पहिरो पहाडी भूभागमा चल्ने हो भने हिमालमा हिमपहिरो । नेपालमा हिमाल र पहाड गरी कुल क्षेत्रफलको ८३ प्रतिशत छ । नेपाल यस्तो पहाडी भूक्षेत्रमा पर्छ कि दुईहजार ४ सय किलोमिटर लामो अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको हिन्दूकुश हिमालयको मध्यभागमा जहाँ धेरै पहिरो, हिमपहिरो र भूकम्पका जोखिम उठ्न सक्छन् । यसको एक तिहाइ अर्थात् ८ सय किलोमिटर त नेपालले नै लिएको छ । यो सबैभन्दा सक्रिय पहाडी क्षेत्र हो । यहाँको माटो बगिरहने किसिमको, अस्थिर भूगर्भिक बनावट, नरम र विखण्डित चट्टानद्वारा निर्मित छ । यति मात्र होइन, यस्तो कमजोर धरातलले मनसुन सिजनमा असाध्यै भारी वर्षा थाम्नुपर्ने अर्को बाध्यता छ । अनि त वर्षामासमा विशाल पहिराहरु र भूकम्पहरु चल्नु स्वभाविक मान्नुपर्छ । पाकिस्तान, भारत, नेपाल र भूटानलगयातका देशमा पहिरोजन्य क्रियाकलापबाट वार्षिक एक अर्ब अमेरिकी डलरको क्षति हुने गरेको विवरण एक जापानिज जर्नलमा छापिएको छ । यस बाहेकको मानवीय क्षतिको लेखाजोखा छैन ।
संसारमा चल्ने पहिरोको करिब तीस प्रतिशत यही हिन्दूकुश हिमालय क्षेत्रमा पर्दछन् । यसर्थ नेपालले मोल्नुपर्ने जोखिमताको अनुमान गर्दा कहालीलाग्दो छ । थप जोखिम अर्को छ । हाम्रा पहाडी बस्तीहरु खोला किनारमा छन् । त्यहाँसम्म फराकिला फाँटहरु छन् । ती फाँटहरु पहिला पहिरो र खोलाले माटो गेगर थुपारेका कारण बनेका हुन् । अलि उच्च ठाउँमा भएका बस्तीसमेत अधिकांश हेर्ने हो भने विगतमा पहिरो चलेर थामिएको क्षेत्रमा छन् । यी खतराको रेखाभित्र पर्ने धरती हुन् । मानिस बसोबास गर्ने क्रममा यो कुरा ख्याल गरेका छैनन् । जहाँ पानी, घाँस दाउरा, चरिचरन र खेतीयोग्य जमिन उपलब्ध छ त्यहीँ मानिस बसे । पछि बसेका बस्तीहरुले व्यापारिक अवसर हेरेका छन् । तर आफू बसेको धरातल कति खतरामा छ ख्याल गरेका छैनन् । नेपालमा वर्तमानमा मध्यमाञ्चल विकास क्षेत्रमा मात्र करिब ६ सय ७७ वटा ठूला पहिरा चलिरहेका छन् । देशैभरिको विवरण लिँदा यो संख्या पाँच गुणा बेसी हुनेमा शङ्का छैन । पहिरो सामान्यतया त्यस्तो ठाउँमा जान्छ, जहाँ धेरै ओसिलो जमिन छ र पानीका स्रोत प्रशस्तै छन् । यस्तै ठाउँ मानिसका लागि सुविधासम्पन्न हो । अनि त मानिस यस्तैमा बसेर पहिरोको जोखिम मोलिरहेका छन् ।
तथ्याङ्कले देखाएका छन् कि सन् २००९ को जुन पहिलो हप्तादेखि अगष्ट दोस्रो हप्तासम्ममा ५० जना मानिस पहिरोमा परी मरेका थिए । सन् १९८८ मा दरबाङ भन्ने ठाउँ जुन काठमाडौँबाट दुई सय किलोमिटर पश्चिममा पर्छ, त्यहाँ पहिरो गयो र १ सय ९ जनाको ज्यान गयो । त्यसको कारणले म्याग्दी नदी केही समय थुनियो । यागी भनिने अनुसन्धाताको अनुसन्धान विवरणअनुसार दरबाङमा त्यसको ६२ वर्षअघि विशाल पहिरो गएको थियो । त्यतिबेला पातलो बस्ती भएको अवस्थामा पनि ५ सय जना मान्छे मरेका थिए । जापानको इन्टरनेशनल जर्नल अफ इरोजन कन्ट्रोल इञ्जिनियरिङ, अङ्क ५, सन् २०१२ मा नेपालका भोटेकोशी नदी तटीय गाउँहरु, सिन्धुपलाञ्चोक र गोरखा जिल्लाको नदी तटीय क्षेत्रहरुमा पहिरोको उल्लेख गरी जोखिमता प्रस्तुत गरिएको छ । नेपालमा पहिरो चल्नुका थुप्रै कारणहरु छन् । तीमध्ये पहिलो हो– कमजोर, खिँइदै गरेको र खुकुलो माटो र चट्टानको बनावट । दोस्रो हो, उकासिँदै गरेको टेक्टोनिक प्लेट । नेपाल देश बसेको जमिनमुनिको ठूलो इण्डियन प्लेट उँभो चीनतिर सर्र्दै र आकाशतिर बढ्दै छ । यसले भू–हलचल ल्याउँछ र पहिरो चल्न सक्छ । तेस्रो कारण हो, मनसुुनमा हुने भारी वर्षा । नेपालमा जति वर्षा हुन्छ, त्यसको ८० प्रतिशत मनसुनका चार महिनामा बर्सन्छ । साथै भूउष्णीकरणले हिमाल पग्लिने क्रमले गर्दा पहिरोको जाखिममा नेपाल परेको छ । मानिस स्वयम् चौथो कारण हो । जङ्गल फँडानी, सडक निर्माण, अवैज्ञानिक खेती प्रणाली, सिंचाइ आदि गरेर मानिसले पहिरोको जोखिमता जानी नजानी उठाइरहेका छन् ।
नेपालमा उहिलेदेखिकै प्रमाणहरु हेरी ल्याउँदा थुप्रै पहिरा गएका छन् । कतिपय ती थामिएका ठाउँमा आज मानिसको ठूलो बसोबास भएको छ । अहिले जारी रहेको सडक निर्माण प्रक्रियालाई पनि अर्को पहिरो कारकको रूपमा लिन सकिन्छ । अति नै अवैज्ञानिक किसिमले पहाडी गाउँघरहरुमा डोजर लगाएर सडक बनाउने गरिएको छ । यसले असंख्य साना तथा केही ठूला पहिराहरु सिर्जना गरेको छ । जमिनमा अति भार दिने गरिका विकास निर्माण र गह्रौँ सवारीहरुका कारण पनि पहिरो चलेका छन् । उसै पनि ढुङ्गा चट्टान खिइने क्रम चली नै रहने प्राकृतिक नियम हो । ढुङ्गा बर्सेनी खिइरहँदा यसले माटोसँगको आडिलो सम्बन्ध बिगार्दछ । अनि सो ढुङ्गा र पछि उसले थामेको माटो पहिरोको रूपमा खस्दछ । सन् १९९३ मा मध्य नेपालमा आएको बाढी पहिरोले कुलेखानी जलविद्युत् केन्द्रलाई धेरै प्रभाव पारेको थियो । सन् १९८५ मा पहिरोले सोलुखुम्बुको नाम्चे सानो जलविद्युत् केन्द्रमा उस्तै क्षति गर्यो । सन् १९९४ को अछाम सदरमुकामलाई बढार्ने पहिरो पनि नेपालको पहिरोको इतिहासमा उल्लेखनीय छ भनी भूगर्भविद् जी.एस. पोखरेलले ल्याण्डस्लाइड हाजार्डस् मिटिगेशन इन हिन्दूकुश हिमालयज भन्ने पुस्तकमा लेख्नुभएको छ । हाल पहिरो चलेको र यसको आसपासमा विगतमा धेरै ठूला पहिरा गएका थिए भन्ने अनुमान भूगर्भविद्हरुले गरेका छन् । प्रमाणका रूपमा सन् १९७६ मा सुनकोशीको विद्युत् उत्पादन गृहमा पुगेको क्षति एउटा हो ।
सन् १९८१ मा ज्हान्जान्घो हिमताल फुटेर भोटेकोशीमा बाढी आई सीमावर्ती क्षेत्रमा पहिरो चली निकै क्षति पुर्याएको थियो । भोटेकोशीमै सन् १९८२ मा बाढी चलेर ११४ जना मानिसको ज्यान उठेको घटना ताजै छ । सन् १९९६ मा लार्चा खोला (जुन भोटेकोशीमै मिसिन्छ) पहिरो झरेर पुरिएको थियो । त्यो बेला ५४ जना मानिस मरे । नेपालमा हरेक साल औसतमा चार सय जना मानिसको बाढी र पहिरोबाट हुने गरेको तथ्याङ्क छ । वार्षिक २० करोड अमेरिकी डलर बराबरको धनमाल नाश हुने गरेको छ (खनाल १९९६) । पहिरोको बारेमा प्रशस्त जानकारी नभएको र कस्तो ठाउँमा बस्न उपयुक्त हुन्छ भन्ने कुरा ख्याल नगरी बस्ती बस्ने गरेको अनि धरतीमा बास खोज्दा सो स्थानको विगत नबुझीकन स्थायी गाउँ बन्ने गरेकोले पनि नेपालमा जनधनको क्षतिको खतरा बढेको हो । अनुसन्धाता एस.आर. चालिसेले आफ्नो प्रकाशनमा उल्लेख गरेअनुसार जलवायु परिवर्तनका कारण नेपालको पहाडी भू–भागमा पहिरोको जोखिम झन् बढेर आएको छ । नेपालीमा एउटा भनाइ छ– पहाडमा पहिरो छाडा, मधेशमा खोलो छाडा । यसको अर्थ हो पहाडमा जुनसुकै ठाउँमा पहिरो चल्न सक्छ र मधेशमा जुनसुकै ठाउँमा बाढी आउन सक्छ । त्यसैगरी अर्को चलेको उक्ति एवम् विश्वास वा भनौ जनअनुभव यो छ कि खोलो कुदेको ठाउँमा पछि फेरि खोलै कुद्छ र पहिरो चलेका ठाउँमा पहिरो नै जान्छ । यो भनाइलाई वैज्ञानिकहरुको अनुसन्धान र विचारले समर्थन गरेको छ ।
विगत वर्षमा सुनकोशी तटमा पहिरो गएको ठाउँमा पहिला ठूलो पहिरो गएर थामिएको र मान्छेको बसोबास भएको ठहर गरिएको छ । नेपालमा अहिले हजारौं पहिरा छन् र हजारौँ बस्तीहरु पुरानो पहिरो भएको ठाउँमा छन् । त्यसैगरी हजारौँ पहाडी ठूला बजार र व्यापारिक केन्द्रहरु हिमालमा उत्पत्ति भएका स्थायी नदीकिनारमा छन् । सरोकारवाला सबैले समयमै सचेत भएर जोखिम न्यूनीकरणका कदम नचालिएमा नेपाल पहिरोको चपेटामा परिरहने पीर छ ।