पानवारी । स्थानीय तहमा अभिलेख व्यवस्थापन तथा तथ्याङ्क विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरुले अभिलेख व्यवस्थापन हुन नसक्दा त्यसले विकास तथा समृद्धिको यात्रामा नै ठूलो धक्का लागेको टिप्पणी गरेका छन् । केन्द्रीय तथ्याङ्क विभाग र धरान उपमहा नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ‘स्थानीय तहमा अभिलेख व्यवस्थापन तथा तथ्याङ्क विषयक अन्तरक्रिया कार्यक्रम’ धरानमा सम्पन्न भएको छ । कार्यक्रममा पर्यटन अभियन्ता कृष्ण शाहले अहिले नागरिकका हातहातमा मोबाइल र गाउँ–गाउँमा समेत इन्टरनेटको सुविधा रहेको भन्दै मोबाइल एप्सबाटै तथ्याङ्क अद्यावधिक गर्न सुझाव दिए । उनले देशले विकास र समृद्धि हासिल गर्न सत्य, तथ्यपरक र अपडेटेड सूचना सम्बन्धित विज्ञ, योजनाविद् तथा विश्लेषकहरुसँग हुन आवश्यक रहेको औंल्याएका थिए । उनले विकासका केही योजना स्थगित गरेर भए पनि सूचना प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यस्ता सूचनाको विश्लेषण गरेर योजना बनाउने र कार्यान्वयन गर्दै जाने हो भने मात्रै अपेक्षाकृत सफलता हासिल हुने बताएका थिए । कार्यक्रममा बोल्दै प्रा.डा. भीम खतिवडाले तथ्याङ्क विभागलाई थप चुस्त बनाएर सूचनाहरु वेबसाइटमा राखेर व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । तथ्याङ्कमा सरकारले किन लगानी गर्दैन भन्ने प्रश्न गर्दै मितेरी डेभलपमेन्ट बैङ्कका सिइओ तुलसीप्रसाद वस्तीले तथ्याङ्कको अभिलेख राम्रो नहुनु र त्यसलाई प्रचार गर्न नसकेको कारण करको बारेमा अहिले कोकोहोलो भएको औंल्याए । उनले भने, ‘एउटा बैङ्कले सिस्टमको सहयोगमा आफ्ना सम्पूर्ण ग्राहकको तथ्याङ्क, विवरण राखेर ऋण तिरे नतिरेको हेर्नेदेखि कसले, कति र कहाँबाट पैसा झिक्यो निकाल्यो र कुन ग्राहकको उमेर कतिवर्ष भयो भन्ने कुराको जानकारी समेत तत्काल थाहा पाउन सक्छ भने राज्यले पनि त्यही अनुसारको सूचना राख्न सक्नुपर्ने हुन्छ ।’ कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले स्थानीय तथ्याङ्कको अवस्था र आवश्यकताको विषयमा सहजीकरण गरेका थिए । उनले संविधानले नै व्यवस्था गरेबमोजिम स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी तथ्याङ्क चुस्त र दुरुस्त राख्नुपर्ने बताए । उनले चुनावमा लोकप्रिय भएको स्मार्टसिटीको नारालाई साकार पार्न हरेक क्षेत्रको तथ्यगत र अपडेटेड सूचना व्यवस्थित गरेर राख्नुपर्ने बताए । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालले राज्यको अभिलेख प्रणाली कमजोर भएको स्वीकार गरेका थिए । उनले अहिले हरेक क्षेत्रको सूचना आ–आफूले मात्रै राख्ने गरेकोले समस्या भएको भन्दै त्यसलाई एकीकृत गरेर सबै तथ्याङ्क एकै ठाउँमा आउनुपर्ने बताए । प्रधानमन्त्रीको अत्यन्तै प्राथमिकतामा परेको ‘राष्ट्रिय विवरण’ लाई देशका ७ सय ५३ वटै स्थानीय तहमा गएर एउटै ढाँचामा सूचना राख्ने व्यवस्था मिलाउने दाबी गरे । उनले सबै स्थानीय तहले अपनत्व लिने गरी शक्तिशाली र समर्पित तथ्याङ्क राख्ने साथै चाहेको समयमा तत्कालै सूचना दिन सक्ने गरीको सिस्टममा जाने बताए । संविधानले व्यवस्था गरेको सूचनाको हक र गोपनीयताको हकको बीचबाट हिँड्नुपर्ने भन्दै केन्द्रीय तथ्याङ्क विभागले अब राख्ने तथ्याङ्कलाई हेरेर विज्ञले योजना बनाउन सक्ने, विश्लेषकहरुले विश्लेषण गर्न सक्ने गरीको बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले तथ्याङ्कले हरेक योजना बनाउन मार्गदर्शन गर्ने भन्दै नगरलाई प्रविधिमैत्री बनाउन प्रतिबद्ध रहेको बताएकी छन् ।