विभेद महसुस गर्थिन् । छोरा र छोरीमाथिको विभेद ।
[caption id="attachment_14736" align="alignright" width="270"] लेखकः भाेजराज श्रेष्ठ[/caption]छोरै चाहिने समाजबाट उनी दिक्क थिइन् । आखिर छोरीले गर्न सक्दिनन् र ! यस्तै सोचले उनलाई बेला–बेला सताउँथ्यो । त्यो वाक्यलाई बदल्न चाहन्थिन् । आफूलाई प्रमाणित गर्न चाहन्थिन्, छोरीले पनि केही गर्न सक्छ भनेर । त्यसका लागि मेहनत र समयले साथ दिँदै आज यो अवस्थामा आइपुगेको उनको अनुभव छ । उनी भन्छिन्, ‘त्यो वाक्यले मलाई मेरो घरदेखि नै पिरोलेको थियो । पाँच छोरीपछि छोरोको रूपमा भाइ जन्मिएको थियो । छोरी भए पनि छोरै चाहिने समाजमा मेरा आमाबुबाले पनि त्यो अकाट्य विभेद गरेकै थिए ।’ आज रोशाले पत्रकारिताबाट समाज बदलिरहेकी छन् । अझ सगरमाथा चढेर आफूलाई स्थापित गरेकी छन् । सगरमाथाले उनको परिचय फेरिदिएको छ । हिम्मतिलो छोरीको पहिचान दिएको छ । रोशामा ऊर्जा भरेको छ । सिङ्गै देशको प्रतिनिधित्वि गरेर उनले नेपालको झण्डा मात्रै फहराइनन् । सुन्दरहरैंचाको झण्डा र तस्बिर उच्च टाकुरामा पु¥याएर छाडिन् । कक्षा–७ रोशाको जीवनमा पत्रकारिताको गन्धले छोएको दिन । २०५८ सालताका सुकुना माविमा पढ्दा उनले बालअधिकार चेतना समूहमार्फत् सातदिने बाल भित्तेपत्रिका लेखनबारे तालिम लिने अवसर पाइन् । त्यही अवसर पत्रकारिताको जग बन्यो । ‘मेरो पत्रकारिताको फाउण्डेशन नै कक्षा–७ थियो’ –उनी सुनाउँछिन् । जिज्ञासु स्वभावकी उनी पत्रकारिताबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच पाल्छिन् । त्यही वर्ष उनको जीवनको लक्ष्य कोरियो पत्रकार बन्ने । त्यसमा पनि अङ्ग्रेजी पत्रकार । त्यही भोकले उनी एसएलसीपछि पत्रकारिता पढ्न काठमाडौंको खाल्डोमा पुगिन् । जहाँबाट पत्रकारितामा नयाँ मार्ग कोर्ने अवसर प्राप्त गरिन् । पत्रकारिता पढाइसँगै अङ्ग्रेजी माध्यमको अनलाइन ‘ओमाइन्युज डटकम’ पत्रकारिताको खुड्किलो थियो । त्यही खुड्किलोले अनमिन, युएनसम्मको रोजगारी पाइन् । सन् २००९ मा हिमालयन टाइम्समा ‘ट्रेनी’ का रूपमा शुरुवात गरिन् । त्यही समय सिन्ह्वा न्युज एजेन्सीमा पनि काम गर्न थालेकी थिइन् । सन् २०१४ देखि उनी राष्ट्रिय समाचार समितिमा आबद्ध छिन् । पत्रकारिताकै दौरानमा हिमाल चढ्ने सपना पाल्न थालेकी थिइन् । सगरमाथा चढ्ने व्यक्तिगत सोचले उनलाई अन्तत्वोगत्वा सगरमाथा पनि चढायो । ‘पत्रकारिता गर्दा नेचरसँग घुलमिल हुन मन लाग्थ्यो’ उनी सुनाउँछिन्, ‘त्यही क्रममा सगरमाथाको सोच आयो ।’ जहाँ चढ्न चाहन्थिन् उनी, त्यसले समानताको आभास देओस् भन्ने सोच्थिन् । त्यही सोचले उनलाई सगरमाथा चढायो । ‘सगरमाथा चढेर त्यहाँबाट समानताको आवाज उठाउँछु । त्यसपछि सुन्छु भन्ने लाग्थ्यो । एक्लै हैन, समूहमा ग¥यो भने क्वालिटी भ्वाइस हुन्छ भन्ने थियो’ उनी विगतको अनुभव सुनाउँदै भन्छिन्, ‘त्यसैले समूह बनाएर चढेका थियौं ।’
उनी सगरमाथा चढ्नुको कारण अर्को पनि रहेछ । मोरङकै शैली बस्नेतले सन् २००८ मा सगरमाथामा पाइला टेकेकी थिइन् । तर मोरङ सलकपुरमा रहेकी आफन्त हजुरआमाले शैली भन्ठानेर हात मुसार्दै सगरमाथा चढेकोमा धन्यवाद दिँदा त्यो पात्र म हैन भनेर भन्नुपर्दा निकै असहज भएको सुनाउँछिन् । ‘त्यसले मलाई हिट गरेको थियो । त्यो बेला म हैन, भनेर उहाँलाई निराश बनाउनु परेको थियो’ –उनी भन्छिन् । तर आज उनी ती हजुरआमालाई साहसका साथ भन्न सक्ने भएकी छन्, ‘हजुरआमा म रोशा हुँ, सगरमाथा चढेर फर्किएकी ।’ अहिले ती हजुरआमा रोशाको कुरा सुन्न सक्छिन् या सक्दिनन् रोशा पनि अनभिज्ञ छिन् । किनकी उनी यो धर्तीमा छैनन् । तर ती हजुरआमाले हात मुसारेका दिनहरू उनले भुल्न सकेकी छैनन् । उनले लाज मानी–मानी सत्य भनेको दिनका लागि पनि उनले सन् २०१८ सम्म कुर्नु प¥यो । उनी शारीरिक हिसाबले, मानसिक हिसाबले, आर्थिक हिसाबले तयार हुनु थियो । त्यसका लागि १० वर्ष मेहनत गरिन् । जहाँ ५ सय ५० देशीविदेशी महिलाहरूले पाइला टेकेका छन् । त्यहाँ पुग्न उनलाई त्यति सहज पनि थिएन । जति सोच्थिन् । उनलाई शारीरिक रूपमा, मानसिक रूपमा, आर्थिक रूपमा तयार हुनका लागि ६ हजार मिटर उचाइका दुईवटा हिमाल चढिन् । जुन समूहमा ७ जना महिला पत्रकारहरू थिए । २५ दिने त्यो तालिमले सगरमाथाको टाकुरा चढ्न थप मद्दत ग¥यो नै त्योभन्दा पनि सरकारको नियमले पनि ६ हजार मिटरका हिमालहरू चढ्नु पर्ने बाध्यता थियो । माइनस ४० डिग्री चिसो र ८० मिटरको स्पीडमा आउने सगरमाथाको हावालाई छिचोल्नु थियो । जहाँ मान्छे पनि क्षणभरमै फ्रिज हुन्छ । त्यस्ता ठाउँलाई छिचोल्दै ८,८४८ को टाकुरा चुम्नु थियो । सगरमाथाको टुप्पोमा पुग्ने अभिलासा मात्रै थिएन । त्यहाँ पुगेर आफूलाई परीक्षण गर्नु थियो । आफूलाई स्थापित गर्नु थियो । म पनि अब्बल छु । म पनि गर्न सक्छु । समाजका लागि केही दिन चाहन्छु । हो, त्यही सोचले नै उनलाई सगरमाथाको चुलीमा पु¥यायो । जहाँ उनका सम्पूर्ण दुःखहरू एकैपटक हरण भए । ‘यस्तो रिलिफ फिल भयो कि त्यो बेला मेरो सोचले सार्थकता पायो भन्ने लाग्यो’ –उनी सुनाउँछिन् । स्कुलमा ‘जनरल नलेज (जिके)’ पुस्तकमा पढेको सगरमाथालाई उनले छोइन् । महसुस गरिन् । चढ्दाका कयौं कष्ट पनि भुलिन् । समाजका लागि, देशका लागि एउटा अनुकरणीय कार्य गरिन् । त्यसैले त समाजका सामु उनी ‘छोरी निरीह हैन, केही गर्न सक्छे’ भन्ने सन्देश प्रवाह गरिरहेकी छन् ।